भोजपुरको नौवटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध

भोजपुर। केही दिनअघिबाट आएको निरन्तरको वर्षाले जिल्लाको जनजीवन प्रभावित बनेको छ । वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा भौतिक क्षतिसँगै यातायात सञ्चालनमा समस्या भएपछि जनजीवन कष्टकर बनेको हो । वर्षाका कारण पहिरो जाँदा दुईवटा घरमा क्षति पुगेको छभने प्रायः नौवटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध बनेका छन् ।

वर्षाले सदरमुकामबाट उत्तरी क्षेत्र जोड्ने भोजपुर–दिङ्ला सडक र दक्षिणी क्षेत्र जोड्ने भोजपुर–घोडेटार सडकखण्डमा यातायात सञ्चालनमा समस्या भएको छ । वर्षाका कारण सडक हिलाम्मे बन्दा यातायात सञ्चालनमा समस्या भएको हो । अविरल वर्षाका कारण जिल्लालाई पूर्वपश्चिम जोड्ने मध्यपहाडी लोकमार्गमाअन्तर्गत लेगुवा–भोजपुर–चखेवा सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ । यो सडकखण्डको अरुण गाउँपालिका–४ माङसुवा, ओदाने र टेम्केमयुङ गाउँपालिका–२ श्रीदलीमा खसेको पहिरो हटाएर सडक सञ्चालन गरिएकोे छ ।

ग्रामीण क्षेत्रका सडकमा पहिरो खस्दा स्थानीयलाई समस्या भएको छ । हतुवागढी गाउँपालिकाको घोडेटार–होम्ताङ सडकमा पहिरो खसेर अवरोध भएकाले पहिरो पन्छाउने काम भइरहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । गाउँपालिका क्षेत्रका धेरैजसो सडकमा क्षति पुगेकाले क्षतिको विवरण सङ्कलनको काम भइरहेको अध्यक्ष राईले बताउनुभयो ।

दक्षिणी क्षेत्रको तराईका जिल्लासँग जोड्ने एकमात्र विकल्पका रूपमा रहेको भोजपुर र उदयपुर जोड्ने दूधकोशी नदीको चुहार झोलुङ्गे पुलमा बाढी क्षति पुर्याएको छ । अविरल वर्षाका कारण हतुवागढी गाउँपालिका–९ हसनपुर र उदयपुर बेलका नगरपालिका–७ मैनामैनी जोड्ने दूधकोशी नदीको झोलुङ्गे पुलमा क्षति पुर्याएपछि आवतजावतमा समस्या भएको हो । यहाँ पक्की पुल नहुँदा यही झोलुङ्गे पुलको मध्यमबाट मानिस तराईका जिल्ला पुग्ने गरेका थिए । योसहित दक्षिणी क्षेत्रका चारवटा झोलुङ्गे पुलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

वर्षासँगै आएको पहिराले भोजपुर नगरपालिका–४ की चन्द्रकला श्रेष्ठको घर र वडा नं ५ मसिनेबेँसीका भीमबहादुर दाहाल घरमा क्षति पुगेको, टेम्केमयुङ गाउँपालिका–६ गुठाका डिकबहादुर सार्कीको गोठ पुरिँदा दुई बाखा र तीन बोका गरी पाँच वटा चौपाया मरेका, टेम्केमैयुङ–६ कै स्वास्थ्यचौकी पनि पहिरोले क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  १० : ४६ बजे