बागमती प्रदेशसभाको आजको बैठक एमालेले अवरुद्ध गर्ने

हेटौंडा । बागमती प्रदेशसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरुद्ध गर्ने भएको छ । 

एमाले संसदीय दलको आज बसेको बैठकले संघीयतालाई नै धरापमा पार्नेगरी भईरहेको प्रदेश सरकारको रबैयाका विरुद्ध संसदमा आवाज उठाउने र संसदीय मर्यादाका आधारमा प्रस्तुत हुने निर्णय भएको  संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले जानकारी दिनुभयो ।

‘आफ्नो दलको कमिटि विस्तार नभएका वडामा सरकारले बजेट नहाल्ने मुख्यमन्त्रीको अभिव्यक्ति, प्रदेशका महत्वपूर्ण योजनाहरुको कटौती, एक बार्दली एक मन्त्रालयको अभियान जस्तो देखिनेगरी गरिएको मन्त्रालयको भागबण्डा र राज्यको स्रोतको चरम दुरुपयोगका विरुद्ध प्रदेशको सबैभन्दा ठूलो र जिम्मेवार दलको हैसियतले एमालेले खवरदारी गर्ने’ प्रमुख सचेतक निरौलाले बताउनुभयो ।

यसैबीच बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले अहिले बागमती प्रदेश सरकारले संघीयताको धज्जी उडाएको बताउनुभएको छ । संसदीय दलको आज बसेको बैठकलाई सम्बोधनगर्नुहुँदै शाक्यले प्रदेश सरकारको रबैयाका कारण संघीयतामाथि नै प्रहार हुने अवस्था आएको बताउनुभयो । प्रदेश सरकारले राज्य स्रोतको दुरुपयोग गर्दै आफ्नो दलको सशक्तीकरणमा लागेको शाक्यले आरोप लगाउनुभयो । ‘बार्दलीपिच्छे मन्त्रालय राखेर प्रदेश सरकारका मन्त्रीलाई “बार्दलीमन्त्री” मा रुपान्तरण गरेको’ उहाँको आरोप थियो । उहाँले अरबौं रुपैया राज्यलाई भारहुने गरी सरकार अगाडि बढेको र जनताका पक्षमा केही पनि काम नगरेको बताउनुभयो । शाक्यले मुख्यमन्त्री राजेन्द्र पाण्डेले एक समारोहमा राख्नुभएको आफ्नो दलको संगठन विस्तार गर्ने स्थानमा मात्रै बजेट हाल्ने कुरा आपत्तीजनक रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारका कारण व्यवस्थामाथि नै प्रश्न उठेको उल्लेख गर्नुभयो ।

प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले नवगठित प्रदेश सरकारले प्रदेशवासी हौं भन्न पनि लाज हुने गरी प्रदेशको बदनाम गरेको बताउनुभयो । दलको बैठकलाई संबोधनगर्दै पौडेलले मुख्यमन्त्री राजेन्द्र पाण्डेले सत्ता स्वार्थको निमित्त जनतामाथि आघात पु¥याउनेगरी ७ वटा मन्त्रालयलाई १४ वटामा वृद्धि गरेको बताउनुभयो । पौडेलले सरकारको मुख्यमन्त्री स्वयम्ले सार्वजनिक समारोहमा आफ्नो पार्टीको संगठन विस्तार नभएको स्थानमा सरकारले बजेट विनियोजन नगर्ने बताउनु अत्यन्तै घिनलाग्दो कार्य भएको बताउनुभयो ।
 

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ३ : २० बजे