विचार

ओली-विरोधी बेतुकी व्यर्थबोली 

भाद्र ३० गतेको प्रसिद्ध राष्ट्रिय अखबार नागरिकमा प्रसिद्ध लेखक तथा डा. अरुणा उप्रेतीको लेख प्रकाशित भएको रहेछ । उक्त लेखको नाम चाहिँ प्रम ओलीको बेलगाम बोली भन्ने रहेछ ।  जसकसैलाई पनि मनमोजी र मुखमा आए जति बोलेपछि त्यसलाई मन नपराउने स्वभाव आफ्नो बस्यो । अलिकति पनि विवेक विचार नगरी जे मन लाग्यो त्यही बोल्ने स्वभाव आफ्नो भएन र यस्तो स्वभाव मन पर्ने कुरा पनि भएन । यसैले डा. अरुणा उप्रेतीको  प्रधानमन्त्री के.पी.शर्मा ओली विरुद्ध लेखिएको असंयमित लेखोट पढेपछि त्यसमा प्रतिवाद गर्ने पर्ने देखियो र यो लेख लेखेकी हुँ । कहिले काहीँ कतिपय लेख र लेखोट बारे तर्क संगत प्रतिवाद गरिएन भने सत्य र सही कुरा ओझेल पर्छ र यस्ता लेखले सामान्य पाठकलाई ठूलो भ्रममा पनि पार्छ । 

 डा. अरुणाले हालै प्रम  ओलीले मैले अनलाइन मार्फत गणित,अंग्रेजी,विज्ञान जस्ता विषय पढाएँ भने ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुन्थे भन्नुभएछ । यो कुरा मैले अरुणाको लेखबाट नै थाहा पाएँ । यसैलाई आधार बनाएर  डा. अरुणाले ओलीलाई देशै भरि इमेल,इन्टरनेट आदि विद्युतीय प्रविधि पुगेको छैन भन्ने नै थाहा छैन कि । अनि कसरी ओलीले उक्त प्रविधि मार्फत विद्यार्थी उत्तीर्ण गराउन सक्छन् भनेर कडा प्रश्न गरिन् लेखमा । तर यही र यत्ति कुरा नबुझेर डा. अरुणा रनभुल्ल  परेको थाहा हुन्छ । ओलीलाई देशै भरि इमेल र इन्टरनेटको पहुँच छैन र अभाव छ भन्ने कुरा राम्ररी जाने बुझेकै हुनाले ओलीले सत्तरी प्रतिशत विद्यार्थी पास गराउने ग्यारेन्टी गर्नु भएको हो र यदि उक्त सुविधा देशै भरि पुगेको भए ओलीले ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने कुरा गर्नु हुन्थ्यो ।

यही लेख पढेर डा.  बद्रीविशाल पोखरेलले पढेलेखेका भनिएका कतिपय डिग्रीधारीहरुको गतिमति देख्दा आश्चर्य र उदेक लाग्ने कुरा  गर्नु भयो । ल ओलीले म ७० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँथेँ भन्दा पनि गाली नै गर्ने, जे गरे पनि गाली मात्र गर्न जन्मिएका कथित विद्वान्को नेपाल कमी छैन रहेछ । माओले चीनमा कम्युनिस्ट शासन स्थापना भए पछि तियानमैन चोकबाट तिब्बतसम्म रेल सञ्चालन गर्ने दूरगामी योजनाको  उद्घोष गर्दा अबुझहरू त्यतिबेला हाँसेका थिए । तर पछि हिस्स परे । दूरदर्शी दृष्टिकोण राख्ने र सोच्नेहरू नाति पनातिको भविष्य हेर्छन्  । जो हात सो साथ गर्नेहरू आँखाअगाडिको  थालको भात मात्र देख्छन् ।  पढेर डिग्री हासिल गरेर मात्र ज्ञानी भइँदो रहेनछ । जागिर खान, पदोन्नति हुन त पढिन्छ तर त्यतिले मात्र  सरदर मान्छे भन्दामाथि उठ्न सकिने रहेनछ ।  सकारात्मक सोच पटक्कै नहुने यो कस्तो समाज हो ? एक होइन अनेक कालाकोटे र प्रा.डा. जस्ता दुई सिङ्गे एक वरिष्ठ वकिल टिके प्रधानमन्त्री बनाउन ज्यान फालेर लाग्छन् अनि अहिले देश अस्थिर भयो भनेर कन्पारामा हात लगाउँछन् । अर्काथरि ओलीले कति लम्बेतान भाषण गरेको भनेर बाहरिबाहिर धारे हात लगाउँछन् तर तिनै ओलीको मन्तव्य सुन्न लालायित र उत्सुक पनि देखिन्छन् । उखानको मर्म र महत्त्व नबुझ्नेहरू ओलीलाई उखाने भनेर कटाक्ष गर्छन् ।     

