ओली विरोधी (अ)बौद्धिक वितण्डा

औपचारिक र अनौपचारिक परिसंवादमा पुग्दा देशको वर्तमान राजनीतिक विषयमा अनेक विचार प्रकट हुन्छन् म प्रायः खसी बाख्री एउटै धोक्री गर्नु हुन्न भनिरहन्छु । सबै पार्टी नेता चोर हुन् भन्ने अबुझहरू देखिन्छन् तर यसमा सुझबुझ हुनेहरूले सत्य कुरा प्रवाह गरे देश र जनताको दिशा,दृष्टि सही हुन सक्थ्यो । यस्तैमा  नेकासित मिलेर  एमालेले सरकार बनाउनै  हुन्थेन भन्ने बुज्रुक खालका मान्छे पनि देखिए । यसलाई पुष्टि गर्न तिनलाई अति सामान्य दृष्टान्त  दिएर भनेँ   ।   उदाहरणका लागि कुनै घरका  दुई दुई वटा स–साना लालाबाला त्यागेर बाबु वा आमा पोइल वा सोइल जान्छन् तर घर बचाउन तिनै पोइल वा सोइल गएकासित सम्झौता गर्न बाध्य हुनुपर्छ ।  यो जवाफ पछि उनी मौन भए  तर  मनको कुरा तिनले तनमा उतार्न मानेन् ।

समाजमा सही सत्य तथ्य बुझाउने चेत कमजोर छ । जे जस्ता फतुर फलाकाहरु  पनि सुन्यो, सुन्यो अनि  अन्तिममा फिसिक्क हाँस्यो अनि उठ्यो ।  यस्तै अवस्थामा कारण  रैँदालो मच्चिएको र मच्चाइएको छ ।   

अमेरिका भ्रमणमा रहनु भएकै समयमा प्रसिद्ध राजनैतिक विश्लेषक तथा पूर्व माओवादी भरत दाहालले ओली विरुद्ध  बकवास नै गरे । उनले एक अन्तर्वार्ताका क्रममा  सामान्य मनुवाको मुखबाट पनि नबोल्ने र बोल्नै नसक्ने निचतम्,निकृष्टतम दुराग्रहपूर्ण वचन लगाए । हुन त उनी लामो समय मान्छेको घाँटी रेटेर समाजवाद ल्याउँछु भनेर दाहाल प्रचण्डका पुच्छर बनेका थिए । 

मार्क्सवाद र माओविचारको कखरा  जान्नेहरू चक्रेटो,घोडेटो बाटो हिँड्न छाडेर अक्करअक्कर र भीर खोजेर हिँड्दैन । रहर र लहडका भरमा जथाभाबी  जनयुद्धका नाममा जनता मार्दै हिँड्नु क्रान्ति हुँदै होइन भन्ने धेरै ढिलो बुझेका दाहालको बुद्धि, विवेक र चेत पलाउन नै बाँकी रहेको देखियो । 

 मान्छे नरपशु पनि भनिन्छ किनकि नरपशु वा मान्छेको बुद्धि ढिलै भए पनि पलाउँछ । यसै कारण ढिलै भए पनि उग्रवादी आतङ्कारी मार्ग भरत दाहालले परित्याग गरे । तर उनको शुद्धि बुद्धि र चेत पलाउन अझै बाँकी रहेको देखियो । पूर्व माओवादी कित्ताका यस्ता चरम आग्रही र फतुर बोल्नेको कमी रहेनछ । कतिपय विश्लेषक भनी कहलिएकाको बेहोरा अचम्मकै देखिन्छ ।   नेपाल सरकारको सहसचिवसम्म भएका उपाध्याय थरी मनुवाले अमेरिकामा ओलीलाई घोर बेइज्जत गरेको सरासर फेक फेसबुक स्ट्याटस भाइरल गरेछन् । यसैलाई आधार र प्रमाण ठानेर महान् विश्लेषक भनेर चिनाइएका प्रा.डा. केसीले एक औपचारिक कार्यक्रममा प्रष्ट अनुहारका साथ  यस विषयको एक कार्यक्रममा तारिफ गरे ।

