सुनको मूल्यमा नयाँ कीर्तिमान

चक्रपथकर्मी नेपाल सहित दर्जनौ पत्रकार सम्मानित र पुरस्कृत

काठमाडौ । प्रेस काउन्सिल नेपालले चक्रपथकर्मी बालुकुमार नेपाल सहित अग्रज पत्रकारहरूलाई सम्मान गरेको छ । काउन्सिलको ५५ औ बार्षिकोत्सवको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्मना गर्नुभएको हो ।

सम्मानित हुने अन्य पत्रकारहरुमा ज्ञान उदास, देवेन्द्र चुँडाल, के.बि. मसाल, चित्राङ्ग थापा, बलदेव अवस्थी, खगेन्द्र खत्री, हरिविनोद अधिकारी, उषा लोहनी, खुर्शिद आलम, विष्णुप्रसाद सुवेदी, बोधराज त्रिपाठी, प्रमोदकुमार सिंह (दाहाल), ईश्वरीप्रसाद वाग्ले, ईश्वरीप्रसाद काफ्ले र जन्मदेव जैसीलाई हुनुहुन्छ ।

वार्षिकोत्सवकै अवसरमा, काउन्सिलले पूर्वसदस्य र पूर्व सदस्य सचिवलाई सम्मान गरेको छ । पूर्वसदस्य रघुजी पन्त, दिपेन्द्र चौहान, नवलकिशोर यादव, प्रतिक प्रधान र तेजप्रकाश पण्डित र पूर्व सदस्यसचिव रघुराम विष्टलाई सम्मान गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राजनीतिक परिवर्तन, सामाजिक रूपान्तरण र आर्थिक विकासमा नेपाली पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय भएको बताउनुभयो ।

आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आमसञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रतिफल जनताको घर, आँंगनसम्म पु-याउने कामका लागि शासन सञ्चालनमा बसेकाहरूलाई घच्घचाएर लोकतन्त्रप्रति जनताको भरोसा अभिवृद्धि गर्ने काममा तपाईँहरूले अझै जिम्मेवार भएर काम गर्नुहुनेछ भन्ने पनि मैले विश्वास लिएको छु ।”

राष्ट्रपति पौडेलले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिताबिना लोकतन्त्र सुदृढ हुन नसक्ने भन्दै यही कारणले पत्रकारितालाई चौथो अङ्गका रूपमा सम्मान प्राप्त भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “जिम्मेवारीपूर्ण, सन्तुलित र तथ्ययुक्त सूचना सम्प्रेषणबाट मात्र राज्यको चौथो अङ्गको रूपमा पत्रकारिता जगतले पाएको सम्मानलाई जीवन्त राख्न सक्दछ ।”

नेपाली पत्रकारहरू सचेत र सजग भएको विश्वास गर्दै उहाँले जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेही सरकार यी तीन वटै लोकतन्त्रका आधारस्तम्भ भएको उल्लेख गर्नुभयो । उहाँले प्रेसको स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथि कतैबाट प्रश्न उठ्न नदिन काउन्सिल स्वयमले निष्पक्ष, स्वतन्त्र तथा सिर्जनात्मक भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “‘पत्रकारिताको विश्वसनीयता कायम राख्न र प्रेस स्वतन्त्रताको सदुपयोग गर्न काउन्सिलजस्ता निकाय स्थापना गरेर समयानुकल आचारसंहिता बनाउने तथा कार्यान्वयन भएनभएको अनुगमन गर्ने जिम्मेवारी प्रदान गरिएको हो ।”

राष्ट्रपति पौडेलले सूचना प्रविधि र इन्टरनेटको विकाससँगै अनलाईन न्यूजपोर्टल र सामाजिक सञ्जालको विकासले तीव्र सूचना प्राप्त गर्ने आममानिसको चाहनालाई पूरा गर्न मद्दत गरेको बताउनुभयो । सत्यतथ्य, आधिकारिक र विश्वसनीय सूचना सम्प्रेषण नै आमसञ्चार माध्यमको व्यवसायिक र प्राथमिक दायित्व भएको उहाँले स्मरण गराउनुभयो ।

उहाँले न्यू मिडिया र बढ्दो सामाजिक सञ्जालसँगै तीव्र सूचना सम्प्रेषण गर्ने प्रतिस्पर्धाले गलत सूचना प्रवाह हुनेतर्फ सचेत हुनुपर्ने आजको आवश्यकता भएको बताउँदै यसतर्फ प्रेस काउन्सिलजस्ता अनुगमनको जिम्मेवारी पाएको अभिभावकीय संस्थाले प्रमुख र प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले सञ्चारसम्बन्धी केही कानुन समयानुकुल नभएकाले यसमा संसोशन आवश्यक रहेको बताउनुभयो । सरकार अहिले सामाजिक सञ्जालकोे सञ्चालन र व्यवस्थापनसम्बन्धी कानुन निर्माणमा लागेको उहाँले बताउनुभयो । सार्वजनिक सेवा प्रसारण ऐन पारित भइसकेको र मिडिया काउन्सिल विधेयक छलफलको क्रममा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अब बन्ने कानुनमा मिडिया निरपेक्ष स्वतन्त्र र स्वायत्तसँगै मर्यादित बनाउने कुरा समावेश हुन आवश्यक छ ।”

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नकारात्मकता र गालीको संस्कृति हटाएर रचनात्मक र सहकार्यको विकासमा लाग्दा मात्र देशमा हरियाली आउने बताउनुभयो । पत्रकारिता बलियो भए देशमा अस्थिरता हटाउन बल पुग्ने र यसले पत्रकारिता फस्टाउने बताउनुभयो ।

काउन्सिलले आफ्नो ५५औँ वार्षिकोत्सवका अवसरमा प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार अखण्ड भण्डारी र नेपाल प्रेस इन्स्यिच्युट (एनपीआई) लाई संयुक्त रूपमा प्रदान गरेको छ । प्रेस काउन्सिल आचारसहिंता पुरस्कार रातोपाटी डटकमले प्राप्त गरेको छ भने यस वर्ष प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार बद्री सिग्देलले प्राप्त गर्नुभएको छ ।

प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार पत्रकारत्रय कान्तिपुर दैनिकका होम कार्की, प्रकाशचन्द्र तिमिल्सेना, कान्तिपुर टेलिभजिनका श्याम श्रेष्ठले प्राप्त गर्नुभएको छ । कैलालीका पत्रकार शिवराज भट्ट र सुनसरीका पत्रकार लिलाराज भट्टराईले पनि प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ११ : ११ बजे