सुदूरपश्चिमका दुई जिल्लामा विद्युत् सेवा अवरुद्ध

बैतडी।सुदूरपश्चिम प्रदेशका पहाडी दुई जिल्ला बैतडी र दार्चुलामा विद्युत् सेवा अवरुद्ध भएको छ । शुक्रबार साँझदेखि दुई जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण, बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले जानकारी दिनुभयो ।

लगातारको वर्षाका कारण बलाचदेखि स्याउले जोड्ने १३२ केभी प्रसारणको लाइनको तार टुटेर ३३ केभीमा परेकाले यहाँका दुई जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको हो । उहाँले भन्नुभयो, “१३२ केभी प्रसारणको लाइनको तार दार्चुलाको नाइलमा ३३ केभीमा खस्न गएर विद्युत् सेवा अवरुद्ध भएको छ ।”

विद्युत् सेवा अवरुद्ध हुँदा बैतडी र दार्चुलाका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । अवरुद्ध लाइन सञ्चालनका लागि प्राविधिकको परिचालन गरिएको प्रमुख पौडेलले बताउनुभयो । दुई दिनदेखिको वर्षाले यहाँको जनजीवन प्रभावित भएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ७ : १२ बजे