 देशलाई खरानी  नै पारुँला झैँ गरेर अत्यन्त मनोगत उन्मादी कुरा सञ्जालमा मार्फत प्रवाह गरेको देखिन्छ ।  बुद्धि छैन भनौँ भने नामका अगाडि तीखा तीखा दुई वा तीन वटा  सीङ  सिरमा जडेका छन् तर तिनको बुद्धि भने देशका चरम निराशा फैलाउन मै केन्द्रित देखिन्छ । तर वरिष्ठ पत्रकार युवराज घिमिरेले भने ओलीलाई सुझावसहित उहाँका भूमिकाका बारेमा सकारात्मक विचार प्रवाह गर्नु भयो । तै पनि पठित मूर्खहरूले उहिल्यै देखि अहिलेसम्म  दुःख दिइरहेको देखिन्छ ।  

संस्कृत साहित्यमा यस्ता पठित मूर्खहरूका बारेमा चर्चा गरिएको छ ।  सर्पमा सिरमा मणि भएजस्तै  विद्या,ज्ञान र विद्वत्ताका अनेक पगरी भिरे पनि तिनको संस्कार सर्प समान हुन्छ । पढेका कुरालाई आफूले जीवनमा आत्मसात् गर्नु र त्यसलाई व्यवहारमा उतार्नु हो । सत्यलाई असत्य सिद्ध गर्न तम्सिने कसरी प्राज्ञ हुन्छ ? गलतलाई सही सिद्ध गर्न तास फिटेझैँ कुरा फिट्नेलाई  कसरी विद्वान् भन्न सकिन्छ र ?                         

संस्कृतिको एक श्लोकमा दुर्जन जतिसुकै विद्या र ज्ञानबाट विभूषित भए पनि त्यसबाट टाँडै रहनुपर्छ । मणिबाट विभूषित सर्प भयानक हुन्छ भनिएको छ । जस्तै  

दुर्जनः परिहर्तव्यो विद्यालङ्कृतोऽपि सन्।

मणिना भूषितः सर्पः किमसौ न भयङ्करस्  

यसै गरी अर्को एक श्लोकमा एक दुष्ट मानिस भन्दा एउटा सर्प कैयौँ गुना जाती हुन्छ किनकि सर्पले आत्म रक्षाका लागि कहिले काहीँ मात्र डस्छ तर दुष्ट व्यक्तिले हरेक क्षण डस्न तत्पर हुन्छ  भनिएको देखिन्छ । 

त्यसैगरी अर्को संस्कृत श्लोकमा सर्पको दाँतमा,झिँगाको टाउकोमा , बिच्छीको  पुच्छरमा विस हुन्छ  भने  दुर्जनका अङ्गभरि विस भरिएको हुन्छ भनिएको छ । अब यस्ता बाहिर बाहिर 

सज्जन कहलिएका दुर्जन कति होलान् ?  विज्ञ पाठकले यसको परख गर्नुहोला । तर यस्तै सज्जनको आवरणका दुर्जनले सत्यलाई ओझेल पार्ने दुष्प्रयत्न गर्दा रहेछन् ।  

  त्यसैले सत्य  पटक पटक हारेको जस्तो लाग्छ  । तर जब सत्यको जित सुरु हुन्छ,तब  सत्य सदा अकण्टक हुँदो रहेछ  । तर सत्य र असत्यको द्वन्द्व भने चलिरहँदो रहेछ । 

विभिन्न खाले अज्ञानका पर्दाले ढाकुन्जेल नरपशु वा मान्छेको  पनि बेलैमा शुद्धिबुद्धि पलाउँदैन ।  यस जगत्मा लामो समयसम्म सूर्य घुम्यो, तर आखिर ढिलै भए पनि पृथ्वी घुम्यो ।  सत्यको जित सुरु भयो ।   चन्द्रमा देवता कहलिए पनि निक्कैपछि   चन्द्रमा एक   ग्रह र लोक हो भन्ने सत्य स्थापित भयो । सत्यका लागि बिष नै पिउन  बाध्य सुकरातसमेत धेरै समय असत्यका गर्भमै रहन बाध्य भए । किनकि त्यतिबेला सत्य बोध गर्ने आग्रह रहित चुरो नगण्य थिए । प्रायः मानव समाजमा पनि बोक्रा,पात,हाँगाबिँगा र पलास धेरै हुन्छन् तर  सुखुवालाई दीर्घ जीवन दिने चुरो मात्र हो ।  सत्यको डेग छाडेन भने  सबै पात,पलाँस र पतिङ्गर  चुरोकै पछिपछि  लाग्छन् । नेपाल  एकीकरण र यसका मूल अभियन्ता पृथ्वीनारायण शाहलाई चिहानमा पुर्न नदिन शङ्ंखघोष   गर्ने महामना मोदनाथ प्रश्रित एक मात्र अग्रणी व्यक्तित्व हो  । नेपाल र नेपाली हुनुमा गौरव बोधका साथ  गर्वगर्नु पर्ने विषयमा उतिबेला  मौन र मुकदर्शक बन्नेलाई कसरी  इतिहास र संस्कृति विषय विज्ञ भन्नु ?  तमाम खालका  खतबात सहेर पनि  बेलाको बोली बोल्न नसक्ने  र मौकाको काम गर्न कम्मर कसेर अघि नसर्ने नाममात्रका बुद्धिजीवी हुन् । मलाई नै पनि कहिले काहीँ घिउँभात खान मात्र प्रा.डा. भएको हुँ कि जस्तो लाग्छ ।  हामीलाई त मुलुकलाई परोक्ष वा प्रत्यक्ष आँच पु¥याउने बोली बोल्न सरम पो लाग्छ त !

