मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भद्रपुर (झापा)।झापाको विर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत विर्तामोड नगरपालिका–६ कुमारी चोकस्थित प्र१–०१–०१३प २८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री विर्तामोड नगरपालिका–६ बुट्टाबारीका ६२ वर्षीय यामबहादुर लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले बताउनुभयो ।

प्रहरीका अनुसार गएराति उक्त मोटरसाइकलले ठक्कर दिई गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा आज विहान बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । मोटरसाइकल चालक बुद्धशान्ति नगरपालिका–४ का ३२ वर्षीय विकास लिम्बूलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको छ ।

बसको ठक्करबाट मृत्यु

कैलाली– बसको ठक्करबाट गौरीगङ्गा नगरपालिका–९ मसुरियामा सुपप्र ०१–००१ क २४६४ नम्बरको बसले ठक्कर दिँदा ८४ वर्षीय हर्कबहादुर बमको मृत्युु भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिनुभयो ।

सोमबार साँझ सडकमा बाटो काट्ने क्रममा बमलाई बसले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनको धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बस र चालक गौरीगङ्गा–९ का ४५ वर्षीय नारायणबहादुर भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ८ : ४१ बजे