लोकतन्त्रमाथि दक्षिणपन्थी र वामपन्थी अतिवादको खतरा

वामपन्थी अतिवादले दक्षिणपन्थी अवसरवादलाई सघाउँछ भने दक्षिणपन्थी अतिवादले वामपन्थी अवसरवादलाई!

समयको आवश्यकता, देशको क्षमता र जनताको चेतना र इच्छा नबुझ्ने राजनीतिमा विचार, नेतृत्वमा जबाफदेहिता र चरित्र हुँदैन। त्यसैले त उनीहरू भ्रमपूर्ण भाष्यको साहारामा भिड जम्मा गरेर आफू लोकप्रिय देखिन र हिजोका आफ्ना बदमासी लुकाउन पुराना जति सबै बेठीक नयाँ जति ठिक भन्ने गलत भाष्य व्यापक बनाउन सक्रिय छन्। यो भाष्य व्यापक बनाउन बहर अर्थात् बालेन, हर्क र रबीहरू अघोषित रूपमा मिलेर लागेका छन्। यसको पछि-पछि वामपन्थी अतिवाद अर्थात् माझण्ड अर्थात् माधव, झलनाथ र प्रचण्ड अनि दक्षिणपन्थी अर्थात् राजावादीहरू हिँड्न खोजेका छन्। प्रमाण उपसभामुखको बचाउ!

विश्व राजनीतिक इतिहास साक्षी त दक्षिणपन्थी र वामपन्थी अतिवादले एकअर्कालाई बलियो बनाउन सघाएको देखिन्छ। यो कुरो नेपालमा पनि हामीले अनुभव गर्न पाइरहेका छौँ। जसका कारणले गर्दा नेपालको लोकतन्त्रलाई परिपूर्ण बनाउने राजनीतिक विचार, दल र नेतृत्व बलियो बन्न पाएको छैन। अनि व्यवस्थामाथि प्रश्न उठिरहेको छ। त्यसैले

असम्भवलाई सम्भव बनाऔँ,

पछौटेपन र विभेदलाई छोडौँ।

वैचारिक राजनीति नै रोजौँ,

चरित्रवान् र नैतिकवान नेतृत्व चिनौँ।

नेपालमुखी नीति बनाउन थालौं,

गतिविधिहरू देश केन्द्रीत गरौँ।

भ्रमित र गलत भाष्यमा नपरौँ,

दातामुखी नीतिहरू बदलौँ।

रूप र सार पक्ष छुट्टाउन सकौँ,

लोकतन्त्रलाई परिपूर्ण बनाउन सिकौँ।

यतिबेला हामीले बुझ्नुपर्छ, “परिपूर्ण लोकतन्त्रमा सधैँ समावेशी र शक्तिशाली हुन्छ।” आज नेपालको राजनीतिमा देखिएको समस्याहरूको समाधान गर्नका लागि वैचारिक राजनीति अनि चारित्रवान र व्यावहारिक नेतृत्वलाई अघि लगाउनु पर्छ। हामी भ्रमपूर्ण भाष्य र त्यसले तयार गरेको भिडको भाषाबाट टाढा हुन सक्नुपर्छ। राजनीतिमा गति अस्वाभाविक रूपमा धेरै भयो भने सम्पर्क कम क्षति बढी हुन्छ। अहिले नेपालमा भएको पनि यही हो। सञ्जालीय चर्चा र सम्पर्कको राजनीति दिगो पनि हुँदैन। यो कुरो जनतालाई बुझाउन सकिएको छैन।

एउटा कुरो हामीले हेक्का राख्नुपर्छ, यदि समाजले अराजकता र स्वछन्दता स्विकार्छ, विचारहीन राजनीति र चरित्रहीन नेतृत्वमा भविष्य देख्छ, भ्रष्टाचारलाई स्वाभाविक ठान्छ, भ्रमपूर्ण भिडको भाषा सुन्छ अनि विभाजन र पलायनमा प्रगति देख्छ भने समाज अझै राजनीतिक रूपमा साक्षर बनेको छैन। अहिले जनतामा देखिएको असन्तुष्टिको जगमा विवेकहीन विद्रोह गर्छौँ भन्ने बहर, माझण्ड र राजावादीहरू कराउँदैछन्। त्यसैले समाजलाई राजनीतिक साक्षरताको आवश्यकता भएको बुझेर सोअनुसार गतिविधिहरू गर्नुपर्ने भएको छ। यसका लागि हामीले वैचारिक सुसंस्कृत राजनीतिक नीति र कार्यक्रमसहित सञ्चार माध्यम र सामाजिक सञ्जालहरूको सकारात्मक र रचनात्मक प्रयोग पनि बढाउनु पर्नेछ।