नेपालको संविधान २०७२ जारी नभएको भए यो देशको अखण्डतामा गम्भीर आँच आउने निश्चित थियो ।  संविधानका बारेमा दक्षिण छिमेकीको जुनसुकै प्रस्ताव स्वीकार गरेको भए  हाम्रो हविगत खराबै हुन्थ्यो ।  संविधान जारी गर्न तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र अझ नेकपा एमालेका   राष्ट्रवादी तथा प्रभावशाली नेता के.पी.शर्मा ओलीको महानतम् भूमिका  जगजाहेर  छ । नकाबन्दी विरुद्ध ओलीको चट्टानी अडान असामान्य नै थियो । यसलाई  कट्टर विरोधीलेसमेत उतिबेला तारिफ गर्न बाध्य हुनुपरेको थियो । उत्तर देश चीन तिर नाका खोल्ने अद्भूत, आश्चर्य र महानतम् काम भयो । अब दक्षिणबाट कहिल्यै नाकाबन्द हुँदैन । दक्षिण  छिमेकी शाषकका सबै खालका थिचोमिचा विरुद्ध ओली अडान महत्त्वपूर्ण र चिरस्मरणीय रहनेछन् ।  केही खोटी मनहरुले यसलाई नदेखे पनि इतिहासले स्वर्णाक्षरमा लेखिसकेको छ । ओलीको विगतको प्रधानमन्त्रीत्व काल अब इतिहास प्रसिद्ध भएकै छ । चन्दमा पनि दाग हुन्छ तर सामान्य चेत, चिन्तन र विवेक भएको  प्राणीले चन्द्रमालाई सधैँ सरापेर मात्र बस्तैन ।   जसकसैका सकारको चर्चा सकार प्रोत्साहित हुन्छ । यो कुरा पनि अंशमा हेरेर होइन पूर्णमा हेर्दा मात्र थाहा हुन्छ ।   जङ्गबहादुरले जङ्गे पिलर गाडेको एउटै भए पनि राम्रो काम भन्नुपर्छ । तर आफ्नै नाक काटेको थाहा नपाउने प्रा.डा. राजनैतिक विश्लेषक र आफूलाई राजनीतिका पण्डित पण्डित्नी ठान्नेहरूको बोलीवचन सुनिनसक्नु देखिन्छ ।  देश भित्रका सामान्य विवादलाई अन्तर्राष्ट्रियकरण गर्न हौसिएका लिलिपुट मानव देखेर उदेक लाग्छ ।  भूतपूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले आफ्नो फेसबुक वालमा अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री विरुद्ध यस्तै बेहोरा प्रदर्शन गरिन् ।

