राष्ट्रप्रमुखको शिक्षाप्रति असीम प्रेम

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी कोशी प्रदेशको राजधानी पुरातात्त्विक सांस्कृतिक शहर बिराटनगरमा आयोजित केही कार्यक्रममा सहभागी हुनजाने क्रममा यही असोज ३ गते बिहान काठमाडौँस्थित विमानस्थलको विशिष्ट कक्षमा जहाज कुर्नुपरेकाले केहीबेर सोही कक्षमा रहनुपर्ने भयो । बिराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला जहाजको प्रतीक्षामा भएकाले सोही ठाउँमा हुनुहुँदो रहेछ । भरतपुर महानगरपालिका मेयर रेणु दाहाल उडान भर्ने विमानको प्रतीक्षामा रहेको थाहा पाएर पूर्वराष्ट्रपतिले छेवैको विशिष्ट कक्षबाट सँगै बोलाउनु भयो । केहीबेर शिष्टाचार र सन्चो बिसन्चोको विषयले समय लियो । दुवै मेयरले विकास निर्माणका बारेमा संक्षिप्तमा विचारको आदान प्रदानसमेत गर्नुभयो । 

पूर्वाञ्चलले धेरै प्रधानमन्त्री उत्पादन ग¥यो तर ऐतिहासिक शहर विराटनगरले विकास निर्माणमा फड्को मार्न सकेन भनेर कुराकानी भइरहेको सन्दर्भमा मेयर कोइरालाले चित्त दुखाउनु भयो । कोइरालाकै आडमा बसेका विराटनगरका व्यवसायी गिरेन्द्र कार्कीकोसमेत सो विषयमा दुखेसो थियो । यस विषयमा पूर्वराष्ट्रपतिको चिन्तासहित स्वीकारोक्ति रह्यो । उहाँले मुलुकमा ठूलो राजनीतिक परिवर्तन भइसकेकाले अब सामाजिक–आर्थिक विकासमा लाग्नु पर्ने र विराटनगरको विकासमा समेत यहाँका जनप्रतिनिधिहरू स्वयं क्रियाशील हुनुपर्ने बताउँदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बचन दिनुभयो । 

आफू राष्ट्रपति भएको बेला शिक्षाको ठूलो विरासत बोकेको र केही वर्षदेखि त्यसको ओज घट्दै गएको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको उन्नयनमा सबैको ध्यानाकर्षित गर्न आफूले कोसिस गरेको उहाँले बताउनु भयो । साथै, आगामी दिनमा आफ्नो तर्फबाट विराटनगरको विकासमा के कस्तो योगदान गर्न सकिन्छ ध्यान पु¥याउने कुरासमेत व्यक्त गर्नुभयो । जहाज गन्तव्यमा उड्नका लागि तयारी भएको सूचना प्राप्त भएकाले सबै आ–आफ्नो विमानतर्फ लाग्ने अवस्था बन्यो । नेता–जनप्रतिनिधिबीचको यो संक्षिप्त वार्तालापबाट मुलुकमा राजनीतिक विषयवस्तु मात्र होइन बिस्तारै विकास निर्माणप्रति राजनीतिक वृत्तमा सघन रूपमा चासो र जागरूकता बढ्दै गएको कुरा छर्लङ्ग हुन्छ । पङ्क्तिकारले यस वार्तालापको साक्षी बन्दै यस्ता कुरा सबैतिर हुनुपर्ने अनुभूति ग¥यो ।    

