मन्त्रिपरिषद् बैठक बस्दै

सम्पादकीय

तीन करोड नेपालीको मुटु भित्र फक्रिरहेको नेपालको संविधान

जसले जन्मायो उसैलाई नै त्यो सन्तानको बढी माया हुन्छ । यो प्रकृतिले दिएको उपहार हो । हुन त एउटा आमाका अगाडि सबै सन्तान बराबर हुन्छन् भनिन्छ  त्यो सही नै होला । तर आफैले जन्माएको सन्तानलाई कसैले घोच्यो या चलायो भने आमाले ऐया भन्छिन् प्रतिकार गर्छिन् । सबैभन्दा बढी उनैलाई दुख्छ । 

ठिक त्यसै गरी नेपाली जनताले अनेक सङ्घर्ष गरेर दुःख गरेर जन्माएको  नेपालको संविधान २०७२ अहिले नेपाली माटोमा ममताका साथ हुर्की रहेको छ । सार्वभौम जनताले जन्माएको यो संविधानलाई कसैले घोच्यो भने नेपाली जनताले ऐया भन्दै खबरदारी गरिरहेका छन् । एउटी आमालाई सन्तान जन्माउँदाको जति प्रस्रव पीडाको अनुभव हुन्छ, त्यति नै संविधान जन्माउँदाको प्रस्रव पीडा नेपाली जनतालाई छ । त्यसैले यो संविधान तीन करोड नेपालीको मुटुभित्रको बगैँचामा फक्रिरहेको फूल बनेको छ । र बनिरहने छ । 

नेपालको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको एक दशक पुरा भएको छ । अर्थात् यस बेला हाम्रो संविधान बाल सुलभबाट वयस्कतर्फ लम्किरहेको छ । यस दौरानमा   धेरै तर्फबाट संविधानमाथि काला नजर लगाउने प्रयास नभएका होइनन् । तर जनताले ती काला नजरको प्रतिवाद गरेर नेपालको संविधानलाई रक्षा गरिरहेका छन् । 

नेपाली जनताले लामो बलिदान गरेर प्राप्त यो संविधान अहिले एक दशक पुरा भएको छ । स्वाभाविकै हो, यो एक दशकमा हरेक विषयमा उतार चढाव आएका छन् । जसरी गर्मी मौसममा लगाएको पातलो लुगाले जाडो मौसममा काम गर्दैन, बाक्लो चाहिन्छ, त्यसै गरी संविधानलाई पनि हरेक हिसाबले समयनुकल बनाउनु स्वाभाविक हुन्छ । यो नेपालमा मात्र चलेको चलन होइन, संसार भरिको रित हो । 

दश वर्ष अघिको नेपाली समाज र आजको नेपाली समाजको  अवस्थामा राजनीति, संस्कृति, र चेतना स्तर वृद्धि भएको छ । अर्थात् हिजोको समय भन्दा धरै कदम अगाडि तिनीहरू पुगी सकेका छन् । सानो बच्चालाई खुवाउने गरेको ‘क्याप्सुलको डोज’ जसरी ठुलो भएपछि परिवर्तन गर्नुपर्छ  त्यसै गरी संविधानले पनि बेला बेलमा यो आवश्यकता महसुस गर्नु स्वाभाविकै हो । त्यसै कारण एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारले संविधान संशोधनबारे  छलफल चलाएको बुझ्न कठिन छैन । 

गएको असार १७ गते एमाले र नेपाली कांग्रेसबीच भएको सात बुँदे सहमतिले नेपालको संविधानलाई समयानुकूल परिवर्तनको बाटोतर्फ डोर¥याउन लागेको महसुस सबैले गरेका छन् । त्यसैले लोकतान्त्रिक गणतन्त्रको आन्दोलनमा  लामो सङ्घर्ष गरेका विशेष गरी सत्तारुढ दलहरूबीच भएको संविधान संशोधनको एजेन्डामा विरोध गर्नु समयलाई नबुझ्नु हो भन्दा अत्युक्ति नहोला ।

