आर्थिक, सामाजिक क्षेत्रका नीति अपर्याप्त छन् : पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौँ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक, सामाजिक क्षेत्रका कतिपय नीतिहरु अपर्याप्त रहेको भन्दै पुनर्लेखन जरुरी रहेको बताउनुभएको छ । बिहीबारर काठमाडौँमा नीति अनुसन्धान प्रतिष्ठानको छैटौँ वार्षिकोत्सव समारोहमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिले विकासको परिभाषा नै परिवर्तित भइसकेको भन्दै आर्थिक वृद्धिलाई मात्रै विकास भन्न नमिल्ने तर्क गर्नुभयो । उहाँले अहिले दिगो विकास र दिगो विकासको सामाजिक र आर्थिक पक्ष तथा वातावरणीय पक्ष समेत विकासको परिभाषासँग जोडिएको बताउनुभयो ।

‘‘विकासको परिभाषा नै परिवर्तित भयो । पहिला हामी आर्थिक वृद्धि भएपछि विकास भयो भन्थ्यौँ, पछि विकासलाई हामीले मानव विकास भन्न थाल्यौँ । अलि पछि गएर हामीले दिगो विकास भन्यौँ र वातावरण मात्र होइन दिगो विकासको सामाजिक र आर्थिक पक्ष पनि हुन्छ, वातावरणीय पक्ष मात्रै हुँदैन भनेर हामीले दिगो विकासलाई अलि चौडा बनाउन थाल्यौँ ।,’’ पूर्वअर्थमन्त्री खतिवडाले भन्नुभयो, ‘‘दिगो विकासको कुरा गर्दा गर्दै समृद्धिको कुरा गर्न थाल्यौँ । समृद्धिको बाटो अलि लामो छ । लामो यात्रा गर्नुपर्छ । तर ठिक बाटोमा त हामी हिँडिरहेका छौँ ? गन्तव्य त हाम्रो ठिक छ ? प्रस्थान बिन्दु नै हाम्रो गलत भयो भने पुगिँदैन । त्यसकारण समृद्धिको मार्गमा हामी जानको लागि हाम्रा कतिपय नीतिहरु मिलाउनुपर्छ । रि इन्जिनियरिङ होइन, इन्जिनियरिङ गर्नुपर्ने कुरा पनि छन् । कतिपय नीतिगत कुराहरु अपर्याप्त छन् । हामी सबैले महशुस गरेका छौँ ।’’

पूर्वअर्थमन्त्री खतिवडाले समृद्धिको बाटो अलि लामो रहेकाले सही बाटोमा हिँडिरहेका छौँ की छैनौँ भनेर सोच्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले प्रस्थान बिन्दु नै गलत भएको खण्डमा लक्ष्यसम्म नपुगिने भन्दै समृद्धिको मार्गमा जानका लागि कतिपय नीतिहरु मिलाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले कतिपय नीतिगत कुराहरु अपर्याप्त रहेको महशुस सबैले गरेको भन्दै भएका नीतिहरुले परिणाम दिन नसक्ने बताउनुभयो ।

समृद्धि भनेको आर्थिक, सामाजिक र मानवीय विकास मात्रै नभइ त्योभन्दा पनि बढी हुनु रहेको उहाँले उल्लेख गर्नुभयो । शान्तिपूर्ण समाज सामाजिक, आर्थिक रुपले बलियो र शान्त एवम् सद्भावपूर्ण हुनु र भौतिक विकासका दृष्टिकोणले सुविधा सम्पन्न र सुखसँग नागरिकले बस्न पाउने हुनु नै समृद्ध नेपाल र सुखी नेपाली हुने उहाँको भनाइ छ ।

‘‘हाम्रा आर्थिक, सामाजिक क्षेत्रका कतिपय नीतिहरु अपर्याप्त छन् । भएका नीतिहरुले हामीले खोजेको परिणाम दिने अवस्थामा हामी छैनौँ । केही नीतिहरु आपसमा बाझिन्छन् र जसले गर्दा हामी शून्यमा पुग्छौँ । कतिपय नीतिहरु बाझिँदा हामी शून्यमै त झरेका छैनौँ ? त्यसकारण ति नीतिहरु सच्याउनुपर्छ । अलिकति पुनःलेखन गर्नुपर्छ । समृद्धिको सन्दर्भमा हामी केही कुरामा स्पष्ट हुुनपर्छ । समृद्धि भनेको आर्थिक विकास मात्रै होइन, समृद्धि भनेको सामाजिक विकास मात्रै होइन, समृद्धि भनेको मानवीय विकास हो, तर त्योभन्दा बढी पनि हो ।,’’ पूर्वअर्थमन्त्री खतिवडाले भन्नुभयो, ‘‘त्योसँग जोडिएका शान्तिपूर्ण समाजका कुराहरु, सामाजिक, पुँजीगत कुराहरु, मानवीय सुरक्षाका कुराहरु, कतिपय आर्थिक विकासका परिसूचकले समेट्ने गरी यि कुराहरु समृद्धिमा हामीले समेट्नुपर्छ । शान्तिपूर्ण समाज आर्थिक रुपले बलियो छ, जो सामाजिक रुपले शान्त छ, सद्भावपूर्ण छ, जो भौतिक विकासका दृष्टिकोणले सुविधा सम्पन्न छ र नागरिकले सुखले बस्न पाउँछ, त्यो हामीले समृद्ध नेपाल र त्यसले ल्याउने आम नेपालीहरुको सुखी भनेका हौँ ।’’

पूर्वअर्थमन्त्री खतिवडाले विषादी र रासयनिक मलको कम प्रयोग गरी उत्पादन बढाएर खाद्यान्नमा आत्मनिर्भर बन्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले भौतिक र सामाजिक विकाससँगै कृषि, सिँचाइमा जोड दिनुपर्ने बताउनुभयो । डिजिटल अर्थतन्त्र आजको आवश्यकता रहेको भन्दै यसले विद्युतीय अर्थतन्त्र विकासमा मद्दत पुग्ने उहाँको भनाइ छ । सामाजिक संरक्षणसम्बन्धी नीतिहरु दक्षिण एशियामै नेपालको उत्कृष्टा रहेको भन्दै दिगो, टिकाउ र सर्वव्यापी बनाउन जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ५ : ३७ बजे