राजनीतिक र आर्थिक संकटको समाधान निर्वाचन : सुरेन्द्र पाण्डे

चितवन – नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशको वर्तमान राजनीतिक र आर्थिक संकटको समाधान निर्वाचनबाटै हुने बताउनु भएको छ । सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै पाण्डेले राजनीतिक र आर्थिक रुपले देशको स्थिति गम्भिर अवस्थामा पुगिसकेको बताउनु भएको हो ।

देशको तीनवटै प्रणाली काम गर्न नसक्ने अवस्थामा पुगेको भन्दै उहाँले वर्तमान संकटको समाधान लोकतान्त्रिक प्रणालीबाट नखोजिए गम्भीर संकट पैदा हुने भन्दै वर्तमान संकटको समाधान निर्वाचनबाटै हुने उहाँले बताउनुभयो ।

‘कुनै पनि क्षण देशले निर्वाचनतर्फ जान खोजेको हो कि भन्ने देख्छु’, उहाँले भन्नुभयो , ‘अर्थतन्त्रमा केहि गम्भीर नकारात्मक लक्षणहरू पनि देखापरेका छन् ।’ १४ महिनालाई धान्ने भनिएको वैदेशिक मुद्राको संचिती सात महिनामै अपुग देखिएको बताउनुभयो ।

आयात तीव्र रुपमा बढेर व्यापार घाटा चुलिएको र रेमिट्यान्स घटेको भन्दै उनले अर्थतन्त्रका सबै इन्डिकेटर खराब भइसकेको उहाँले  बताउनुभयो । ‘पर्याप्त वैदेशिक मुद्राको संचिती भएन भने अनेक सर्तमा ऋण लिनुपर्ने अवस्था आउँछ । त्यसका लागि धेरै मूल्य चुकाउनुपर्छ’, उहाँले भन्नुभयो ।

सरकारले भर्खर मात्रै ४० अर्ब ऋण लिन खोजेको भन्दै त्यसले मात्रै नपुग्ने बताउनुभयो । ‘पाँच महिनामा पुंजिगत खर्च ६ प्रतिशत मात्रै छ । सरकारले राजस्व लिइरहेको छ । तर, खर्च गर्न सकेको छैन, जसका कारण बैंकहरूमा तरलताको अभाव भएको छ’, उहाँले भन्नुभयो ।

‘एमसिसीको विषयमा गठबन्धनभित्रै विमति’

मिलेनियम च्यालेन्स कर्पाेरेशन (एमसिसी)को विषयमा सत्तारुढ गठबन्धनभित्रै विमति रहेको पाण्डेले बताउनु भयो । प्रधानमन्त्री र अन्य दलहरु बीच नै गम्भिर असहमति देखिन्छ । ‘यसले नेपालको राजनीतिक संकटलाई थप गहिराउने हो कि भन्ने अवस्था देखा पर्दैछ’, उहाँले भन्नुभयो ।

एमसीसीको विषयमा सत्तारुढ दलभित्रै असमझदारी रहेकाले सत्तारुढ दलले धारणा बनाएपछि मात्र एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने उहाँले बताउनुभयो । एमसीसीको अन्याेलताले वैदेशिक सहायताको विषयमा अमेरिकासँगको सम्बन्ध कमजोर हुन सक्ने पनि उहाँले बताउनुभयो ।

वर्तमान अवस्थाको समाधान बुद्धिमता ढंगले गर्नुपर्ने भएपनि सरकार त्यसतर्फ नलागेको उहाँको भनाइ छ । संकट समाधानका लागि एमालेले सहि ढंगले सहयोग गर्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  २ : २० बजे