अहिले हामी विश्वव्यापी रूपमा फैलिएको कोभिड —१९ महामारीको बीचमा छौँ । कोरोना भाइरसको जोखिममा जुनै पेसा, समुदाय, उमेर, वर्ग जातजाति रहे पनि विशेषतः स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जनसमुदाय सबैभन्दा बढी जोखिममा रहेको तथ्य मात्र हैन हामी आफै प्रत्यक्ष भोगिरहेका छौँ । विश्व स्वास्थ्य सङ्गठनको अक्टोबर २० को एक रिपोर्ट अनुसार स्वास्थ्य क्षेत्रमा काम गर्ने गर्दा लगभग ८० हजारदेखि १ डेढ लाख जनशक्तिको कोभिडको कारणले मृत्यु भएको छ । यसमध्ये फिजिसियन र नर्स को सङ्ख्या अधिक छ ।
कोभिडले जनको क्षति मात्र हैन आर्थिक, सामाजिक क्षेत्रलाई प्रभावित गर्दै मानिसको जीवनशैलीमा समेत परिवर्तन ल्याएको छ । के महिला, के पुरुष यसको विविध आयामबाट सबै प्रभावित छन् । तर यसमा प्रत्यक्ष सम्बन्धित रहेका स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूले यस अवधिमा भोग्नुपरेका समस्या अन्यभन्दा फरक छ । त्यसमाथि पनि यस क्षेत्रका महिलाहरूले भोगेका समस्या झनै कहालीलाग्दो छ ।
दृष्टान्त १
पोखरास्थित मणिपाल अस्पतालको आकस्मिक विभागमा नर्सको रूपमा कार्यरत मञ्जु नेपालीसँग हामीले व्यावसायिक तथा व्यक्तिगत रूपमा कोरोना कालको अवस्था कस्तो रह्यो ? भनेर सोध्दा उनको जवाफ थियो ‘पहिला पहिला त भाइरस नयाँ भएको भएर हामी आफै अन्योलमा थियौँ । अझ चाइनाको बुहानमा लकडाउन भएपछि नेपाल सरकारको संयोजनमा फर्केका मेडिकल अध्ययनरत छात्रहरूलाई आइसोलेसनमा बसेको अवस्थामा स्थानीयहरूले उक्त स्थान छोड्न गरेको हुल्लडबाजीले गर्दा हामी मेडिकल क्षेत्रकाहरू भने अझ आतङ्कित बनेका थियौँ । कोभिड सम्बन्धी कुनै घटना तत्काल नभएको भए पनि सामाजिक सञ्जालमा आएका विविध पोष्टहरूले भ्रमित र त्रसित बनाउँथ्यो ।’
‘त्यसबेला त यस्तो कुरा पनि खपियो कि अहिले सम्झँदा यस्तो पनि भएको थियो र ? भन्ने लाग्छ । अस्पतालमा रोगसँग लडेर रोगीलाई बचाएर हतारिँदै समान चाहिने ठाउँमा पुग्दा अपराधी आएजस्तै गर्थे । सामान लिन जाँदा सटर बन्द गर्थे । यहाँसम्म कि नर्सको पोसाकमा नै पेट्रोल हाल्न जाँदा बन्द गरेर भागेको पनि भोगेको छु ।’
‘कहाँ सजिलो थियो र ? घरमा पनि परिवारमा कोभिड प्रभावित भएको थाहा पाएपछि छिमेकीले के भन्लान्, घरमा बस्न देलान् कि नदेलान् ? भन्ने त्रास सबैमा थियो । नियमित किनमेल गर्ने पसलका साहु—साहुनी समेत सामान मागेपछि पसलभित्र गएर बस्ने र सामान दिन नमान्ने गर्थे ।’
अहिले सम्झँदा लामो समय बिताइसकेको महसुस भएको सुनाउँदै उनी भन्छिन्, ‘यस्ता क्षणहरू धेरै भोगिएको छ । परिवारका सदस्यहरूसँग एकै घरमा रहे पनि महिनौँ भेट हुन सक्दैनथ्यो । मेरो सेतो लुगा नै काल आएको जस्तो गर्थे मान्छे ।’ मुसुक्क हाँसेर गर्भिलो स्वरमा मञ्जुले भनिन्, ‘यस्तो भएर पनि गन्ती त गरिएन, तर धेरै मर्दै मर्दै गरेका मान्छेलाई बचाइयो । अहिले सम्झँदा धेरै आत्मबलले काम गरियो जस्तो लाग्छ । अनि दुःख हैन, गद्गद् हुन्छु म त ।’
