काठमाडौं। नेपालको संविधान २०७२ को प्रस्तावनामा माओवादी हिंसालाई सशस्त्र सङ्घर्ष भनेर संवोधन गरेको छ। तर विगत केही दिन देखि माओवादीले यस विषयलाई लिएर प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएको थियो ।
संसद्मा एमाले सांसद योगेश भट्टराईले माओवादी सशस्त्र द्वन्द्वलाई ‘हिंसा’ भनेपछि उक्त शब्द असंसदीय रहेको भन्दै माओवादीले रेकर्डबाट हटाउनुपर्ने माग गर्दै आएको छ ।
भदौ १२ गतेको बैठकमा एमाले सचिव भट्टराईले यस्तो शब्द प्रयोग गरेका थिए । त्यही दिन माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाउँदै ‘हिंसा’ शब्द असंसदीय रहेको दाबी गर्दै रेकर्डबाट हटाउनुपर्ने माग गनुभएको थियो ।
भट्टराईले सो शब्द प्रयोग गरेका सम्बन्धमा सभामुख घिमिरेले छानबिनपछि भदौ २६ गतेको प्रतिनिधिसभा बैठकमा ‘माओवादी हिंसा’ भन्नु असंसदीय नरहेको ठहर भएको भन्दै रुलिङ गनुभएको थियो । त्यसयता माओवादीले संसद्मा निरन्तर अवरोध गर्दै आएको छ ।
आइतबार बोलाइएको संसद् बैठकअघि संसद् सञ्चालनको वातावरण बनाउन सभामुख घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाउनु भएको थियो । तर सहमति जुट्न सकेन
माओवादीले यो बहानामा लगातर संसद अवरोध गर्दै आए पनि सरकारले सोमबार राति देखि लागु हुने गरी संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरिसकेको छ। यो सेसनको अन्तिम दिन माओवादीले सोमबारको बैठक भने अवरुद्ध नगर्ने जनाएको छ। सोमबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्ने कार्यक्रम छ।
माओवादीले संविधानमा उल्लेख भएको सशस्त्र सङ्घर्ष भन्ने शब्दको साटो हिंसात्मक प्रयोग गरेको भन्दै अनेक बहानामा संसद्को बैठकमा अवरोध गर्दै आएको थियो। तर नेपालको संविधानको प्रस्तावना सशस्त्र सङ्घर्ष भनेर माओवादीको हिंसालाई उल्लेख गरिएको छ।
संविधानको प्रस्तावना उल्लेख छ –लोकतन्त्र र अग्रगामी पररितनका लागि नपाली जनताले पटक पटक गदै आएका ऐ ऐतिहासिक जन आन्दोलन, सशस्त्र सङ्घर्ष त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै….।
संविधानको प्रस्तावनाको सशस्त्र सङ्घर्ष भन्ने भाषाले पनि माओवादी वा कुनै पनि हतियार प्रयोग गरिएको विषय हिंसात्मक हुन भन्ने उल्लेख छ। डा हेमाङ्ग दीक्षितको नेपाली शब्द कोष अनुसार सशस्त्र सङ्घर्षको अर्थ ‘ हतियारको आडमा सत्ता पल्टाउने अभियान, हतियार सहित बगावत भन्ने उल्लेख छ।
हतियार उठाएर गरिने विद्रोह हिंसात्मक नै हुन्छ। त्यस कारण यो शब्द प्रयोग गरिएको भनेर माओवादीले निहुँ खोज्नु आफूले सत्ता छोड्नु पर्दाको पीडा भएको बताइएको छ।
प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार १० : ५४ बजे
प्रतिक्रिया