सर्वदलीय बैठकमामा सत्ता गठबन्धनकै लफडा, बैठक निष्कर्षविहीन

काठमाडौं ।  एमसीसी सम्झौता संसदबाट पारित गर्ने सन्बन्धमा सत्ता गठबन्धका दलहरुबीच मै विवाद देखिएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको सर्वदलीय बैठक यही कारण निष्कर्षविहीन भएको छ ।

प्रमुख विपक्षी नेकपा एमालेले बहिस्कार गरेको बैठकमा सरकारका प्रवक्ता ज्ञानेन्द्रवहादुर कार्कीले एमसीसी संसदबाट अघि बढाउनुपर्ने प्रस्ताव राख्नुभएको थियो । बैठकमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एसका महासचिव बेदुराम भुसालले यो विषयमा अहिले केही कदम चाल्न उपयुक्त नहुनेभन्दै प्रस्ताव अश्वीकार गर्ने बताएका थिए ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवालले सरकारका प्रवक्ता कार्की र कांग्रेस नेताहरु रामचन्द्र पौडेल तथा रामशरण महतले एमसीसी पास गर्ने भनेपनि सत्ता गठबन्धनै माओवादी र नेकपा एसका नेताहरुले संशोधनबिना पास गर्न नहुने बताएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सत्तारुढ जसपाका अध्यक्ष उपेन्द्र यादव भने यो विषयमा मौन बस्नुभएको थियो ।  बाबुराम भट्टराईले भने एमसीसी पास गर्नुपर्ने धारणा राख्नुभएको थियो । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् सञ्चालन र एमसीसी अनुमोदन गर्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनुभएको थियो ।  

सर्वदलीय बैठक मुलुककै ठुलो एवं प्रमुख प्रतिपक्षी  दल नेकपा एमालेले भने बहिष्कार गरेकाे छ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ६ : १३ बजे