कास्कीमा डेंगीबाट तीन जनाको मृत्यु, ३७ सयबढी संक्रमित

गण्डकी । कास्कीमा डेंगी संक्रमणबाट तीनजनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत याम बरालकानुसार गत जनवरियता जिल्लाका तीन हजार सात सय ६८ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

आइतबारसम्ममा सबैभन्दा बढी पोखरा महानगरपालिकामा तीन हजार एक सय ११, अन्नपूर्ण गाउँपालिकामा २३, माछापुछ«े गाउँपालिकामा ४०, मादी गाउँपालिकामा १० र रुपा गाउँपालिकामा १३ जनामा डेंगी संक्रमण देखिएको हो ।

यस्तै अन्य जिल्लाका दुई सय ६३ र ठेगाना नखुलेका तीन सय आठ गरी कास्कीमा कूल तीन हजार सात सय ६८ जनामा डेंगी संक्रमण पुष्टि भएको हो । पोखरा महानगरपालिका वडा नं ५ र ८ लगायतका वडा डेंगीको प्रकोपबाट बढी प्रभावित भएको भेक्टर कन्ट्रोल अधिकृत बरालले बताउनुभयो । जनघनत्व बढी भएका ठाउँमा संक्रमण छिटो फैलने हुँदा पोखरा डेंगीको ‘हट स्पट’ बनिरहेको उहाँको भनाइ छ । स्वास्थ्य कार्यालयले डेंगीको उपचारका क्रममा पोखराका अस्पतालमा ज्यान गुमाउनेमा अन्य जिल्लाका संक्रमितसमेत रहेको जनाएको छ ।

सङ्क्रमण तीव्र बन्दै जाँदा उक्त रोग संक्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सक तथा स्वास्थ्यकर्मीले सुझाएका छन् । स्वास्थ्य कार्यालय प्रमुख रामबहादुर नेपालीले सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुन सक्ने भएकाले रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्न आग्रह गर्नुभयो ।

पछिल्लो तीन महिनामा डेंगी संक्रमणको दर ह्वात्तै बढेको र अब समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके महामारीको रूप लिन सक्ने प्रमुख नेपालीले बताउनुभयो । “ डेंगी लाई सामान्य रूपले नसोचौँ, यसका अप्रिय उदाहरण हामीसँग छन्”, उहाँले भन्नुभयो, “संक्रमणपछि उपचार र हेरचाह पुगेन भने स्वास्थ्य अवस्था जटिल बन्दै बिरामीको मृत्युसमेत हुनसक्छ । यसैले डेंगी रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्छ ।”

धवलागिरि उपप्रादेशिक अस्पतालका प्रमुख डा रविरञ्जन प्रधानले डेंगी संक्रमण हुँदैमा आत्तिहाल्नु नपर्ने बताउनुभयो । डेंगी संक्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिए चिकित्सकको विशेष निगरानीमा उपचार गर्न उहाँले आग्रह गर्नुभयो । डेंगी भएमा आराम गर्ने, पानीलगायत झोलिलो पदार्थ प्रशस्त पिउने र जथाभाबी औषधि सेवन गर्न नहुने डा प्रधानले बताउनुभयो । ज्येष्ठ नागरिक, दीर्घरोगी, गर्भवती र बालबालिकामा डेंगीको संक्रमण भएमा स्वास्थ्यमा जटिलता निम्तन सक्ने खतरा हुने उहाँको भनाइ छ । “अधिकांश संक्रमित सामान्य उपचार र हेरचाहपछि निको हुन्छन्, कतिपयमा डेंगीले जटिलता ल्याउन सक्छ । त्यसैले सामान्य रोग हो भन्ने सोचेर लापरबाही गरेमा ज्यानै जोखिममा पर्न सक्छ”, उहाँले भन्नुभयो ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  १ : २१ बजे