पर्यटनका माध्यमबाट लुम्बिनीलाई आत्मनिर्भर बनाइने

लुम्बिनी। लुम्बिनी प्रदेश सरकारले पर्यटनका माध्यमबाट प्रदेशलाई आत्मनिर्भर बनाउने अवधारणा अघि सारेको छ ।

विश्व पर्यटन दिवसका अवसरमा मुख्यमन्त्री चेतनारायण आचार्यले आज दिनुभएको शुभकामना सन्देशमा लुम्बिनीलाई आत्मनिर्भर प्रदेशका रूपमा विकास गर्न ‘घुमौँ लुम्बिनी’को अवधारणा कार्यान्वयन गरिने बताउनुभएको छ ।

प्रदेश सरकारले स्थानीय उत्पादन बढाएर त्यसमा नागरिकलाई जोड्ने र पर्यटनसँग केन्द्रित गरेर आयआर्जनका अवसर सिर्जना गर्ने योजनालाई पूरा गर्न घुमौँ लुम्बिनीको अवधारणा अघि बढाएको हो ।

मुख्यमन्त्री आचार्यले ‘घुमौँ लुम्बिनी’ भन्ने मान्यता प्रदेश सरकारले स्थापित गर्न खोजेको भन्दै पर्यटनबाट नै नागरिकलाई स्वरोजगार बनाउन सकिने उल्लेख गर्नुभएको छ । नागरिकको जीवनस्तर उठाउने एउटा आधारका रूपमा प्रदेश सरकारले पर्यटन क्षेत्रलाई लिएको सन्देशमा उहाँले उल्लेख गर्नुभएको छ ।

लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई १२ जिल्लाका महत्त्वपूर्ण पर्यटकीयस्थलमा पुर्याउन लुम्बिनी पर्यटन परिपथ बनाउनेगरी सरकारले काम थालेको बताउँदै उहाँले सन्देशमा “लुम्बिनी भूगोलमा विविधतायुक्त प्रदेश हो । हिमाल, पहाड र समथर भूभाग अनि अन्नको भण्डार पनि यहीँ छ । ‘मिनी’ नेपालको अनुभूति लुम्बिनी प्रदेशले दिएको छ । “विभिन्न जातजाति, धर्म, संस्कृति, प्राकृतिक, स्रोतसाधन, जैविक विविधतालगायत क्षेत्र यहाँको पर्यटन प्रवर्द्धनका आधारस्तम्भ हुन् ”, भन्नुभएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ११ : ०५ बजे