दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

रातो क्रान्ति पछि निलो क्रान्तिको लक्ष्य

“हिजो इतिहास हो, भोलि रहस्य हो, आज उपहार हो।” (क्यामरूनी भनाई) असोज ३ मा राष्ट्रिय तथा संविधान दिवस मनाएको एक हप्ता पनि नहुँदै नेपालको राजनीतिमा सहकारी ठगीमा आरोपित रबी लामिछानेलाई अनुसन्धानका लागि पक्राउ गर्ने चर्चा भएपछि एकाएक सामाजिक सञ्जालबाट ‘निलो क्रान्ति’को हल्ला चलाईंदैछ। यसको लक्ष्य के हो ? प्रश्न उठेको छ। क्यामरूनी भनाइलाई हेर्दा त यस्तो लाग्छ, रबीको निलो क्रान्तिको हल्ला रहस्यपूर्ण देखिन्छ। तर हामी भने भ्रमपूर्ण हल्लाको लक्ष्य नै नबुझी लहलहैमा लागेका छौँ, जसरी हिजो प्रचण्डको रातो क्रान्तिको वाहवाहै गरेका थियौँ।

हिजो राजनीतिमा लाग्नु भनेको निष्ठा, त्याग र समर्पण भावसहित वैचारिक धरातल अनि यसको लक्ष्य लोकतन्त्र र समृद्धि हुन्थ्यो। आज राजनीतिमा आएका नयाँ पात्रहरूले भ्रम, जालसाजी र ल्ब्याकमेलिङ अनि भिडको भ्रमपूर्ण भाष्यलाई आधार र लक्ष्य बनाएका छन्। हामीले यही फरक छुट्टाउन नसक्दा अहिले सहकारी ठगीमा आरोपितहरू निलो क्रान्तिको हल्ला गर्न सक्ने भएका छन्। निलो क्रान्तिको हल्लालाई व्यङ्ग्य गर्दै सामाजिक सञ्जाल एक्समा सुभास अधिकारी लेख्छन्, “कारबाही सिफारिस भएको व्यक्ति पक्राउ पर्ने डरले जम्मा भएको भिडको नाम निलो क्रान्ति रे१”

यो लेखकको बुझाइमा “नैतिक र चारित्रिक रूपमा सफा नेता भिडले घेरिएर बस्दैन्, भिडको भाषा बोल्दैन्।” तर रबी लामिछानेले अनुसन्धानलाई प्रभावित पार्नेगरी भिडले घेरिएर भिडको भाषा प्रयोग गरेर परिस्थिति अराजक बनाउन खोज्दैछन्। अनि आफ्नो कमजोरी लुकाउन त्यसलाई “निलो क्रान्ति”को संज्ञा दिएका छन्। जबकि दुई(दुई पटक गृहमन्त्री भइसकेको मान्छेले सहकारी ठगी प्रकरणमा आफ्नो नाम आएपछि निर्दोष साबित हुन प्रहरीलाई सघाउनु पर्नेमा उल्टै भिड जम्मा गरेर भिडको भाषा बोलेर गल्ती गर्नु हुँदैनथ्यो।

रबीको रबैयालाई संकेत गर्दै राजनीतिक विश्लेषक केशव दाहालले नागरिकलाई ठगलाई चिन्न अनुरोध गर्दै सामाजिक सञ्जाल एक्समा लेख्छन्, “ठगको कुनै जात, गोत्र र पार्टी हुँदैन। जब जब ठगहरू पक्राउ पर्छन्, नागरिकले उत्सव मनाउनु पर्छ। ठगलाई संरक्षण गर्ने होइन, समातेर पुलिसलाई बुझाउने हो।”

हामीले बुझ्नुपर्छ, “अराजकता र स्वछन्दताको आयु हुन्न त्यसैगरी भ्रम र जालसाजीको पनि आयु हुन्न। तथापि कहिलेकाहीँ त्यसको चर्चा हुन्छ र पात्रहरू पनि चर्चामा रहन्छन्। तर जनता भ्रमबाट मुक्त र राज्यका संयन्त्रहरू विधिसम्मत चलेर विधि लागु गरेका दिन तिनको आयु सकिन्छ। अहिले राजनीति र मोफसलमा रहेका पात्रहरू बिस्तारै हराउने छन्।“ यसका लागि सर्वसाधारणदेखि नेतृत्वले भ्रमहरूबाट मुक्त भएर सत्य र न्यायको पक्षमा उभिन र भिडको पछाडि हिँड्न छोड्नुपर्छ।

यतिबेला हामीले बेठीकलाई बेठीक र ठीकलाई ठीक भन्न सक्नुपर्छ यद्यपि एक्लै हुन किन नपरोस्। रविको निकट विगतका गल्तीमा भिडले साथ दिएको थियो, अहिले सहकारी ठगी प्रकरणमा बच्न त्यही तरिका अपनाउन खोजेको उनको बोली र व्यवहारले संकेत गरेको छ।

