प्रमाण र तथ्यका आधारमा देशको नीति बन्नुपर्छ: सभामुख घिमिरे

काठमाडौँ। सभामुख देवराज घिमिरेले प्रमाण र तथ्यका आधारमा देशको नीति बनाउन आग्रह गर्नुभएको छ। बिहीबार नीति अनुसन्धान प्रतिष्ठानको छैटौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो। उहाँले सङ्घीयताको नौलो अभ्यास गरिरहेको नेपालमा प्रमाण र तथ्यका आधारमा नीति बनाउन जरुरी रहेको बताउनुभयो।

उहाँले सङ्घीयताबारे भएका बहस पनि भावनामा नभई तथ्यका आधारमा हुनुपर्ने बताउनु भयो। उहाँले नीति प्रतिष्ठानको अध्ययन, अनुसन्धान र सुझाव अहिले मुलुकले माग गरिरहेको बताउनुभयो।

उहाँले मुलुकका नीति कुनै एक सरकारका लागि मात्रै नभई सिङ्गो राष्ट्रका लागि हुनुपर्ने बताउनुभयो। उहाँले एउटा सरकारले बनाएको नीति अर्को सरकार आउने बित्तिकै तोडिने परम्परा सुखद् नरहेको जिकिर गर्नुभयो।

उहाँले संसद्ले बनाउने कानुनको मस्यौदा बनाउँदासमेत प्रतिष्ठानका सहभागिता र सहकार्य अपरिहार्य रहेको भन्दै सङ्घीय संसद् सचिवालयले प्रतिष्ठानसँग सहकार्य गर्न प्रारम्भ गरिरहेको उल्लेख गर्नुभयो।

उहाँले आगामी दिनमा पनि मुलुकको कानुन निर्माण गर्ने संसद् र नीति निर्माणका सुझाव दिने प्रतिष्ठान बिचमा हातेमालो हुनु अनिवार्य रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘सङ्घीयताको नौलो अभ्यास गरिरहेको हाम्रो मुलुकमा प्रमाण र तथ्यका आधारमा नीति बनाउन जरुरी हुन्छ। सङ्घीयताबारे भएका बहस पनि केवल भावनामा होइन, तथ्यका आधारमा हुनुपर्छ। त्यसमा तपाईँहरूको अध्ययन, अनुसन्धान र सुझाव अहिले मुलुकले माग गरिरहेको अवस्था हो। मुलुकका नीति कुनै एक सरकारका लागि मात्रै होइन, सिङ्गो राष्ट्रका लागि हुनुपर्छ। एउटा सरकारले बनाएको नीति अर्को सरकार आउने बित्तिकै तोडिने परम्परा सुखद् छैन। यसप्रति पनि हाम्रो ध्यान जानु जरुरी छ’’, उहाँले भन्नुभयो।

सभामुख घिमिरेले मुलुकको नीति बनाउन सहयोग गर्ने महत्त्वपूर्ण र गहन कार्यक्षेत्र भएको प्रतिष्ठानलाई सरकारले आर्थिक बोझको रूपमा लिनु नहुने बताउनुभयो। सङ्घीयताको सबलीकरण, आर्थिक सशक्तीकरण, कृषि, व्यापार तथा लगानी, वैदेशिक नीति, पर्यटन नीति, वातावरण, स्वास्थ्य, शिक्षा, सामाजिक क्षेत्रको नीति निर्माणमा योगदान दिन प्रेरित गर्नुपर्ने बताउनुभयो।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ५ : ०६ बजे