सुनको मूल्यमा नयाँ कीर्तिमान

बङ्गलादेशमा डुङ्गा आगलागीमा परी ४० जनाको मृत्यु भएको पुष्टि, दर्जनौँ घाइते

ढाका,बङ्गलादेश ।  बङ्गलादेशको दक्षिणी जिल्ला झालाकाथीमा शुक्रवार एक नदीमा खचाखच भरिएको डुङ्गामा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको प्रशासनले पुष्टि गरेको छ । 

ढाका त्रिवुनले दिएको जानकारीअनुसार धेरै यात्रुहरू जलेर गम्भीर घाइते भएकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्ने सम्भावना रहेको छ । 

बारीसालको शेर–ए–बङ्गला मेडिकल कलेज एन्ड हस्पिटल (एसबिएमसीएच)का सहायक निर्देशक डा. मोनिरुज्जामानले भन्नुभयो, “घाइतेमध्ये ५०प्रतिशतसम्म जलेका ६६ मध्ये १८ जना महिला रहेका छन् भने बाँकीको अवस्था पनि गम्भीर रहेको छ ।” 

उहाँले थप्नुभयो, “आगोमा जलेर गम्भीर घाइते भएका तीन जना महिला र चार जना पुरुषलाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि ढाका मेडिकल कलेज र अन्य अस्पतालहरूमा पठाइएको छ ।”

अग्नि नियन्त्रण सेवाका अधिकारीहरूले सञ्चार माध्यमलाई दिएको जानकारी अनुसार ७० जनाभन्दा बढी यात्रुहरू स्थानीय अस्पतालमा पठाइएको बताएका छन् । आगो इन्जिन कोठाबाट सुरु भई मानिसहरू खचाखच भएका अन्य कक्षमा फैलिएको प्रारम्भिक अनुसन्धानले देखाएको उनीहरूले बताए । 

दापडापिया क्षेत्रमा पुग्दा बिहान ३ बजेको समयमा आगोको ज्वाला देखिएको र उक्त डुङ्गा झलाकाथी सदर उपजिल्लाको दियाकुल क्षेत्रमा गएर नदीको किनारमा अवतरण गराइएको थियो ।रासस/एएनआई

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ८ : ३३ बजे