दृष्टान्त २
यस महामारीका एक—दुई होइन, हरेक नर्सका अनेक कथा छन् । कसैका घरका, कसैका कार्यक्षेत्रका त कसैका समाजका गिद्धे दृष्टिले थिलथिल बनाएका कथा । अर्को, सिभिल अस्पतालको नर्सिङ विभाग इन्चार्ज मङ्गलमाया प्रजापतिको कोरोना महामारीको समयको अनुभव छुट्टै छ ।
सिभिल अस्पताल धेरै व्यस्त अस्पताल मध्येको एक हो । मङ्गलमाया प्रजापति यही अस्पतालमा कार्यरत नर्स हुन् । उनले आफ्नो काममा विना हिचकिच गरेको सेवाले उनलाई नै असर गर्छ भन्ने सोचेकी थिइनन् । अस्पतालको काम मात्र हैन, नर्सिङ इन्चार्ज पनि हुँदा साथमा सिङ्गो अस्पतालमा कसरी धेरै बिरामीलाई उपचार पुर्याउने भन्ने जिम्मेवारी पनि उनीमाथि थियो ।
आज पनि त्यसबेला मान्छेले गर्ने अपमान सम्झेर मन अमिलो बनाउँदै भन्छिन्, ‘घरमा सबैलाई कोभिड हुँदा पनि कहिल्यै घर बसिनँ । युवा भाइबहिनीहरू भेन्टिलेटरमा हुन्थे । त्यस्तालाई छोडेर मलाई घर नै जान मन लाग्दैनथ्यो । यस्तो भिडेर आफ्नो र परिवारको स्वास्थ्य पनि नभनी काम गरियो, तर साथीहरू भने मलाई देख्दा मबाट सर्छ भनेर भाग्थे ।’
उनीसँग महामारी सम्झँदा दुख्ने यी कुरा मात्र छैनन् । घरमा भएका कोभिडका बिरामी आफन्तलाई छोडेर अस्पताल आएर सेवा गरेको मूल्याङ्कन नभएकोमा भने दुखेको बताउँछिन् । प्रजापति भन्छिन्, ‘बिरामीलाई स्याहार गर्ने काममा लादिने हामी, परिवारदेखि समाजसम्मको घृणाको पात्र हुने हामी, तर पुरस्कार पाउने बेलामा पुरुष स्वास्थ्यकर्मी ! यस्तो देख्दा चाहिँ कोभिडले भन्दा पनि हामीलाई त्यसपछि भएको अपमानले काममा लाग्न मन मरेर आउँछ ।’ प्रजापतिले जस्तो अपमानित खेप्ने नर्सहरू सिभिलमा मात्र हैन, हरेक अस्पतालमा भएको उनी बताउँछिन् ।
दृष्टान्त ३
शुक्रराज ट्रपिकल अस्पताल टेकुमा कोभिड आइसियुमा कार्यरत हेमा पौडेल अस्पतालको उपचार प्रक्रियाबाट सन्तुष्ट रहे पनि अस्पताल बाहिर भोग्नु परेको प्रताडनाले आज पनि दिक्क महसुस गर्छिन् । उनी भन्छिन्, ‘अस्पतालमा त जसैतसै भोगियो, तर घरबेटीले कि जागिर छोड्नुस्, कि कोठा छोड्नुस् भनेर दिएको प्रताडना अझै पनि मनभरि हुन्छ । कामबाट लादिएर घर पुग्यो, घरबेटीले निस्किएर जा भन्छ । त्यो महामारीभन्दा पनि ठुलो सकस थियो— मेरा लागि ।’
त्यसैमाथि डाक्टरहरूलाई दैनिक मास्क – एन ९५ आदि उपलब्ध गराउँदा नर्सहरूलाई भने हप्तामा एक पटक मात्र दिने गर्दा विभेद भएको महसुस हुन्थ्यो ।
दृष्टान्त ४
