‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

आयकर ऐनमा आय विवरण बुझाउने म्याद नथप्ने आन्तरिक राजस्व विभागको निर्णय

काठमाडौँ । आन्तरिक राजस्व विभागले आय विवरण बुझाउने म्याद थप नगर्ने निर्णय गरेको छ । हालै बसेको  विभागको बैठकले आयकर ऐन २०५८ को दफा ९८ नै खारेज गर्ने गरी आय विवरण बुझाउने म्याद थप नगर्ने निर्णय गरेको हो ।

ऐनको दफा ९८ मा आय विवरण पेस गर्न विभागले एकै पटक वा पटक–पटक गरी बढीमा तीन महिनासम्म म्याद थप गर्न सक्ने छ भन्ने व्यवस्था गरेको छ । तर, वार्षिक १ करोड रुपैयाँसम्म कारोबार गर्ने एकलौटी फर्म र कारोबार शून्य भएका निकायका हकमा आय विवरण बुझाउने म्याद नथप्ने निर्णय गरेको विभागले जनाएको छ ।

विभागले प्रकाशित गरेको सूचनामा वार्षिक १ करोड रुपैयाँसम्म कारोबार गर्ने एकलौटी फर्म र कारोबार शून्य भएका निकायका सम्बन्धमा आय विवरण दाखिला गर्ने म्याद थप नहुने, वार्षिक २५ करोडसम्म कारोबार भएका निकाय र अन्य करदाताका सम्बन्धमा मंसिर मसान्तसम्म मात्रै म्याद थप हुने र वार्षिक २५ करोडभन्दा बढी कारोबार हुने करदाताका सम्बन्धमा २० पुससम्म मात्रै म्याद थप हुने निर्णय भएको विभागले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  १२ : ४५ बजे