‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

माधव, रावल र घनश्याम कमरेड, देउवा प्रधानमन्त्री बन्नु अग्रगमन हो र त्यसपछि समाजवाद आउँछ, हो ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जसरी पनि हटाएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन अहोरात्र खटिनुभएका एमाले नेताहरुलाई राम राम मात्र भन्न सकिन्छ । गजव के छ भने उहाँहरु बुढानिलकण्ठतिर गएर २० जना सांसदको ठेक्का लिनुभएछ । शायद बैनाबट्टा पनि गर्नुभयो । 

तर आफ्नो समुहमा छलफल गर्दा बहुमतले राजिनामा दिन अस्वीकार गर्नुभयो । किनकी राजिनामा दिएपछि न पार्टी रह्यो, न सांसद पद रह्यो । पाँचबर्षका लागि जिताएका मतदाताका अघि फेरी भोट माग्दै कसरी जानु ? अन्त्यमा राजिनामा दिनेमा बाँकी रहनुभयो– नेता माधव नेपाल, भीम रावल र घनश्याम भूषाल । अरु कोही पनि हुनुहोला तर उहाँहरुका नेता तीन जनानै होे । 
जव ओली हटाएर देउवालाई प्रधानमन्त्री बनाउने माधव नेपालको प्रस्ताव उहाँहरुले मान्नुभएन । त्यसपछि रन्थनिएका बन्दुके कमरेड र कथित् बैचारिक कमरेडले स्टाटस लेख्नुभयो ।

उहाँहरुको तर्क गवजको आयो । उहाँहरु भन्नुहुन्छ :  
ओलीलाई हटाएर देउवालाई प्रधानमन्त्री बनाउनु अग्रगमन हो । यसलाई बिद्रोह भन्छन् । आफ्नै पार्टीको अध्यक्ष प्रधानमन्त्री भएको सरकारबिरुद्ध जानु र विपक्षीलाई प्रधानमन्त्री बनाउनु कस्तो अग्रगमन हो ? यो बैचारिक र पीएचडी कामरेडले कुन माक्र्सवाद पढेर निकालेको निश्कर्ष हो ?

देउवा प्रधानमन्त्री बन्दा समाजवाद आउँछ भन्ने अर्को निश्कर्ष झन गजवको छ । आफुलाई दलाल पूँजीवादबिरोधी एक नम्वर नेताका रुपमा उभ्याउने भूषाल कमरेडले देउवालाई समाजवादी ठानेछन् र ओलीलाई दलाल पूँजिवादका नेता । देउवा चारपटक प्रधानमन्त्री भइसक्नुभएको हो । आयो समाजवाद रावल कमरेड ?

भूषाल कमरेड त कृषिमन्त्री नै बन्नुभयो । खै दलाल पूजिवादबिरुद्ध के गर्नुभयो ? किसानका लागि मल ल्याउनुभयो ? मल ल्याउन नसक्ने कामरेडले समाजवादका गफ दिंदा अझैपनि पत्याउँछन् त ?

रावल कमरेडले गृहमन्त्री माग्नुभयो । प्रधानमन्त्रीले मन्त्रालय रोजेरभन्दा पनि आवश्यकता हेरी दिने भन्नुभयो । गृह मन्त्रालय नपाउँदा प्रतिगमन भएको हो रावल कमरेड ? तपाइले मागेको मन्त्रालय नपाउँदा लोकतन्त्रमाथि आक्रमण भएको अर्थ लाग्छ हो ?
माधव नेपालले निर्वाचन हार्नुभयो । तर फेरी प्रधानमन्त्री बन्नुभयो । अहिले फेरी हारेको अध्यक्षलाई जितेको अध्यक्षले पद नदिंदा संविधान मिचिएको हो ? जनताले ओलीलाई प्रधानमन्त्री चुने । जनताले भनेको नमानी तपाईलाई प्रधानमन्त्री बनाएको भए एमालेको एकता झन सुदृढ हुन्छ हो ? बिचरा आफू बन्न सक्नुभएन । नगद कारोबार गर्नेमा पुग्नुभयो । तर देउवालाई प्रधानमन्त्री बनाएपछि उपनिर्वाचनमा जिताउने उधारो ठेक्का देउवाले दिनुभयो । कसरी छ महिनापछि साटिने त्यो पनि पैसा नहुने चेक बुझ्न तयार हुनुभयो ?

अनि तपाइहरुले पार्टी सिध्याउँदा भयो । पार्टीका अध्यक्ष प्रधानमन्त्रीलाई  बिश्वासको मत नदिंदा पनि भयो । पार्टीबिरोधी गतिबिधि गर्दा पनि भयो । ती सबै अग्रगमनकारी हुन्छन् । 
त्यसोभए प्रधानमन्त्री ओलीले गरेका यी काम चाँही के हुन् ?
१. भारतको नाकाबन्दीबिरुद्ध डटेर लड्नु प्रतिगमन हो ?
२. चीनसँग यातायात पारवहन सम्झौता गर्नु प्रतिगमन र लोकतन्त्रबिरोधी हो ?
३. लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको चुच्चे नक्सा जारी गर्नु पनि देशबिरोधी निर्णय हो ?
४. सीके राउत र नेत्रबिक्रम चन्दलाई राजनीतिको मुलधारमा ल्याउनु संविधान र लोकतन्त्रबिरुद्ध छ हो ? समाजका एकता कायम गर्नु पनि प्रतिगमन र र संविधान मिचिएको हो ?
५. बंगलादेशसँग तेश्रो देशका लागि पारवहन मार्ग खोल्नुलाई पनि राष्ट्रबिरोधी निर्णय भन्नुपर्छ हो ?
६. कलकत्तासँगै बिशाखापट्नम बन्दरगाह प्रयोग गर्ने निर्णय पनि नेपालको सार्वभौमिकताबिरुद्ध छ हो ?
७. भारत र चीनसँग सन्तुलित मित्रवत् सम्बन्ध कायम गर्नुलाई नेपालको छबी बिग्रेको मान्नुपर्छ हो ?
८. सगरमाथाको उचाइ नयाँ कायम गरेर देशबिरुद्ध ओलीले घात गरेको हो ?
९. धरहरा र रानीपोखरीको पुननिर्माण गर्दा लोकतन्त्र समाप्त हुन्छ, हो ?
१०.सडक बनाउनु, पुल बनाउनु र ठूला पूर्वाधार बनाउँदा देश बिग्रन्छ हो ?
यदी हो भने आउनुहोस् अव एमालेलाई सिध्याउँ र देउवालाई प्रधानमन्त्री बनाइ देशको बिकास गरौं । हैन भने देउवाका मतियार बनेका पार्टीभित्रका कामरेडलाई सबक सिकाऔं । 

माधव, रावल र घनश्यामको समाजवादी यात्रा हेरौला । तरकिन योगेश भट्टराई, गोकर्ण बिष्ट लगायतका जनताले मन पराएका कामरेड अवशानको यात्रा रोज्दैछन् । ताजुव लाग्छ । 

फेरीपनि भन्न सकिने यही हो– राम राम । 

 

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ९ : ३७ बजे