स्पेनमा डुङ्गा डुब्दा हुँदा नौ आप्रबासीको मृत्यु, ४८ बेपत्ता

म्याड्रिड । स्पेनको क्यानरी टापुमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै ४८ जना बेपत्ता भएको राष्ट्रिय सामुद्रिक उद्धार सेवाले शनिबार जनाएको छ ।

एटलान्टिक द्वीपसमूहको एक टापु ‘एल हिएरो’बाट मध्यरातपछि आएको आपतकालीन फोनको जवाफ उद्धारकर्ताले दिएपछि ८४ जना सवार डुङ्गाबाट २७ जनालाई उद्धार गरिएको एक विज्ञप्तिमा जनाइएको छ ।

आप्रवासीहरू मुख्य भूमि युरोप पुग्ने आशामा क्यानरी पार गर्ने क्रममा उक्त क्षेत्रमा सेप्टेम्बरको सुरुमा ३९ जना आप्रवासीको मृत्यु भएको थियो ।

हालैका वर्षहरूमा हजारौं आप्रवासीहरूले युरोप पुग्नका लागि खचाखच भरिएका र प्रायः जीर्ण डुङ्गाहरूमा एटलान्टिक महासागरमा यात्रा गर्नेगरेका छन् ।

क्यानरीका क्षेत्रीय अध्यक्ष फर्नान्डो क्लाभिजोले एक्समा लेख्नुभएको छ, “पछिल्लो त्रासदीले एटलान्टिक मार्गको खतरनाक यात्रालाईलाई फेरि उजागर गरेको छ ।”

“युरोपको दक्षिणी सीमाबाट केही मिटरको दूरीमा मानिसको ज्यान जाने भएकाले संरचनागत मानवीय त्रासदीको सामना गर्न स्पेन र इयूले निर्णायक कदम चाल्नुपर्छ,” उहाँले भन्नुभयो ।

अगष्टको अन्त्यतिर स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले मौरिटानिया र गाम्बियाको भ्रमण गरी मानव तस्करमाथि कारबाही गर्न सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए ।

सन् २०१९ को अगष्ट १५ सम्ममा २२ हजार ३०४ आप्रवासी क्यानरी पुगेका छन् भने अघिल्लो वर्षको सोही अवधिमा नौ हजार ८६४ आप्रवासी क्यानरी पुगेका थिए ।

सन् २०२३ मा करिब ४० हजार आप्रवासीहरू क्यानरीमा प्रवेश गरेका थिए । सेप्टेम्बरदेखि आवागमनमा सजिलो हुने अवस्थाले समुद्र पार गर्नेको सङ्ख्यामा वृद्धि हुने गर्छ ।

संयुक्त राष्ट्रसंघीय निकाय इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आइओएम)का अनुसार सन् २०१४ यता यो मार्गमा चार हजार ८५७ जनाको मृत्यु भएको छ । तर आप्रवासीलाई सहयोग गर्ने स्पेनी गैरसरकारी संस्था ‘क्यामिनान्डो फ्रन्टेरास’ले युरोप पुग्ने क्रममा १८ हजार ६८० जनाभन्दा बढीको मृत्यु भएको तर उक्त तथ्याङ्क आइओएमको औपचारिक रेकर्डमा नआएको बताएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १० : २० बजे