जलवायु परिवर्तनले विश्वव्यापी रूपमा पारिरहको असरहरूका बारेमा थप अनुसन्धान गर्न, चेतना जगाउन र दबाब सिर्जना गर्न आजकल सेमीनार, गोष्ठी, कार्यशाला, ¥याली जस्ता कार्यक्रम सघन रूपमा भइरहेका छन् । यसवापत अथाहा धनराशी खर्च भइरहेको छ । तर जलवायु परिवर्तन न्यून हुन सकिरहेको छैन । त्यसैले राज्यहरू, नीतिनिर्माता, अनुसन्धानकर्ता र सर्वसाधारण जनता चिन्तित भएको पाइन्छ । एउटा रोचक कुरा चाहिँ के छ भने जलवायु परिवर्तन के कारणले भइरहेको छ त्यो बुज्रुकवर्गलाई राम्ररी थाहा छ र चर्चा हुँदाहुँदा सर्वसाधारणको ठूलो पंक्तिलाई पनि जानकारी भइसकेको छ । सत्य केहो भने तीब्र जलवायु परिवर्तन मानिसका कारणले भइरहेको छ र यसको समाधानका लागि उसैले तदारुकता नलिई संभव छैन । तर समस्याको गहिराईमा पुगेर समाधानका निम्ति आएका निष्कर्षहरूलाई कार्यान्वयन तहमा लैजान जिम्मेवार निकायलाई जाँगर लागेको देखिँदैन । यो भने विडम्बनाको विषय बनेको छ ।
आजभन्दा ७ सय वर्ष पहिले मोरक्कोका पर्यटक इब्न बतुताले मध्यपूर्व, उत्तर अमेरिका, भारत र चीनको भ्रमण गरे र आत्मवृतान्त समेत लेखे । पुस्तकको नाम ‘द ट्राभल्स अफ इब्न बतुताः नियर इष्ट, एशिया र अफ्रिका १३२५–१३५’ हो । भनिन्छ कि, सर्वप्रथम हिन्दु–कुश शब्द प्रयोग गर्ने बतुता हुन् र उनका अनुसार भारतीय उपमहाद्वीपका हिन्दू दासहरूलाई इस्लाम व्यापारीहरूले भारतबाट तुर्कस्तान लैजाने क्रममा पहाडको कठोर हावापानीमा मरे । त्यहि भएर हिन्दू–कुश भनियो । हिन्दु–कुश भनेको हिन्दू हत्यारा भनेको हो । हिमाल पहाडको अप्ठ्यारो हुँदा हुँदै पनि हिन्दु–कुश क्षेत्र त्यही बेला देखि नै चहलपहल हुने, व्यापार व्यावसाय गर्ने थलोको रूपमा रहेको स्पष्ट हुन्छ ।
हिन्दु–कुश हिमालय क्षेत्रमा अफगानिस्तान, बङ्गलादेश, भुटान, चीन, भारत, म्यानमार, नेपाल र पाकिस्तान पर्दछन् । यो भूभाग पश्चिममा अफगानिस्तानदेखि पूर्वमा म्यानमारसम्म ३५०० किलोमिटर फैलिएको छ । दुई अरब जनसंख्या बसोबास गर्ने यो क्षेत्रमा बौद्ध, हिन्दु, इस्लाम आदि धार्मिक साँस्कृतिक सम्प्रदायको बाहुल्यता रहेको छ । यस अन्तर्गत विविधतापूर्ण रहनसहन, व्यवहार, खानपान प्रचलनमा छन् । अर्थात् यहाँको भौगोलिक अवस्था अनुसार अनेकाैँ शैलीहरू विकसित भएका छन् । यी सबै साँस्कृतिक सम्पदाको जगेर्ना हुनका लागि यहाँको जैविक विविधता सदा कायम भइरहनु पर्दछ अन्यथा ती लोप भएर जानेछन् र मौलिकता गुम्नेछ ।
तीब्र जलवायु परिवर्तन हिन्दु–कुश क्षेत्रको सामाजिक आर्थिक विकासको निम्ति चुनौती बनिरहेको छ । यस्तो परिवर्तनले यहाँ रहेको हिउँ पग्लिने, हिमताल फुट्ने, व्यापक रूपमा हावाहुरी चल्ने, बाढि पहिरो जाने कुराहरू सामान्य बनिरहेका छन् । यसबाट ठूलो मात्रामा जनधनको क्षति समेत भइरहेको छ । यस्तो परिवर्तनले कृषि प्रणालीमा नकारात्मक असर पारेर उत्पादन र उत्पादकत्व समेत न्यून पार्दै लगेको छ । चाहिएको बेलामा वर्षा नहुने तर नचाहिएको बेलामा अधिक पानी पर्ने प्रवृत्तिले फसल लगाउन अप्ठ्यारो र उब्जिएको अन्नपात समेत पानी र हावा हुरीले नाश गर्ने गरेको छ । फलस्वरूप यस क्षेत्रका वासिन्दाले खाद्य संकटको सामना गर्नुपरिरहेको छ ।
