सुनको मूल्यमा नयाँ कीर्तिमान

पत्रकार महासंघको निर्वाचन हुन नसकेकोमा सर्वोच्च अदालतले माग्यो जवाफ

काठमाडौं । सर्वोच्च अदालतले नेपाल पत्रकार महासंघको निर्वाचन तोकिएको समयमा हुन नसक्नुको कारणबारे लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ ।

धुव्रप्रसाद चौलागाईले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले तोकिएको समयमा निर्वाचन गर्न नसक्नुको कारण पत्रकार महासंघलगायत मातहतलाई सोधेको हो । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले रिटलाई अन्तरिम आदेश दिन अस्वीकार गर्दै सबै विपक्षीका नाममा लिखित जवाफ मागेको हो ।

वर्तमान कार्यसमितिले तोकिएको समयमा निर्वाचन गर्न नसकेपछि चौलागाईंले आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए। नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका-९ सिनामंगल, नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समिति काठमाडौं महानगरपालिका, ९ सिनामंगल, प्रेस काउन्सिल नेपाल काठमाडौं महानगरपालिका-९ सिनामंगल , नेपाल पत्रकार महासंघ वागमती प्रदेश कार्यालय मुकाम मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं. ४ र नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुर मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं.११ लाई रिटमा प्रतिवादी बनाइएको छ ।

नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम हाललाई स्थगित भएको छ। यसअघि नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि असोज १२ गते निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको थियो ।

मतदाता नामावलीमा भएको विवादका कारण पटक-पटक निर्वाचन मिति तोकिएपनि महासंघको निर्वाचन प्रभावित हुँदै आएको छ। महासंघको निर्वाचन समयमा गर्न नसकेपछि महासंघका अध्यक्ष विपुल पोखरेल र कार्यवहाक अध्यक्ष रमेश विष्टले राजीनामा दिनु भएको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ७ : ४४ बजे