काठमाडौँ । महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका लागि आगामी नोभेम्बर ५ तारिखका दिन चुनाव हुँदैछ । अर्थात् चुनाव हुन ४२ दिन मात्र बाँकी छ तर राष्ट्रपतिका मुख्य दुई उम्मेदवारमध्ये कसले बाजी मार्छ भन्ने अझै एकिन भइ नसकेको अमेरिकी चुनावी मतसर्वेक्षणहरूले देखाइरहेका छन् ।
यस पटकको चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस मुख्य प्रतिस्पर्धी रहनुभएको छ । दुवै उम्मेदवारले एकअर्का विरूद्ध तिक्ततापूर्ण गालीगलौज गरिरहेका भएपनि आम अमेरिकी नागरिकले भने उहाँहरूले अघि सारेका आर्थिक, सामाजिक, राजनीतिक जस्ता घरेलु मामिलाका विषयसँगै विदेश नीतिका बारेमा उहाँहरूका अडानलाई समीक्षा गरिरहेको बताइएको छ ।
एकातिर अमेरिकाको सर्वोच्च नेतृत्वमा कमला ह्यारिसको रूपमा पहिलो महिला र त्यो पनि एसियन–अफ्रिकन मूलकी महिलालाई चुन्ने अवसर प्राप्त भएको छ । ह्यारिसले चुनाव जिते यो अमेरिकी राजनीतिमा एउटा इतिहास नै बन्नेछ । तर ह्यारिसलाई चुनावमा सहज जित निकाल्न भने त्यति सहज छैन ।
सन् २०१६ मा भएको राष्ट्रपति चुनावमा त्यसबेला निकै लोकप्रिय उम्मेदवार हिलारी क्लिन्टन ट्रम्पसँगै पराजित हुनुभएको थियो । अमेरिकी समाज चरम पितृसत्तात्मक र दक्षिणपन्थी–अनुदारवादी छ भन्ने त्यसबेला चर्चामा थियो । तर यसपटक महिलालाई शीर्ष नेतृत्वमा स्थापित गराउन अमेरिकी समाज सहजै तयार होला ? अझै द्विविधा कायम रहेको धारणा चुनावी सर्वेक्षणले देखाएका छन् ।
पछिल्लो पटक फाइभ थर्टी एटले सार्वजनिक गरेको विवरणमा ह्यारिसले ४८ प्रतिशत र ट्रम्पले ४६ प्रतिशत मत पाउने आकलन गरिएको छ । अर्थात दुई उम्मेदवारबीच २ प्रतिशतको मात्र अन्तर छ ।
गत सेप्टेम्बर १० मा पेन्सिलभेनियामा भएको बहसपछि कमला ह्यारिसले आफ्नो पक्ष निकै मजबूत बनाएको मानिए पनि मतदाताले दुवै उम्मेदवारप्रति खासै धेरै खुलेर समर्थन गरेका छैनन् । राष्ट्रव्यापी मतसर्वेक्षणमा दुई उम्मेदवार अघिपछि देखिए पनि राष्ट्रपतिको चयन भने इलेक्टोरल कलेजका आधारमा हुने गर्दछ । पपुलर मत धेरै ल्याएर मात्र पुग्दैन ।
अमेरिकी राष्ट्रपतिका लागि कूल ५३८ इलेक्टोरल कलेजमध्ये कम्तीमा २७० स्थान जित्नु पर्दछ । अमेरिकाका ५० वटा राज्यबाट जनसङ्ख्याका आधारमा इलेक्टोरल कलेजको सङ्ख्या निर्धारण हुने गर्दछ । यही कारण धेरै जनसङ्ख्या र इलेक्टोरल कलेज रहेका राज्यहरूमा दुवै उम्मेदवारले प्रचारका कार्यलाई तीव्र बनाएका छन् ।
डेमोक्रेट वा रिपब्लिकनका परम्परागत समर्थक बढी भएका राज्यहरूको आधारमा दुवै उम्मेदवारबीच इलेक्टोरल कलेजको सङ्ख्या लगभग बराबर छ । तर इलेक्टोरल कलेज सङ्ख्या ठूलो भएका केही राज्यको परिणाम कुन उम्मेदवारतर्फ सोझिएला भन्ने अनुमान गर्न कठिन भइरहेको छ । स्वीङ स्टेट वा ब्याटलग्राउन्ड स्टेट (जुनसुकै उम्मेदवारले जित्ने अनुमान गरिएका) नामले चिनिएका केही राज्यमा दुवै उम्मेदवारबीच कडा टक्कर रहेको सर्वेक्षणले देखाएका छन् ।
यसपटक ब्याटलग्राउन्ड स्टेटका रूपमा चित्रित गरिएका मध्ये नेभादा (६ इलेक्टोरल कलेज भोट), पेन्सिलभेनिया (१९), विस्कन्सिन (१०) र मिसिगन (१५) राज्यमा कमला ह्यारिस १ वा २ प्रतिशत मतान्तरले अघि रहेको एबिसी न्यूजको पछिल्लो सर्वेक्षणले देखाएको छ । उता, नर्थ क्यारोलिना (१६), एरिजोना (११) र जर्जिया (१६) मा डोनाल्ड ट्रम्प अत्यन्त झिनो मतान्तरले अघि रहेको देखाएको छ ।