नेपालमा आश्विन महिनाको कृष्णपक्ष सप्तमी तिथिदेखि थारुसहितका समुदायले धूमधामसँग मनाउने जितिया पर्वको अवसरमा दिनभर उक्त क्याम्पस परिसरमा आयोजित विविध सांस्कृतिक कार्यक्रमको उद्घाटन, अवलोकनसहित सम्बोधन गरेर साँझमा ‘महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको समृद्धि एक छलफल’ कार्यक्रममा पूर्व राष्ट्रपतिले सहभागिता जनाउनु भयो । अन्तरक्रिया क्याम्पसकै एक साँघुरो कोठामा आयोजना गरिएको थियो । यस कार्यक्रममा क्याम्पसका विद्यार्थी, प्राध्यापक, अभिभावक, जनप्रतिनिधि, राजनीतिक दलका नेता, मुख्यमन्त्रीले आ–आफ्नो क्षेत्रको प्रतिनिधित्व हुनेगरी धारणाहरू प्रस्तुत गर्नुभयो र अन्तमा पूर्वराष्ट्रपतिले प्रमुख अतिथिको रूपमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो । 

ममोआब क्याम्पसका प्रमुख रामअवतार शर्माले, ‘बिगतमा दश हजार विद्यार्थी अध्ययन गर्ने यस क्याम्पसमा अहिले धेरै कार्यक्रमहरू थप गरिए पनि जीर्ण भौतिक संरचनाका कारण ज्यान जोखिममा राखेर अध्ययन अध्यापन कार्य भइरहेको’ बताउँदा एकताका ठूलो प्रतिष्ठा आर्जन गरेको शैक्षिक केन्द्रको इज्जत अहिले कहाँ पुगेछ जो कोहीले सजिलै अनुमान गर्न सक्छ । आजभन्दा आधा शताब्दी अघि बनेको अलि पछौटे प्रविधि नै भन्नुपर्छ र यस्ता भवनका कोठामा पढाउने र पढ्ने, विज्ञान प्रयोगशाला सञ्चालन हुने, अतिरिक्त क्रियाकलाप चलाइने कुरा आफैमा जोखिमयुक्त हो । 

त्रियासी हजारभन्दा बढी संख्यामा बहुमूल्य किताब र दस्ताबेज भएको पुस्तकालय कतिबेला भत्किने हो र ज्ञानका स्रोतहरू नष्ट हुनेहुन् ठेगान छैन । गाईबस्तुका गोठजस्ता टहरामा रहेका कक्षाकोठा, गर्मीयामको उखुम गर्मी र हिउँदयामको कठ्याङ्ग्रिने चिसो र स्याँठ सहेर प्राध्यापक र विद्यार्थी पठनपाठन जारी राख्न बाध्य छन् । विष्णु भुजेलले सुनाए, ‘साठी देखि सत्तरी वर्षका भवन कतिबेर भत्किने हो थाहा छैन ।’ स्ववियु सभापति दुखेसो गर्छन्, ‘भएको बजेट पनि कार्यान्वयन हुँदैन ।’ ‘पूर्व विद्यार्थीलाई समेटेर बनेको संस्थाको तर्फबाट केही सहयोग गर्दै आएका छौँ । यस कलेजको प्रगति हुन नसक्नुमा राजनीतिक भागबन्डाको ठूलो दोष छ’, पूर्व विद्यार्थी भिम घिमिरे भन्छन् । राजनीतिज्ञ गुरु बरालको भनाइमा, ‘जति भवन वि. सं. २०१६÷०१७ सालतिर बने त्यसपछि यहाँ केही नयाँ संरचना बनेनन् । अब यो क्याम्पसले आफैँ अर्थ आर्जन गरेर उत्कृष्ट शैक्षिक केन्द्र बनाउने दिशामा लाग्नु पर्छ ।’ बिराटनगर महानगरपालिका उपमेयर शिल्पा कार्की भन्नुहुन्छ, ‘महानगरपालिका सहयोग गर्न तयार छ, सबै मिलेर शिक्षाको उत्कृष्ट गन्तव्य बनाउने सपना साकार पारौँ ।’ मुख्यमन्त्री हिक्मत कार्की भन्नुहुन्छ, ‘यस क्याम्पसलाई उत्कृष्ट प्राज्ञिक केन्द्रको रूपमा विकास गर्न राम्रो गुरुयोजना बनाएर त्यसको कार्यान्वयन गर्नुपर्छ । यसका  लागि प्रदेश सरकारले पहल र सहयोग समेत गर्ने बचनबद्धता व्यक्त गर्दछु ।’

