कतार पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका-६ घर भई काठमाडौँ चन्द्रागिरी नगरपालिका-१५ बस्ने ३१ वर्षीय खालिक खानलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

खालिकले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई चन्द्रागिरी नगरपालिका-१५ तीनथानाबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको जनाएको छ ।


प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  १ : ०९ बजे