एमसीसीबारे धारणा बनाउन सत्ता गठबन्धनले बनायो तीन सदस्यीय कार्यदल

काठमाडौं – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को प्रावधानबारे अध्ययन गर्न सत्ता गठबन्धनले तीन सदस्यीय कार्यदल गठन गरेको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा एमसीसीको विरोध भएसँगै यसका प्रावधान बारे अध्ययन गर्न तीन सदस्यीय कार्यदल गठन गरिएको हो । 

अध्ययन कार्यदलमा सरकारकातर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की छन् भने गठबन्धनका तर्फबाट नेकपा (एकिकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल र नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ रहेका छन् । 

कार्यदलले एमसीसीका त्यस्ता विवादास्पद बुँदाहरूमाथि अध्ययन गर्ने र त्यसबारे धारणा बनाएर शीर्ष नेताहरूमाझ प्रस्तुत गर्ने छ । 

आजको सर्वदलीय बैठकमा सरकारका तर्फबाट कार्कीले एमसीसी पेस गर्ने र अनुमोदन गर्ने विषय राखेका थिए तर बैठकमा सहभागी दलहरुले यसको चर्को बिरोध गरे । गठबन्धनकै माओवादी र एकीकृत समाजवादीका साथै राप्रपा, राजमोले एमसीसी त्यतिकै पास गर्न नहुने बताएका थिए । 

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ९ : २४ बजे