सबैका विचार ध्यानपूर्वक सुन्नुभएको पूर्व राष्ट्रपति भण्डारीलाई आयोजकले क्याम्पसको बारेमा केही कुरा राखिदिन आग्रह भयो । ‘जीवनको महत्त्वपूर्ण समय करिब १२ वर्ष बिराटनगरमा आफूले बिताउँदा, यस क्रममा यहाँको विद्यार्थी रहँदा र स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्षको नाताले क्रियाशील हुँदा यस कलेजमा ८ हजार बढी विद्यार्थी थिए, यहाँका घरमा डेरा पाउन मुस्किल थियो र कलेजभित्रको चहलपहल, हराभरापनसहितको फूलबारीको सौन्दर्यताबाट मुग्ध भएर तस्बिर खिच्नेको भिडभाड पनि हुन्थ्यो तर अहिले उजाड बनेको छ, तर हाम्रो प्रयास जारी राख्नु पर्छ’, पूर्व राष्ट्रपतिले विगतको स्मरण, वर्तमानको यथार्थ चित्रण र आफ्नो अठोट यसरी व्यक्त गर्नुभयो । उहाँको यस भनाइले उपस्थित सबैलाई संवेदनशील बनायो । त्यसबेला निम्नमाध्यमिक स्तरमा महेन्द्ररत्न  माध्यमिक विद्यालय, तोपगाछी, झापामा अध्ययनरत पङ्क्तिकार विशेष कामले बिराटनगर जाँदा आफ्ना ज्येष्ठ भ्राता डम्बरूप्रसाद सोही कलेजको विद्यार्थी भएकाले दिनभर कलेजको चहलपहल हेर्ने र राती कलेजकै होस्टलेमा बस्ने मौका मिलेको थियो । यस अन्तरक्रियाले २०३७÷०३८ सालतिरको परिवेश मानसपटलमा घुम्न पुग्यो ।  

नेपालको सबैभन्दा जेठो र विस्तारित त्रिभुवन विश्वविद्यालय भन्दा ४ वर्ष पहिले नै वि.सं. २०१२ सालमा ‘मोरङ ईन्टरमिडियट कलेज’को रूपमा स्थापित ममोआब क्याम्पस पछि उक्त विश्वविद्यालयको आङ्गिक क्याम्पसमा समाहित हुन पुगेको थियो । शिक्षाका क्षेत्रमा यस्तो ऐतिहासिकता बोकेको क्याम्पसको यो हविगत देख्दा जोकोही शिक्षा प्रेमीको आँखा रसाउँछन् । शिक्षाप्रति राज्यको गैरजिम्मेवारीपन र बेवास्ताले सबैको मन रुवाउँछ । यो हेलचेक्र्याइँको लामो इतिहास छ । 

राष्ट्रपतिको कार्यभार (२०७२–७९) सम्हाल्दा विद्यादेवी भण्डारीले उक्त क्याम्पसको महत्त्व र अहिलेको दुरावस्था बताउँदै त्यसको उन्नयनका लागि कुलपति, तालुकदार मन्त्री, उपकुलपति शिक्षा सचिव, राजनीतिक दलका नेता, शिक्षाप्रेमी, बुद्धिजीवीसँग दर्जनौँ पटक साँच्चै भन्ने हो भने अनुनय विनय गरेका क्षणहरू पंक्तिकारको स्मृतिमा आइरहेका छन् । उहाँको ठूलो प्रयासमा ‘टोकन’ को रूपमै सही बजेट विनियोजन पनि भएको थियो, तर त्यो अहिलेसम्म पनि स्थानीय विवादका कारण कार्यान्वयन भएको रहेनछ । 

