‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यस्तो देखियो विकास बैंकहरुको एक महिनाको नाफा घाटाको तथ्याङ्क 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ मा विकास बैंकहरुले कमाएको र गुमाएको गत श्रावण महिनाको नाफा घाटाको तथ्याङ्क सार्वजनिक गरेको छ । जस अनुसार हाल संचालनमा रहेका विकास बैंकहरुले औसतमा ८५ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् । 

जसमध्ये शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले सर्वाधिक नाफा कमाएको छ । बैंकले एकै महिना २० करोड २० लाख रुपैयाँ नाफा कमाएको देखिएको छ ।

यसअघि प्रायः मुक्तिनाथ विकास बैंकले नाफामा बर्चश्व कायम गर्दै आएको थियो । तर, साउन महिनामा भने सबै विकास बैंकलाई शाइन रेसुङ्गाले उछिनेको छ । बैंकको नाफा अघिल्लो आ.व.को श्रावणको तुलनामा भने १८०.९४ प्रतिशत बढी हो । गत वर्षको साउनमा बैंकले ७ करोड १९ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

साउनमा मुक्तिनाथ विकास बैंकले १६ करोड ९६ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ । सर्वाधिक नाफा कमाउनेको तेस्रो स्थानमा भने महालक्ष्मी विकास बैंक देखिएको छ । बैंकले एक महिनामै १० करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यस्तै, गरिमा विकास बैंकले ९ करोड ४६ लाख रुपैयाँ, कामना सेवा विकास बैंकले ८ करोड ५८ लाख, ज्योति विकासले ८ करोड ३७ लाख रुपैयाँ नाफा कमाएका छन् ।

यता, सांग्रिला डेभलपमेन्ट बैंकले ६ करोड ८१ लाख, लुम्बिनी विकास बैंकले ३ करोड ६३ लाख, सिन्धु विकास बैंकले ३१ लाख, सालपाले २९ लाख, कर्पोरेट डेभलपमेन्टले १६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

यी बाहेकका अन्य ६ वटा विकास बैंक भने नोक्सानीमै छन् । साउनमा सबैभन्दा धेरे नोक्सानी एक्सेल डेभलपमेन्ट बैंकले व्यहोरेको छ । बैंक ६ करोड ३७ लाख रुपैयाँ नोक्सानी देखिएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  २ : २० बजे