रुख ढल्दा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

सिरहा।लहान नगरपालिका–२ मिलनचोका तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । लहान–२ मिलनचोकको भवरा नहरको किनारमा रहेको वरको रुख ढल्दा विद्युत्को तारमा क्षति पुगेको थियो । यसबाट करिब २० घरपरिवारमा प्रभावित भएका छन् ।

गत शनिबार वर्षा भइरहेको समयमा रुख दिनेश यादव र श्यामलाल यादवको घरमा ढलेपछि उनीहरुको परिवार विचल्लीमा परेका छन् । रुख हटाएर विद्युत् सेवा सञ्चालन गर्न पहल भइरहेको लहान–२ का वडाध्यक्ष सियाराम यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “वन कार्याललसँग समन्वय गरी रुख हटाउने प्रयास गरिएको छ । सम्भवत आज वन कार्यालयको प्राविधिक टोलीले रुख हटाउने छ । रुख हटाएपछि विद्युत् प्राधिकरण लहान वितरण केन्द्रमा सेवा सञ्चालनका लागि अनुरोध गर्छौँ ।”

डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीले रुख हटाउने तयारी गरिएको जानकारी दिनुभयो । रुख हटाउन ढिला हुँदा पुनः ढल्ने सम्भावना भएकाले घरभित्र बस्न समस्या भएको पीडित श्यामलालले बताउनुभयो ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  १० : २१ बजे