स्वतन्त्र विद्यार्थी युनियन जो नेपालको लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण हिस्सा समेत हो, यस्तो पवित्र संस्थाको पदाधिकारी भई त्यसबेलादेखि नै विद्यार्थीको हकहितमा समर्पित बन्दै तथा पछि राष्ट्रप्रमुख समेत बनेको व्यक्तिले पहल गर्दा त एउटा क्याम्पसको स्तरोन्नति प्रक्रियाले गति लिन सक्दैन भने अरू शैक्षिक केन्द्रको हालत के होला सजिलै अनुमान गर्न सकिन्छ । अरू मुलुकमा राष्ट्रपति, प्रधानमन्त्रीजस्ता व्यक्तिहरू पढेको शिक्षण संस्थाको जगेर्ना र विकासमा राज्यले विशेष ध्यान दिन्छ र त्यसलाई नयाँ पुस्ताको प्रेरणास्थल बनाइन्छ । यो त यहाँ सम्भव भएन नै एउटा जीर्ण बन्दै गएको क्याम्पसको पुनरुत्थान गर्ने राष्ट्रप्रमुखको वर्षौँदेखिको संकल्प समेत चकनाचुर हुँदै जानु विडम्बनाको विषय बनेको छ । 

‘पूर्वाधारको पनि पूर्वाधारको रूपमा रहेको शिक्षाको विकासका लागि आफू सधै पहल गरिरहने’ भन्ने तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको अठोट र पहलकदमीको कारण मूलतः विद्यालयतहको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न र गणतन्त्रको प्रतीकलाई विस्तारित र सुदृढ तुल्याउन ‘राष्ट्रपति शैक्षिक उत्थान कार्यक्रम’ लागू भयो, उहाँ दुर्गमका विद्यालय गएर विद्यार्थीलाई माया, शिक्षक र व्यवस्थापन समितिलाई प्रेरणा र स्थानीय समुदायलाई हौसला दिनुभयो । यसबाट विद्यालय तहको शैक्षिक पूर्वाधार विकासमा थोरै नै भएपनि टेवा पुग्यो । अहिले यो असल कार्यक्रम सुस्ताउन थालेको हो कि भन्ने परेको छ । 

२०७२ सालमा संविधान जारी भएपछि एक हिसाबले भन्ने हो भने मुलुकमा राजनीतिक क्रान्ति सम्पन्न भएको छ । अब उच्च शिक्षामा जोड दिएर नवप्रवर्तन र उद्यमशीलता विकासमा लाग्ने  शैक्षिक जनशक्ति उत्पादन गर्न ध्यान दिनु पर्दछ । विराटनगरले मुलुकमा उद्योगको स्थापना र विकासमा ऐतिहासिक योगदान गरेको हो । तर पछिल्लो अवधिमा उद्योग प्रवर्द्धनमा विराटनगरले खासै प्रगति गरेको देखिँदैन । त्यसैले २३ बिगाहा भन्दा बढी जमिन भएको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस जस्तो ऐतिहासिक विरासत बोकेको संस्थाले आफूलाई उत्कृष्ट शैक्षिक प्रतिष्ठानको रूपमा उभ्याउनु पर्दछ र यस क्षेत्रको उद्योग, कृषि, पर्यटन, पूर्वाधार विकासमा चाहिने जनशक्ति उपलब्ध गराउनु पर्दछ । यसबाट आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्न टेवा पुग्नेछ । 

गुणस्तरीय उच्च शिक्षा आजको आवश्यकता भएको सन्दर्भमा शिक्षण संस्थाको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रताको प्रत्याभूति हुनै पर्दछ । शिक्षा क्षेत्रका पदाधिकारीको नियुक्तिमा राजनीतिक भागबण्डा होइन, योग्य र सक्षमलाई स्थान दिनु पर्दछ । विश्वविद्यालयलाई पर्याप्त मात्रामा बजेटको व्यवस्था गरेर भौतिक तथा शैक्षिक पूर्वाधारको व्यवस्थासहित क्याम्पसहरूको पठनपाठनलाई चुस्त र दुरुस्त राख्नु पर्दछ । यसो गर्न सक्दा नै ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको आकांक्षा साकार हुनेछ । 

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १ : ३० बजे