यूगभ, आरएमजी रिसर्च, हार्ट रिसर्च, फ्लोरिडा युनिभर्सिटी समेत अधिकांश मतसर्वेक्षणले डेमोक्रेट उम्मेदवार ह्यारिसले झिनो मतान्तरले चुनाव जित्ने अनुमान गरिरहेको समयमा पछिल्लो पटक दी न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको सर्वेक्षणले भने डोनाल्ड ट्रम्प १ प्रतिशत मतान्तर सहित राष्ट्रपतिमा विजयी हुने देखाएको छ ।
“अमेरिका फस्र्ट” “मेक अमेरिका ग्रेट अगेन” को नारा लगाउँदै आएका डोनाल्ड ट्रम्पले पूर्वी क्षेत्रका तीन राज्य– पेन्सिलभेनिया, नर्थ क्यारोलिना र जर्जिया– मा विजयी भए राष्ट्रपति बन्नबाट उहाँलाई कसैले रोक्न नसक्ने अमेरिकी अखबार “पोलिटिको”का वरिष्ट स्तम्भकार जोनाथन मार्टिनले लेख्नुभएको छ ।
दुवै उम्मेदवारबीच व्यक्तिगत लाञ्छनायुक्त घोचपेच भए पनि आमरूपमा दुवै उम्मेदवारले केही जल्दाबल्दा विषयलाई सम्बोधन गर्न चाहेको देखिन्छ । खासगरी डोनाल्ड ट्रम्पले अमेरिकाभित्र बढ्दो आप्रवासनलाई निरुत्साहित गर्ने, अवैध आप्रवासीलाई उनीहरूकै देश फर्काउने, दक्षिणी सीमामा पर्खाल लगाउने, इन्धनको मूल्य घटाउने, विदेशी सामानमा कर बढाएर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने बताइरहनु भएको छ । देशभित्र आप्रवासीको सङ्ख्या ठूलो मात्रामा बढ्नुमा डेमोक्रेट पार्टीको खराब नीति मुख्य रूपमा जिम्मेवार रहेको ट्रम्पको भनाइ छ । उहाँले इजरायल–प्यालेस्टिनीबीच जारी युद्ध तथा रुस–युक्रेन युद्धलाई तत्कालै समाधान गर्ने पटक पटक दोहोर्याउनु भएको छ ।
राष्ट्रपतीय बहसका क्रममा डेमोक्रेटिक उम्मेदवार ह्यारिसले भने गाजामा जारी युद्ध रोक्न बाइडेन प्रशासनले भरमग्दुर प्रयास गरिरहेको तथा युक्रेनको स्वतन्त्रतालाई अक्षुण्ण राख्न अमेरिकाले आर्थिक, सैनिक र राजनीतिक सहयोग जारी राख्ने बताउनुभएको छ । यद्यपि यी दुवै मामिलामा खासै प्रगति गर्न नसकेको भन्दै बाइडेन–ह्यारिस प्रशासनको आलोचना भइरहेको छ ।
अर्कातर्फ, अमेरिकामा बढ्दो बेरोजगारी र मूल्यवृद्धि (मुद्रास्फीति) लाई नियन्त्रणमा ल्याउन दुवै उम्मेदवारबीच दबाब बढ्दो छ । अमेरिकी जनताले दुवै उम्मेदवारलाई यही प्रश्न गरेर हैरान बनाइरहेका छन् जसको अनौठा, अविश्वसनीय जवाफ सुनेर आमजनता र अमेरिकी बौद्धिक समुदाय नै अन्यौलमा रहेको न्यूजविकले लेखेको छ ।
कमनवेल्थ फाउन्डेसनका प्रमुख कार्यकारी एन्ड्रु लेविसले न्यूजविकमा लेखेका छन्, “केही वर्षदेखि पेन्सिलभेनियामा जीवन धान्ने खर्च नियन्त्रण बाहिर पुगेको छ । हरेक सामग्रीको मूल्य तीव्र गतिमा बढेको छ । आफूले रोजेजस्तो घर किन्न सक्ने अवस्था छैन । तलब, ज्याला बढे पनि दैनिक जीवन गुजाराका लागि अत्यावश्यक खाद्यान्न समेतका सामग्रीको मूल्य अकासिएको छ ।”
ह्यारिसले भने पेन्सिलभेनियाका चुनावी सभाहरूमा सम्बोधन गर्दै इन्धन समेतका वस्तुको मूल्यवृद्धिलाई नियन्त्रणमा ल्याउने र आम सर्वसाधारणको जीवनलाई सहज बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । तर यी प्रतिबद्धतामा खासै विश्वस्त हुन सकिने अवस्था नदेखिएको लेविसको भनाइ छ । अर्थात् यही प्रवृत्ति अधिकांश राज्यहरूमा छ । यद्यपि, बढ्दो मुद्रास्फीतिलाई नियन्त्रणमा ल्याउन ट्रम्पलाई पनि फलामको च्यूरा चपाएसरह रहेको लेविसको धारणा छ ।
केही वर्षदेखि अमेरिकी चुनाव वर्ग, क्षेत्र, लिङ्ग, ल्याटिनो, आप्रवासन जस्ता अनेक मुद्दाबाट विभाजित हुन थालेकाले रैथाने अमेरिकीहरूको दृष्टिकोण र धारणाले चुनावी परिणामलाई प्रभावित तुल्याउन थालेको धेरैको बुझाइ छ ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा)
प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार २ : ३५ बजे
प्रतिक्रिया