आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

भक्तपुरलाई पर्यटकीय गन्तव्यको रूपमा थप स्थापित गरिने छःअध्यक्ष श्रेष्ठ

भक्तपुर । भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष कविदास श्रेष्ठले ‘भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’ले भक्तपुरलाई पर्यटकीय गन्तव्यको रूपमा थप स्थापित गर्ने विश्वास व्यक्त गरेका छन्।

मङ्गलबार नेपाल प्रेस सोसाइटीसँगको साक्षात्कार कार्यक्रमका बोल्दै अध्यक्ष श्रेष्ठले भने, ूमहोत्सवको उद्देश्य आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्नुका साथै भक्तपुरको व्यापारिक गतिशीलतालाई बलियो बनाउनु हो। महोत्सव भक्तपुरको आर्थिक गतिविधि सशक्त बनाउने र आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्ने एउटा लाइफलाइन साबित हुनेछ,” अध्यक्ष श्रेष्ठले भने। उनले भक्तपुरजस्तो ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिएको सहरमा एउटा स्थायी प्रदर्शनी स्थलको खाँचो रहेको र यसले थप पर्यटक भित्र्याउन मद्दत गर्ने पनि बताए।
महोत्सवमा १५० भन्दा बढी स्टलहरू राखिने तयारी छ। यी स्टलहरूमा दैनिक उपभोग्य सामग्री, विभिन्न प्रकारका लत्ताकपडादेखि अन्य वस्त्र, हस्तकला, र स्थानीय उत्पादनहरू प्रदर्शन गरिनेछन्। साथै, महोत्सवमा बालबालिकाहरूका लागि बाल उद्यान, रोटेपिङ, डागन रेल, बोटिङ, मिक्की माउस, ट्र्याम्पोलिन लगायतका मनोरञ्जनात्मक खेलहरू पनि राखिएका छन्, जसले महोत्सवलाई परिवारका लागि आकर्षक गन्तव्य बनाउने अपेक्षा गरिएको छ।
यसका साथै, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको साङ्गीतिक प्रस्तुति महोत्सवको मुख्य आकर्षणमध्येको एक हुनेछ। स्थानीय सांस्कृतिक कला र परम्परालाई प्रवर्द्धन गर्न महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत राखिने योजना छ। राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनको नेतृत्वमा रहेको टोलीले पनि महोत्सवमा आफ्ना आविष्कारहरू प्रस्तुत गर्ने जनाइएको छ, जसले नव प्रवर्तनलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
११ दिनसम्म चल्ने यो महोत्सवमा करिब २ लाख ५० हजार दर्शकहरूको सहभागिता रहने अनुमान गरिएको छ। यसले महोत्सव अवधिभर करिब १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ, जसले भक्तपुरको व्यापारिक गतिविधिमा ठूलो योगदान पुर्‍याउनेछ। महोत्सवले स्थानीय व्यवसायलाई प्रवर्द्धन गर्दै भक्तपुरलाई पर्यटकीय गन्तव्यको रूपमा थप स्थापित गर्ने उद्देश्य राखेको छ।
सांस्कृतिक महत्त्वका साथै व्यापारिक रूपमा समेत महत्वपूर्ण रहेको यो महोत्सवले भक्तपुरलाई नेपालकै प्रमुख सांस्कृतिक र आर्थिक केन्द्रको रूपमा चिनाउने अपेक्षा गरिएको छ। अध्यक्ष श्रेष्ठले भक्तपुरमा प्रदर्शनी स्थलको आवश्यकता रहेकोमा जोड दिँदै यस्तो किसिमको महोत्सवहरूले आन्तरिक पर्यटनलाई बढावा दिने विश्वास व्यक्त गरे।
उनले यस महोत्सवले आन्तरिक पर्यटनलाई थप जीवन्त बनाउने विश्वास पनि व्यक्त गरे।
त्यसैगरी कार्यक्रममा बोल्दै राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मनोज थापाले दशैँको बेलामा मेला महोत्सव पैसा कमाउने भन्दा पनि आम उपभोक्ताको हितलाई मध्यनजर गरि सबै सामान सर्वसुलभ मूल्यका साथै गुणस्तरमा पनि ध्यान दिनुपर्नेतर्फ जोड दिए।

भक्तपुर चेम्बर अफ कमर्सको आयोजना र सगुन इभेन्ट म्यानेजमेन्ट प्रा।लि। को व्यवस्थापनमा असोज ९ गतेदेखि १९ गतेसम्म सल्लाघारी चौरमा महोत्सब आयोजना हुदैछ।

सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चारकर्मी रोशन थापाले गरेका थिए ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  २ : २६ बजे