तर हिजोआज “एकपल्टको नेपाली सधैँको नेपाली” भन्दै भूतपूर्व नेपालीहरूले नेपालको राजनीति प्रदूषित बनाउन अराजकता र स्वछन्दतालाई सहयोग गरी नेपालमाथि घात गरिरहेका छन्। अनि अराजक, स्वछन्द, विचारहीन र चरित्रहीन पात्रका पक्षमा भ्रमको खेती गरेर उनीहरूले हामीलाई झुक्क्याउने र नेपाललाई बाह्य एजेण्डा बोकाउने काम पनि गरिरहेका छन्। फेरि जसको पृष्ठभूमि विवादित र शंकास्पद छ, उसैलाई महान देखाउने प्रयास गर्दैछन्।  राजनीतिमा विचार, त्याग, पृष्ठभूमि र इतिहास केही होइन र आवश्यक छैन भन्दैछन्। प्रश्न उठ्छ, कतै उनीहरू वैश्विक उत्तरको गोटी त बनिरहेका छैनन्?

यतिबेला वैश्विक उत्तर शिक्षा अर्थात् किताब, कापी र कलममा भन्दा हतियार अर्थात् द्वन्द्वमा लगानी बढाएर विश्व अशान्त र असुरक्षित बनाउँदै आफू शक्तिशाली देखिन खोज्दैछ। जसले गर्दा आज वैश्विक दक्षिणले आफ्नो आधारभूत र मुख्य मुद्दामा आफ्नो ध्यान दिन सकिरहेको छैन। पछिल्लो उदाहरणका रूपमा मध्यपूर्वको गाजा र दक्षिण एसियाको बंगलादेशलाई लिन सकिन्छ। नेपालमा त्यही खालको प्रयासलाई सफल बनाउन बहर, माझण्ड र राजावादीहरूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गरिरहेको छ। त्यसैले त आज बहर, माझण्ड र राजावादीहरूको बोली र व्यवहारमा तालमेल देखिएको छ।

यसर्थ हामीले समस्याहरू बुझेर प्राथमिकताका आधारमा यसको समाधान गर्दै राजनैतिक स्थिरतासहित संवैधानिक गतिशीलता सुनिश्चित गरेर समृद्ध देश सुखी जनता बनाउन निम्न कुराहरूमा ध्यान दिन नेतृत्वमाथि दबाब बढाउनु पर्छ।

·       देशको मुख्य मुद्दामा ध्यान दिने

·       दातामुखी नीतिहरू त्याग्ने र देशमुखी नीति बनाउने

·       धारणा, नीति र अभ्यासहरूमा सुधार ल्याउने

·       सकारात्मक र रचनात्मक दृष्टिकोणका साथ अघि बढ्ने

·       विचार, लक्ष्य र नीतिहरू जनतालाई स्पष्ट रूपमा बताउने

·       विचार, नीति र व्यवहारमा तालमेल मिलाउने

·       जनअपेक्षाहरूको प्राथमिकताका आधारमा सम्बोधन गर्ने

यसो गर्न सकियो भने लोकतन्त्र विरोधी शक्तिहरूको मनोबल घट्नुका साथै लोकतन्त्रमाथि दक्षिणपन्थी र वामपन्थी अतिवादीहरूको हस्तक्षेप कमजोर बनाउँदै उनीहरूको राजनीति निष्प्रभावी बनाउन सकिन्छ। हिजो प्रचण्डको नेतृत्वमा मौलाएको वामपन्थी अतिवादमा रमाउन खोज्दा देशको महत्त्वपूर्ण समय दुई दशक, सामर्थ्य र सीमित स्रोतसाधनहरू द्वन्द्वमा प्रयोग भई देश अनपेक्षित रूपमा पछाडि पारियो। आज बहरहरूको नेतृत्वमा दक्षिणपन्थी अतिवाद बलियो बनाएर अराजकता र स्वछन्दाताले जनतालाई भ्रमित बनाउन खोजिदैछ। यो प्रवृत्तिलाई निरुत्साहित गर्न सकिएन भने भोलिका दिनमा लोकतन्त्र र देशको अस्तित्वमाथि नै संकट आउन सक्नेछ।