हिन्दु–कुश क्षेत्रका हिमालको रक्षा तथा पर्यावरण तथा जनजीविकाको प्रवद्र्धनका लागि सरकारी तथा गैरसरकारी तहबाट कार्यहरू भने नभएका होइनन् । यस क्षेत्रको वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको संस्था अन्तर्र्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) एउटा अग्रणी निकाय हो । गत हप्ता नेपाल प्रकृति संरक्षण कोष, ईसिमोड लगायतका संस्थाको आयोजनामा दुईदिने अन्तर्राष्ट्रिय गोष्ठी ललितपुरमा आयोजना भएको थियो । पंक्तिाकार समेत सहभागी सो कार्यक्रममा उक्त प्रतिष्ठित संस्थाका नेपालस्थित प्रमुख डा। पेमा ध्याम्ट्सोले यहाँ जलवायु परिवर्तनले पारेका अनेकौँ नकारात्मक असरहरूको बारेमा चर्चा गर्दै जलवायु अनुकूलनका निम्ति अनेकौँ नीति तथा कार्यक्रम राज्यहरूसँग, गैरसरकारी संस्थाहरूसँग नभएका होइनन् तर कार्यान्वयन फितलो रहेको कुरा बताए ।
ईसिमोडले ‘हिन्दुकुश क्षेत्रमा खाद्य तथा पोषणको सुरक्षा (२०१९)’ विषयमा प्रकाशित गरेको प्रतिवेदनका अनुसार खाद्य तथा पोषणको अवस्था गम्भीर रहेको छ । कुल जनसंख्याको ३०५ भन्दा बढी खाद्य असुरक्षाबाट ग्रस्त छन् र लगभग ५० प्रतिशत महिला र बच्चाले कुनै न कुनै प्रकारको कुपोषणको सामना गरिरहेका तथा दुःख पाइरहेका छन् । यस क्षेत्रको खाद्य र पोषण असुरक्षाका कारणहरू बहुआयामिक र जटिल छन् । उच्च गरिबी, प्राकृतिक स्रोतको ह्रास, जलवायु परिवर्तन, न्यून बजार विकास, अनिश्चित खाद्य सहायता, अपर्याप्त नीति र संस्थागत संरचनाको अभावजस्ता कारणले यहाँका जनताको खाद्य अधिकार हनन् भइरहेको छ । परम्परागत पहाडी खाद्य प्रणालीहरू तीव्र सामाजिक आर्थिक तथा वातावरणीय परिवर्तनबाट खतरामा परेका छन् । जुन यस क्षेत्रमा रहेको खाद्य तथा साँस्कृतिक पर्यटनो आधारको रूपमा रहेको छ ।
हिन्दु–कुश क्षेत्रका सबै मुलुकहरूमा कुनै न कुनै रूपमा खाद्य सुरक्षाको अधिकारलाई संविधान तथा कानूनले संरक्षण गरेका छन् । नेपालम खाद्य अधिकार, खाद्य सुरक्षाको अधिकार तथा खाद्य सम्प्रभूताको अधिकारलाई संविधानको मौलिक अधिकारमा समाविष्ट गरेर यस सम्बन्धी ऐन नै आएको छ । यस क्षेत्रको सबैभन्दा ठूलो र विश्वकै सबैभन्दा बढि जनसंख्या भएको मुलुक भारतको संविधानले जीवनको अधिकार संरक्षित गरेको छ र सर्वोच्च अदालतले जीवनको अधिकार अन्तरगत खाद्य अधिकार समेत पर्दछ भनेर व्याख्या गरेको छ र खाद्य सुरक्षा सम्बन्धी ऐन पनि जारी भइसकेको छ । भुटान विश्वमा खुसी भएका नागरिकहरू भएको देशभित्र नै पर्दछ । साथै, अरु देशका नीति, संविधान, कानून, कार्यक्रम आदिले खाद्य सुरक्षाको अधिकारलाई उच्च प्राथमिकतामा पारेका छन् ।
विश्वस्तरमै आज जलवायु परिवर्तन चिन्ताको विषय बनेको छ । जनजीविका, दैनिकी, स्वास्थ्य र अनेकाैँ पेशा तथा व्यवसायलाई प्रतिकूल पभाव पारेको छ । जीवनको आधारको रूपमा रहेको कृषि प्रणालीलाई व्यापक क्षति पु¥याइरहेको छ । कृषि उत्पादन र उत्पादकत्वमा ह्रास आउँदा खानका लागि आवश्यक पर्ने खाद्यपदार्थको अभाव हुँदै गइरहेको छ । हिन्दु कुश क्षेत्रका नदीका पानीका स्रोतहरू जो हिउँ हो जलवायु परिवर्तनले पग्लिइरहेको छ । यसरी हिउँ पग्लिँदा नदीमा तत्काल पानीको बहाव बढेर बाढी पहिरो जान्छ तर त्यो दिगो नहुँदा सिचाई, खानेपानी आदिको लागि संकट पर्दै जान्छ । यसरी अन्ततः जलवायु परिवर्तनले खाना तथा पानीको उपलब्धमा नै ह्रास ल्याउँछ । यसबाट मानिसको खाद्यान्नको अधिकार, जो मानव अधिकारको रूपमा रहेको छ, यसको हनन् हुन पुग्दछ । त्यसैले हिन्दु–कुश क्षेत्रको दिगो पर्यावरणका लागि यस क्षेत्रका सबै देशहरुको पर्याप्त ध्यान जानु पर्दछ ।
प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार ५ : ४४ बजे
प्रतिक्रिया