‘हेर्दाहेर्दै श्रीमती पुरिइन्…म बाँच्न सफल भएँ’

काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा नारायणप्रसाद रिमाल टोलाइरहनुभएको छ । उहाँका आँखाले कसैलाई खोजिरहेका छन् । उहाँका शरीरमा चोटपटक नलागेको कुनै ठाउँ छैन ।

रिमालको शरीरको दायाँ भागमा बढी क्षति पुगेको देखिन्छ । इमरजेन्सीको बेड नं २१ उपचाररत ६८ वर्षीय रिमाललाई आफू घाइतेभएको भन्दा पनि आफ्नी अर्धाङ्गिनीसँग बिछोड भएको पीडाले पिरोलेको छ ।

चिन्तित मुद्रामा रिमालले भन्नुभयो, “म बाँच्न सफल भएँ तर खाना बनाइरहेकी मेरी श्रीमती पहिरोमै छिन् । उद्धारका लागि डोजर पुग्न सकेको छैन रे ।” आफूलाई अप्ठ्यारो परेका बेला हरदम साथ रहने जीवनसाथीको याद नआओस् पनि कसरी ?

रिमालको दायाँपट्टीको करङ फुस्किएको छ । उहाँको उक्त भाग चलेको छैन । मङ्गलबार अपरेशन हुने भनिएको छ । चौरी देउराली गाउँपालिका–६ काभ्रेका रिमाललाई शनिबारको उक्त कहालीलाग्दो दिन सम्झिँदा मन अमिलो हुन्छ । उहाँलाई समय ठ्याक्कै याद छैन, सायद बिहानको ११ बजेको हुनुपर्छ । श्रीमती पवित्रा भान्सा कोठामा खाना पकाउँदै थिइन् । रिमाल छेउकै घरको बार्दलीमा बसिरहनुभएको थियो । बिहीबारदेखि परेको अविरल वर्षाले राम्रो सङ्केत दिइरहेको थिएन । एक्कासी माथिबाट आएको पहिरोले घर पु¥यो । हेर्दाहेर्दै श्रीमती पुरिइन् ।

पहिरोमा परेको दुई घण्टासम्म उहाँले उद्धारका लागि गुहार गर्नुभयो । हारगुहार गर्दागर्दै बेहोस हुनुभयो । चार घण्टापछि होस खुल्दा उहाँले आफूलाई एकैपटक अस्पतालका बेडमा पाउनुभयो ।

आइतबार दिउँसो हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका रिमालले पहिरोले घर लग्ला भन्ने कहिल्यै नसोचेको बताउनुभयो । गला अवरुद्ध पार्दै उहाँले भन्नुभयो, “विसं २०४६ सालमा त्यो घर बनाएको हो । यो पालि यस्तै भयो ।”

ट्रमामै उपचाररत दक्षिणकाली नगरपालिका–९ फर्पिङका ३० वर्षीय सुजन बस्नेत पेसाले सवारी चालक हुनुहुन्छ । शनिबार लगातार वर्षा भइरहेको थियो । गाडी पन्छाउन सडकमा पुग्नै लाग्दा माथिबाट एक्कासी आएको लेदोसहितको पहिरोले उहाँलाई हुत्याएर पानीमा लग्यो । तुरुन्तै उद्धार गरेर नजिककै अस्पताल लगियो । उहाँकी श्रीमती सीताले आइतबार दिउँसो ३ बजेतिर थप उपचारको लागि उहाँलाई ट्रमा ल्याएको बताउनुभयो । सुजनलाई हात, खुट्टा, घाँटी, करङमा चोट लागेको छ ।

हालसम्म ट्रमा सेन्टरमा १५ जना घाइतेको उपचार भएको छ । उहाँहरूमध्ये छ जना उपचारपछि घर फर्कनुभएको छ । सेन्टरको विपद् व्यवस्थापनको फोकल पर्सन इन्दिरा पाण्डेका अनुसार मुख्यतः बाढी पहिरोबाट प्रभावित घाइते धादिङ, काठमाडौँ, रामछोप, दोलखा, काभ्रेबाट आएका छन् । उहाँले भन्नुभयो, “चोटपटक लागेका ‘जटिल केश’ नै आएका छन् । ‘रिफरल केश’ पनि छन् । हालसम्म एक जनाको सर्जरी भएको छ भने तीन जनाको सर्जरी गर्ने तयारीमा छौँ ।”

त्यसैगरी वीर अस्पतालमा हालसम्म एक जना मात्र घाइतेको उपचार भएको अस्पतालका इमरजेन्सी विभाग प्रमुख डा सुरेशन नेपालले जानकारी गराउनुभयो ।

पाटन अस्पतालमा हालसम्म १० जना बाढी पहिरोबाट उद्धार गरिएका घाइतेको उपचार भएको छ । तीन जना डुबेका घाइते र सात जना पहिरोमा परेका उपचार गरिएको अस्पालका निर्देशक डा रवि शाक्यले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “सात जनाकै डिस्चार्ज भइसकेको छ । डुबेका मध्ये दुई जना डिस्चार्ज भएको र एक जना उपचाररत छन् । किस्ट मेडिकल कलेजबाट रिफर भएर आएका छ वटा केश रहेका छन्, जसमा दुई जना डिस्चार्ज भइसकेका छन् ।”

सशस्त्र प्रहरी बल नेपालले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार बाढी पहिरोको घटनाबाट ८९ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थाले विपद्बाट उद्धार गरिएका घाइते बिरामीको निःशुल्क उपचार गर्न पत्राचार गरिसकेको छ । उद्धार गरिएकालाई स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकश्मिक सेवा र जनशक्तिलाई २४ सै घण्टा उपलब्ध हुनेगरी व्यवस्था मिलाउन मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ८ : ५८ बजे