संविधान जारी भएको एक दशकमा बागमतीमा धेरै पानी बगिसकेको छ । समय र प्रविधिले फड्को मारेको छ । मानिसको चेतनाले अग्लो पहाड नाघी सकेको छ । त्यसै गरी आर्थिक, सांस्कृतिक, सामाजिक र चेतना स्तर पनि धेरै अगाडि बढिसकेको छ । तीनै विषयलाई मध्यनजर गरेर संविधानलाई समयानुकूल बनाउनु आजको आवश्यकता हो भन्ने कुरा तथ्यहरूले प्रस्ट पारेको छ ।

एक दशकको दौरानमा अहिलेको संविधानले धेरै अनुभव हासिल गरेको छ । तीन तहको  सरकारको अभ्यास गरेको छ । कार्यपालिका र न्यायपालिकाका  बिषयमा अनेक अनुभव बटुली सकेको छ । प्रयोग र अनुभवका हिसाबमा यो संविधानभित्र रहेका कमजोरीलाई प्रयोग गरेर यसैमाथि आक्रमण गर्ने प्रयास नभएका होइनन् । त्यसैले अब त्यस्ता कमजोरीलाई संशोधन गरेर अगाडिका दिनमा सुखी नेपाली र समृद्ध नेपालको बाटोमा लाग्नुको विकल्प छैन ।  

जसले यो संविधान ल्याउन कुनै भूमिका निर्वाह गरेनन् उनीहरू अहिले पनि यो संविधानले दिएको उपलब्धिमा टेकेर रमाइरहेका छन् । त्यति मात्रै हैन, संविधानले दिएका अधिकारहरू प्रयोग गरेर यो संविधान ल्याउन नेतृत्व गर्ने नेताहरूमाथि आलोचना र आक्रमण गर्ने प्रयास गरिरहेका  छन् । हिजो  राजाको गुणगान नगाए बापत जसरी जेल हालिन्थ्यो, तर अहिले त्यस्तो छैन । र पनि विरोध ? आखिर किन र केकालागि ? गम्भीर प्रश्न पैदा भएको छ । 

पछिल्लो समय अहिलेको परिवर्तनलाई आत्मसात् गर्न नसक्नेहरूले लोकतान्त्रिक गणतन्त्र र तीनका नेताहरूमाथि अनेक कोणबाट आक्रमणको असफल प्रयास गरिरहेका छन् । सामाजिक सञ्जालमार्फत परिवर्तनको महत्त्व नबुझेका केही तत्त्वहरूले अहिलेको पुस्तालाई प्रयोग गर्न खोजी रहेका छन् । जब कि, उनीहरू नजन्मँदै अघिल्लो पुस्ताले ल्याइदिएको लोकतान्त्रिक गणतन्त्र देशमा बहाल थियो । 

वास्तवमा भन्ने हो भने संसारमा दलविहीन र नेतृत्व विहीन समाज  हुँदैन । अहिले एकाथरि परिवर्तन बिरोधी शक्ति नेता र दलहरुको विरोधमा बिभिन्न कोणबाट देखिएका छन् । अहिलेको संविधानले  आफूलाई लागेको कुरा भन्न कतै रोकेको छैन । कुनै गतिविधिमा रोक लगाएको छैन । संविधान मान्दिन भन्ने छुट पनि यही संविधानले दिएको छ । नेताहरूलाई आलोचना गर्ने छुट पनि यही संविधानले दिएको छ । कसैले भ्रष्टाचार गरे पनि त्यसलाई कानुनी कठघरामा ल्याउने बाध्यता पनि यही संविधानले दिएको छ । 

संसारमा सबैभन्दा ठुलो शक्ति भनेको सार्वभौम जनता हुन् । जनताले ल्याएको संविधान भन्दा अरु कुनै अमुक शक्तिले ल्याएको संविधान उत्कृष्ट हुन्छ भन्ने कुरा कल्पना पनि गर्न सकिन्न । त्यसैले वर्तमान संविधानलाई समय सापेक्ष बनाउने दिशामा सबै राजनैतिक दल, आम नेपाली जनतामा प्रेरणा मिलोस्, संविधान दिवस २०८१ सालको सबैमा शुभकामना ।

जनता अझै शक्तिशाली छन्, र शक्तिशाली रहने छन्। 

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  २ : ११ बजे