शालिकराम पुडासैनी आत्महत्या काण्ड भिडले ढिसमिस, नागरिकता काण्डमा भिडको प्रयोग माओवादी सत्तासँग लेनदेन र मिलान गरिएको थियो। दोहोरो राहदानी काण्ड अदालतमा विचाराधिन छ। सहकारी ठगी काण्ड बजारमा आउँदा गृहमन्त्री हुँदा प्रमाणहरू नष्ट गराउन प्रयास नगरेका होइनन्। प्रहरी महानिरीक्षकलाई आफ्नो पक्षमा बोल्न लगाएकै हुन। सहकारी ठगी छानबिनका लागि संसदीय विशेष समितिले तथ्य बाहिर ल्याएपछि भिडको प्रयोग गरेर जोगिने कुत्सित प्रयास गरिरहेका छन्। तर सत्य प्रकट भएपछि असत्य अर्थात् भ्रमको कुनै मूल्य हुन्न।

हिजो ‘रातो क्रान्ति’ भनेर झुकाइयो, देशलाई ध्वंस र हिंसामा फसाएर पछाडि पारियो। आज ‘निलो क्रान्ति’ भनेर अर्को खेल हुँदैछ। दुवै क्रान्तिको लक्ष्य एउटै नेपाललाई कमजोर बनाउने र बाह्य चलखेल बढाउने। रातो क्रान्तिले नागरिकलाई गाउँघरबाट सहर हुँदै विदेश पलायनमा सघायो भने निलो क्रान्तिले पलायन भएका भूतपूर्व नेपालीहरूलाई प्रयोग गरिरहेको छ। पहिले रातो क्रान्ति भन्नेले कति लुटे कतिलाई मारे, कति भत्काए कति जलाए, कतिलाई गाउँघरबाट लखेटे विदेश पलायनमा सघाएर ? एक पटक फर्केर हेरौँ, ती दिनमा हामीले भोगेका पीडा। अहिले निलो क्रान्ति भन्नेले भ्रमको राजनीति गरेर अर्को द्वन्द्व र अराजकता सिर्जना गर्न खोज्दैछ।

आज प्रश्न उठाउनु पर्ने भएको छ, नेपाल र नेपाली नागरिकता त्यागेका र विदेशी नागरिक बन्न शपथ लिएकाहरू नेपाल विरुद्ध प्रयोग भइरहेका त छैनन् पछिल्लो समय तिनै भूतपूर्व नेपालीहरू नेपालमा अराजकता र स्वछन्दता बढाउन लागिपरेका छन् भन्ने कुरो प्रधानमन्त्रीको कार्यक्रम बिथोल्न भएको प्रयास र त्यो प्रयासलाई समर्थन गर्ने रविहरूको बोलीले प्रमाणित गरेको छ। यसबाट हामीले बुझ्नुपर्छ, नेपाल र नेपालीका विरुद्ध निलो क्रान्ति गरिन खोजेको हो।

सहकारी ठगी काण्ड छानबिनले दोषीहरूलाई कारबाही गर्ने तयारीमा राज्य देखिएपछि बजारमा रातो क्रान्तिपछिको निलो क्रान्तिको चर्चा भइरहेको छ। वास्तवमा आजको मूल मुद्दा “शैक्षिक क्रान्ति हो, सामाजिक(आर्थिक रूपान्तरण हो।” तर यो मुद्दामा केन्द्रीत हुन नदिन हिजो रातो क्रान्तिको भ्रम छरियो आज निलो क्रान्तिको हल्ला गरिदैछ।

पहिले हामीले भ्रममा परेर प्रचण्डलाई महान् क्रान्तिकारी ठान्यौँ अहिले रबीलाई महान् क्रान्तिकारी ठान्दैछौं। हामी नेपालीहरूको प्रवृत्ति हतार गरेर भ्रममा रमाउने र अराजकतालाई सघाउने अनि फुर्सदमा पछुताउने भएको छ। यस्तै प्रवृत्ति ज्ञानेन्द्रको ‘कू’मा नदेखिएको होइन। यतिबेला प्रचण्ड, रबी र ज्ञानेन्द्रहरूको चरित्र अस्वाभाविक रूपमा मिलेको छ। के कति कारणले मिल्यो ? मिल्नलाई कसले सघाउँदैछ ? त्यसैले असललाई असल र खराबलाई खराब नै भन्ने र देख्ने चेतनाको विकास हामी नेपालीमा कहिले हुन्छ होला ? उत्तर खोज्नु पर्ने भएको छ।