आज ती विचारहीन, अराजक र स्वछन्द बहरहरू तथ्यहीन आरोप लगाएर नेतृत्वहरूको बदनाम गर्ने खेलामा लागेका छन्। सामाजिक सञ्जालहरूबाट जनतालाई भ्रमित पनि बनाउँदै छन्। लोकतान्त्रिक अधिकारको व्यापक दुरुपयोग पनि गर्दैछन्। वास्तवमा लोकतन्त्रमा अनुशासित भएर स्वतन्त्रतापूर्वक लेख्नबोल्न पाइन्छ तर अराजकता र स्वछन्दता स्वीकार्य हुन्न। तर सञ्जालहरूको दुरुपयोग गरेर भ्रमपूर्ण भाष्यको आडमा लोकतान्त्रिक अधिकारको दुरुपयोग पनि बढ्दो छ। यी पक्षका बारेमा समय मै ख्याल गरिएन भने भोलिका दिनमा अराजक र स्वछन्दहरूले देशलाई अर्को द्वन्द्वमा फसाउने छन्।

त्यतिबेला अर्थात् २०४६ को जनआन्दोलनको परिवर्तनपछि राजतन्त्रसहितको प्रजातन्त्र कमजोर बनाएर अस्थिर बनाउन प्रचण्डको नेतृत्वमा वामपन्थी अतिवादी सोचका साथ क्रान्तिका नाममा हिंसात्मक गतिविधिहरूमाथि लगानी गर्नेहरू यतिबेला लोकतान्त्रिक गणतन्त्र पक्षधर दल र नेतृत्वलाई बदनाम देखाएर गणतन्त्र कमजोर बनाउन बहरहरूलाई अराजक र स्वछन्द गतिविधिहरू गर्न सघाइरहेको छ। मतलब नेपालमा नियन्त्रित अस्थिरता बढाउने उनीहरूको लक्ष्य हो।

अराजकता र स्वछन्दताले सधैँ अस्थिरताको पैरवी गर्छ भने अस्थिरताले देशलाई कमजोर बनाउँछ। आजको आवश्यकता राजनैतिक स्थिरता र संवैधानिक गतिशीलतासहित नेपाललाई दिगो विकासको यात्रामा अघि बढाउनु हो। यो यात्रालाई स्वाभाविक गतिमा अघि बढ्न नदिन हिजो प्रचण्ड तयार गरियो र हिंसा लादियो। त्यसले देशलाई २०औँ वर्ष पछाडि पार्‍यो। आज बहरहरूलाई तयार गरेर अराजकता र स्वछन्दता लाद्न खोजिदैछ।

अब पनि समय छँदै बाह्य षडयन्त्र सफल बनाउन तयार गरेर राजनीतिमा ल्याइएका पात्र तथा प्रवृत्ति अर्थात् वामपन्थी र दक्षिणपन्थी अतिवादीहरूलाई चिन्न र उनीहरूका गतिविधिहरूमाथि विधिसम्मत तरिकाबाट अंकुश लगाउन सकिएन भने एकातिर लोकतान्त्रिक व्यवस्था रहनेछन् भने अर्कातिर बाह्य स्वार्थमा नेपालमा नियन्त्रित अस्थिरता बढाउन नेपाल अर्को बंगलादेश देश नबन्ला भन्न सकिन्न। 

अलमलमा नपरी असल र विवेकी बनौँ र असल नै रोजौँ। लोकतन्त्रमा भ्रम होइन, स्पष्टता आवश्यक हुन्छ। बलजफ्ती होइन, सहमति चाहिन्छ। भद्रगोल होइन, योजनाबद्ध कार्यक्रम लागु गर्नुपर्छ। विचारहीनता होइन, वैचारिक राजनीति चिन्नुपर्छ। भ्रमित भाष्यको खराब होइन, नीति र नैतिकतासहितको असल नेता रोज्नुपर्छ। यसका लागि जनताले असल र खराब राजनीति र नेतृत्व छुट्टाउने ल्याकत देखाउनु पर्छ। त्यहीअनुसार जनताको क्षमता विकास गर्नुपर्छ।

आज राजनीतिक नेतृत्वले बुझ्नुपर्छ, “तपाईँको पदले तपाईँलाई नेता बनाउँदैन। तपाईँको कामले नेता बनाउने छ।” (जुलियस बचम्यान) त्यसैले आफ्नो पार्टीको विचार र राष्ट्रको आवश्यकताअनुसार आफ्ना क्षमताहरू नेताले उपयोग गर्न सक्नुपर्छ। जनताले देश मै केही गर्ने वातावरण बनोस् भन्ने चाहाना राखेका छन्। यो जनताको चाहाना पूरा गरेर जनतालाई आशावादी बनाउनु पर्छ। जनता आशावादी बने भने न वामपन्थी अतिवाद न त दक्षिणपन्थी अतिवादले लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाएर देशको परिस्थितिलाई अराजक अझ बनाउन सक्छ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  १२ : ४१ बजे