नर्भिक अस्पतालमा शिशु रोग विशेषज्ञको रूपमा कार्यरत डा. वर्षा बर्मा भने आफूले पर्याप्त सावधानी अपनाएको र सोही अनुसारको व्यवहार आफू अनुकूल उपलब्ध भएकोले कुनै अप्ठ्यारो नभएको महसुस गर्नुहुन्छ । चिकित्सकको नजरमा चुनौतीलाई अवसरका रूपमा लिनुपर्ने भएकोले यो अवस्था भयावह अवस्थाभन्दा पनि विशेष अवस्थाको रूपमा लिनुपर्ने बताउनुहुन्छ । यसरी जुन नर्ससँग पुग्यो, उनका एकाएक समस्या छन् । जो पुरुष स्वास्थ्यकर्मीको भन्दा धेरै फरक र दोहोरिएका समस्यामा छन् । त्यसमा पनि आमा, नर्सदेखि समाजसेवीको भूमिका निभाएका उनीहरूका एक—दुई होइन, हरेक नर्सहरूले केही न केही समस्या भोगेर महामारीका दिन पूरा पूरा गरेका छन् ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड—१९ को कारणले गर्दा यो इस्वी संवत् २०२१ को डिसेम्बर दोस्रो सातासम्म आइपुग्दा दैनिक रूपमा कोरोना सम्बन्धी विश्वव्यापी रूपमा अपडेट गराउने वेब साइट वर्ल्ड मिटर्सको तथ्याङ्क अनुसार १४ डिसेम्बरको दिन सम्ममा २७ करोड १२ लाख ११ हजार ७ सय सतासी जनामा कोरोना सङ्क्रमण देखिएको छ भने त्रिपन्न लाख एकतीस हजार छ सय सतासी जनाको निधन भएको छ ।
सन् २०१९ को डिसेम्बरमा चाइनाको बुहानमा देखा परेको यो भाइरस सन् २०२० को जनवरीदेखि विश्वका ५८ भन्दा बढी मुलुकलाई प्रभावित पार्दै गर्दा ११ मार्च २०२० पछि विश्व स्वास्थ्य सङ्गठनले आपत्काल घोषणा गरेको थियो । मूलतः रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर गरी श्वास—प्रश्वास प्रणालीमा अवरोध पुर्याउने यस भाइरसले आफ्नो जैविक प्रजातिमा समेत परिवर्तन गर्ने गरेको पाइएको छ । अल्फा, बेटा, गामा, डेल्टा हुँदै अहिले ओमिक्रोन गरेर पाँचौँ तहमा यो भाइरसको उपस्थिति रहेको यस महामारीले असर नगर्ने ठाउँ कतै छैन ।
कुनै ठोस औषधि नरहेको यस भाइरसबाट बचाउको लागि विभिन्न समयमा जोखिम न्यूनीकरणका लागि विभिन्न किसिमले ट्रायल दिएका खोपहरू नै हो भन्ने तथ्य रहेको छ । पीफाईजर बायोन टेक (Pfizer-BionTech) नाम गरेको खोप युरोपियन युनियनबाट मान्यता प्राप्त गरेको पहिलो खोप थियो भने हाल विभिन्न मुलुकहरूले खोपहरू उत्पादन गर्दै आएका छन् तथापि कोरोनाको प्रजाति परिवर्तन भइरहेको कारणले गर्दा पूर्ण सफल र सर्वसुलभ भने अझै भएको छैन ।
यावत् दृष्टान्तहरूलाई मनन गर्ने हो भने कोभिडको अवधिमा यसको सामना गर्नेहरूको चुनौती सामना गर्नका लागि स्वास्थ्य मनोविज्ञानको जति हात छ, सामाजिक मनोविज्ञानको उत्ति नै हात रहेको पाइएको छ । स्रोत—साधनको कमी, चेतनाको कमी, सामाजिक हौवा, योग्य जनशक्तिको अभाव आदिको कारणले गर्दा विशेष गरी महिला अझ प्रथम तहमा रहेर कार्य गर्नुपर्नेहरूले प्रत्यक्ष अप्ठ्यारो र अप्रत्यक्ष विभेदको सामना गर्नु परेको छ ।
प्रकाशित मिति : ५ पुस २०७८, सोमबार ११ : १३ बजे
प्रतिक्रिया