सुनको मूल्यमा नयाँ कीर्तिमान

क्रिसमसका बेला हुने यात्राले कोरोना भाइरसको नयाँ भेरियन्ट फैलाउने अमेरिकी विज्ञको चेतावनी

काठमाडौँ । क्रिसमसका बेला हुने यात्राले कोभिड विरुद्धका खोपको पूर्ण मात्रा लगाइसकेकाहरूमा समेत कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिन सक्ने एक जना शीर्ष अमेरिकी सङ्क्रामक रोग विज्ञले बताउनुभएको छ ।

“यसमा कुनै शङ्का छैन की यसको (ओमिक्रोन) फैलन सक्ने असाधारण क्षमता छ”, डा. एन्थोनी फाउचीले आइतबार आयोजित एक पत्रकार सम्मेलनमा भन्नुभयो।

महामारीबारे अमेरिकी सरकारलाई सुझाव दिने डा.फाउचीले नयाँ भेरियन्ट हाल विश्वभर फैलिरहेको बताउनुभयो । 

कोरोना भाइरसको व्यापक उत्परिवर्तित स्वरूप फैलन नदिन कैयौँ राष्ट्रहरूले कडा नियमहरू लागु गर्दै छन्। युरोपमा फ्रान्स र जर्मनीले यात्रा प्रतिबन्ध लागु गरेका छन् भने नेदरल्यान्ड्सले क्रिसमस नजिकिँदै गर्दा कडा लकडाउन लागु गरेको छ।

बिबिसीका अनुसार  अनुसन्धानकर्ताहरूले बुस्टर मात्राले गम्भीर बिरामी हुनबाट लगभग ८५ प्रतिशत सुरक्षा प्रदान गर्न सक्ने बताएसँगै विभिन्न देशका सरकारहरूले उनीहरूको कोभिड खोपको बुस्टर मात्रा दिने कार्यक्रमहरू अघि बढाइरहेका छन्।

आइतबार डा. फाउचीले अमेरिकाको पछिल्लो अवस्था हेर्दा ओमिक्रोनले अस्पतालहरूमा व्यापक चाप बढाउन सक्ने देखिएको बताउनुभएको छ । “हाल देखिए जस्तै अवस्था रहे हाम्रा अस्पतालहरूमा निकै चाप बढ्ने छ”, उहाँले चेतावनी दिँदै भन्नुभयो।

डा.फाउचीले सर्वसाधारणहरूले मास्क लगाउने अनि सामाजिक दूरी कायम राख्नेजस्ता सावधानीका उपायहरू अपनाउनुपर्ने बताउनुभयो । उहाँले धेरैभन्दा धेरै अमेरिकीहरूलाई खोप र बुस्टर मात्रा लगाउन आग्रह समेत गर्नुभएको छ । 

शुक्रवार ह्वाइट हाउसमा गरिएको पत्रकार सम्मेलनमा उहाँले खोप नलगाएका मानिसहरू सङ्क्रमणको उच्च जोखिममा रहेको र अस्पताल भर्ना गर्नुपर्ने सम्भावना धेरै रहने बताउनुभएको थियो । 

अमेरिकाको जनसङ्ख्याको झन्डै ७३ प्रतिशतले कोभिडविरुद्ध खोपको कम्तीमा एक मात्रा प्राप्त गरेको सेन्टर फर डीजीज कन्ट्रोल एन्ड प्रीभेन्सन (सीडीसी)ले जनाएको छ। त्यहाँ हालसम्म ३० प्रतिशत सर्वसाधारणले बुस्टर मात्रा लगाएका छन्।

 

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ७ : ५५ बजे