पितिक्क पनि देशको चिन्ता हुने  सामान्य मान्छेले  यसरी आफ्नो भँडास ठाउँ कुठाउँ पोख्दैन ।   राजनीतिक ,धार्मिक,जात,थर गोत्रीय निकृष्ट स्वार्थका  रोटी सेक्नेहरू अहिले निक्कै रौसिएको देखिन्छ ।   ओली विरुद्ध विभिन्न विद्युतीय सञ्जाल मार्फत  घाँटीका नसा चुडियुन्जेल  प्रायोजित प्रलाप गरिरहेको देखिन्छ  ।  मैदान खाली गरिदिएपछि यस्ता बकवासपूर्ण प्रलाप हुँदा रहेछन् ।  प्रा.डा. केसी नै पनि एक कार्यक्रममा फेक  फेसबुक वालका आधारमा प्रधानमन्त्री ओलीलाई अमेरिकामा घोर बेइज्जती गरेको प्रश्न चित्तका साथ सार्वजनिक नै गरे ।  वरिष्ठ पत्रकार भूषण दाहालले नै पनि एक अन्तरवार्ता कुलमान घिसिङबारे अस्पष्ट कुरा गरिदिनु भयो । दाहालका अनुसार घिसिङ विद्युत् देवता नै हुन् । तर त्यतिबेलाको सरकारले भारतसित महँगो मोलमा विद्युत् खरिद सम्झौता नगरेको भए देश झलमल्ल हुन्थ्यो र ? सत्यलाई केही छिन र केही दिन लुकाउन सकिन्छ तर जब सत्य झलमल्ल घामझैँ प्रकट हुन्छ, तब तमाम भ्रमजालहरु दिउँसै  धरधरी च्यातिन्छन् । अहिले पनि अधैर्यका साथ  रवि,बालेन र हर्कलाई  उत्तेजित अभिव्यक्तिका साथ देवत्वकरण गरेको सुन्नुपर्छ ।  अलिअलि होस् भएका पाका भनिएकाहरूका  उपर्युक्त खालका अभिव्यक्ति सुन्दा  अचम्म पनि लाग्छ । तिनको अवस्था केही दिनभित्रमा  मरिचझैँ चाउरिनु अवश्यम्भावी छ ।  भोटो देखाउने जात्रामा कट्टु प्रदर्शन कदापि सुहाउँदैन भन्ने पनि थाहा नपाउने सभासद् पनि देखियो । हुति, मति र गति भए  बालेनको तस्बिर अङ्कित भेस्ट त उनकै जयजयकार कार्यक्रममा लाखौँको सङ्ख्यामा प्रदर्शन गरे हुन्छ    भोटो देखाउने जात्रामा बालेन टी सटको प्रदर्शनले त्यसलाई   घोडे जात्रा बनाउने छ ।    सिंहदरबार जलाउँछु भन्दा र ऐतिहासिक धरहरालाई सेतो टावर भन्दा वाहवाह गर्नेहरूको मन,मति र  गतिको गणना  कसरी गरूँ ? यसको जवाफ नामुद विश्लेषक .डा.सुन्दरमणि दीक्षितलाई अवश्यै थाहा हुनुपर्छ ।  जननायक बिपी कोइरालाले नेपाललाई सिक्किमीकरण हुन नदिन ज्यानको बाजी लगाएर नेपाल  प्रवेश गरेको पछि थाहा भयो । यसले उहाँका विषयको चुरो सत्य अवगत भयो । उहाँ बारेको ओझेल पारिएको सत्य प्रकट भएपछि उहाँसित जोडिएर देश र जनताकै इज्जत बढ्यो । बिपीले नै प्रधानमन्त्री हुँदाताका भारतको औपचारिक भ्रमणमा जाने हुनु भयो । यसको पूर्व सन्ध्यामा बिपीले नेपालमा आफ्नै विरुद्ध काठमाडौँमा कम्युनिस्ट पार्टीको तर्फबाट  विरोध जुलुस गर्न  लगाउनु भएको थियो । भारत भ्रमणमा जाँदा नेपाललाई तल पार्ने गरी कुनै पनि समझदारी नगर प्रधानमन्त्री भन्ने विरोध  जुलुसको नारा थियो । केसरजङ्ग रायमाझी मार्फत यो काम गर्न लगाइएको  चीनका पूर्व आवासीय राजदूत राजेश्वर आचार्यले सन्दर्भ ग्रन्थसहित उलेख गर्नु भएको थियो । 

 देश र जनताको हितचिन्तकहरु कसरी देशको सिर उठाउने कुरामा हरदम चिन्तित हुन्छन् तर अनेक खालका कालकुट विषाक्त कपटी मनहरू अमेरिका स्थित न्यूयोर्कमा नेपाल विरुद्ध अराजक गतिविधि गर्न र  गराउन उक्साउँछन्  । फलानाका रिसले आकाशतिर थुक्नेहरू आफ्नै सिरमा थुक परेको पनि देख्दैनन् । त्यसैले ढिलोचाँडो सत्य उजागर भइछाड्छ । सत्यलाई छोप्न खोज्ने  तमाम खालका भ्रमका पर्दाहरू माटामा मिल्छन् ।  

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  २ : ३३ बजे