अहिले राजावादीहरू बालेन बोकेर राजतन्त्र फर्काउने रणनीतिमा देखिन्छन् भने वैश्विक उत्तरको एउटा पक्ष रबीमाथि लगानी गरेर नेपाललाई दोस्रो युक्रेन बनाउने प्रयासमा लागेका छन्। अमेरिकाबाट भागेर नेपाल आएदेखि आजसम्म रबीले गरेका कानुनविपरीतका काम, ल्ब्याकमेलिङ र ठगीहरूको निष्पक्ष अनुसन्धान भयो भने कुनैपनि कोणबाट उनी जोगिँदैनन्। तैपनि हाम्रो भेडा प्रवृत्तिले उसैलाई महान् देख्दैछ। यो बुझेका रबीले ‘निलो क्रान्ति’को हल्ला गरेर हामीलाई अराजक र स्वछन्द पात्रको सहयोगी बनाउन खोजेका छन्।

रबी लामिछानेले झैँ कांग्रेस वा एमालेका कुनै नेताले यो तहको कानुनविपरीतका काम, ल्ब्याकमेलिङ र ठगीहरू गरेको भए रबीहरूको बोली र व्यवहार कस्तो हुन्थ्यो होला? सर्वसाधारणहरू के भन्थे होलान् ? अनुमान गर्न कठिन छ किनभने जनता भ्रम र आक्रोशमा छन्। आज रबीका बचाउमा भिड तयार गर्न खोजिँदै छ जसरी शालिकराम पुडासैनी आत्महत्या काण्डमा भिड प्रयोग गरिएको थियो। यसबाट स्पष्ट हुन्छ, निलो क्रान्तिको लक्ष्य कानुनविपरीतका काम, ल्ब्याकमेलिङ र ठगीहरूमा संलग्न रबीलाई जोगाउँदै बाह्य रणनीतिअनुसार नेपाललाई कमजोर बनाउने गतिविधि सफल बनाउनु हो। त्यसैले त अहिले कोही निरङ्कुशताको लौरो देखाउँदै छन् त कोही भ्रमको घण्टी बजाउँदै छन्।

दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालले जमानतमा जेलबाट छुटेर म भ्रष्टाचारी होइन भन्नु र नेपालमा रबी लामिछानेले म सहकारी ठगीमा संलग्न छैन भन्नु एउटै हो किनभने न केजरीवालले अदालतबाट सफाइ पाएका हुन् न त रबी लामिछानेले। रबी त कानुनी प्रक्रियामा नै गएका छैनन् तैपनि क्लिन रे!

त्यतिबेला सन् २०१४ मा जेलेन्स्कीको युक्रेनमा कम चर्चा थिएन, युक्रेनीयनहरूले जेलेन्स्कीलाई चिनेनन्, यतिबेला युक्रेनको हालत हामीले देखिरहेका छौँ। आज युक्रेनबाट सिकेर हामीले नेपाली भर्सनका जेलेन्स्कीलाई चिन्नुपर्छ किनभने सवाल देशको छ। त्यसैले निलो क्रान्तिको भ्रमित र खराब भाष्यमा नपरी आफू जोगिने र देशलाई जोगाउने राजनीतिको पक्षमा उभिएर लोकतन्त्रलाई परिपूर्ण बनाउने अभियानमा जोडिनु पर्छ।

आज रबीको निलो क्रान्तिको हल्लाले “कतै रबी लामिछानेले जिबी राईमार्फत सहकारीको पैसा गोर्खा मिडिया नेटवर्कमा ल्याएर त्यसको अपचलन गरी रास्वपा बनाउन, चलाउन र आफू नेता बन्न प्रयोग गरेको त होइन भन्ने प्रश्न उठेको छ।” तैपनि हाम्रो दास मनोविज्ञानले प्रश्न गर्नेभन्दा रबीको बचाउमा आफ्नो सामर्थ्य प्रयोग गर्दैछ किनभने दासहरूको धर्म मालिकको सेवा गर्नु हो अन्यथा रबीमाथि प्रश्न उठ्दा त्यसको सही उत्तर खोज्ने थियौँ न कि भ्रमहरूमा रमाउँथ्यौ।

अन्तमा कुनै पनि निरङ्कुश शासकले जनतालाई शिक्षित र ज्ञानी बनोस् भन्ने चाहँदैनन्, उनीहरू जनतालाई भ्रममा पारेर दास बनाउन चाहन्छन्। रबी त्यही प्रवृत्तिको शासक बन्न खोज्दैछन्। जनता शिक्षित र बुद्धिमान भए कुनै पनि शासकबाट शोषणमा पर्दैनन्, त्यसैले हामीले दासत्वको अन्त्य गर्नको लागि हाम्रो शिक्षा प्रणालीमा आमूल सुधार गरी लगानी बढाउँदै जनतालाई निलो क्रान्तिजस्ता भ्रमहरूबाट मुक्त बनाउनु पर्छ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ३ : ४१ बजे