 सरकारी  र निजी स्कुलसित त्यहाँको  पठनपाठन र शैक्षिक     प्रशासनका विषयमा जानकार रहेकी छु । कामले काम सिकिन्छ । तर सिक्न चाहनु पर्छ । इटहरीको एउटा स्कुलको पठन पाठन र शैक्षिक क्रियाकलाप नाम मात्रको भएपछि यसमा केही विज्ञहरूको सहयोग लिइयो । त्यति बेला थाहा भयो कि पढाउने कुरामा शिक्षकको धेरै ठूलो भूमिका हुँदो रहे । त्यसैले शिक्षक सम्बन्धी एउटा किस्साको जानकारी पनि मैले पाएँ । त्यसमा शिक्षक उड्यो भने विद्यार्थी दगुर्छ,शिक्षक दगु¥यो भने विद्यार्थी हिँड्छ अनि शिक्षक हिँड्यो भने विद्यार्थी बस्छ भनिँदो रहेछ । अनि शिक्षक बस्यो भने विद्यार्थी सुत्छ त्यस पछि शिक्षक सुत्यो भने विद्यार्थी मर्छ भनिँदो रहेछ ।   यसको मूल अर्थ शिक्षक शिक्षिकाको पठनपाठनमा सर्वोपरि भूमिका हुन्छ भन्नु हो । विद्यालय र कलेजमा पढ्दा ताकाका कुरा  डा. अरुणलाई पनि थाहा हुँदो हो  । कुनै कुनै शिक्षकले पढाएको विषय कक्षामा नै कण्ठ हुन्थ्यो । अर्थात् कुनै शिक्षकलाई देख्ने बित्तिकै पढ्न मन लाग्थ्यो अनि कुनै गुरु र गुरुआमालाई देख्ने बित्तिकै पढ्न मन मरेर आउँथ्यो । अनि ओलीले आफ्नू अनुभव र क्षमताको कुरा  गर्नु भएको  हो । हुन त हाम्रो समाजमा राम्रा कामलाई पटक्क सहन नगर्ने रिस र डाहले भतभती पोल्ने संस्कार र स्वभाव पनि हामी मध्येमा पाइन्छ । जति सुकै ठूलो डिग्री हासिल गरे पनि उक्त डिग्री स्तरको संस्कार नभएका हामी छौँ । स्कुलको पठनपाठन बारे भारी चिन्ता डा. अरुणाले गरेको देखियो । यसको एउटै ओखती विद्यार्थी केन्द्रित पठन पाठन हो । उप्रेतीको सही चिन्ता हो भने हामी मिलेर लाग्न सक्छौँ । अझ भाषाको अध्ययन त विद्यार्थीहरूलाई नै लेख्न बोल्न लगाउनु पर्ने  रहेछ । शिक्षकले  एकोहोरो फरर बोलेर भनेर होइन विद्यार्थीलाई नै कक्षामा पनि बोल्न र लेख्न लगाएर जान्ने बनाउन सकिन्छ । जान्दा एकैचोटि दुई काम गर्न सकिने रहेछ । सबैको होम वर्क ठिक भयो भएन ब्ल्याक बोर्डमा लेखि दिएर पनि सच्याउन सकिने रहेछ । पढौँ पढौँ लाग्ने र पढाऊँ पढाऊँ लाग्ने वातावरण बनाउन सकिने रहेछ । 

राम्रा र जाती कुरा  केही नै नदेख्ने आफ्नू चाहिँ अर्ती र उपदेश मात्र दिने अनि खैरो खन्ने बानी साह्रै नराम्रो हो ।  

अर्को डा. अरुणाले प्रम ओलीले जे बोले पनि हुन्छ बेलगाम बोली उहाँको छ बोलेको पुरा गर्नु पर्ने त छैन भनेर  कटाक्ष गरेकी रहिछन् लेखमा । यसमा पनि डा.अरुणाको सोचको अत्यन्त दयनीय  खोट देखियो ।   कुनै पनि मानिसले मनमा दूरदर्शी सोच निर्माण गर्नु प¥यो ।  त्यस सोचलाई बोली र लेखमा उतार्नु प¥यो । डा. अरुणाले ओलीले मात्र बेलगाम बोली बोल्नु भएको एकदमै झुट बोलेकी रहिछन् । ओलीले बोलेर भारतले नेपालमाथि गरेको अमानवीय नाकाबन्दी हटाउन बाध्य पार्नु भएको होइन र  ? यहीँ विराटनगरमा लामो समयदेखि रहेको भारतीय सैनिकको टुकडी बोलेर ओलीले हटाएको होइन ? मेलम्चीको पानी काठमाडौँ ल्याउन,धरहरा तयार गर्न,८ लाख घरबारविहीनलाई पक्का घर बनाएर हस्तान्तरण गर्न,बसौँ देखि थाती रहेको टीआरसी विधेयक संसदबाट पारित गर्न ओलीले  सम्झाई बुझाइ गरेर र बोलेर  नै गर्नु भएको  होइन ? चीनतिर को नाका ओलीले बोलेर नै खुला गरेको होइन ? एसिड पीडित महिलाका विरुद्ध  बोलेर नै विधेयक पारित भएको  होइन । बोली पनि हेर्नाका हुन्छन् । देश र जनताका हितमा बोल्ने छन्,थिए र हुनेछन् तर देश र जनताका बर्बादीमा  हिंसाको खेल खेल्न उक्साउने पनि छन् र ती पनि बोल्छन् । 

   डा. अरुणाले ओलीलाई के  छ र ? बोलेको कुरा पूरा गर्नु छैन । बोलेको पूरा नभए के हुन्छ र भन्दै लेखमा हियाएकी रहिछन् । अनि ३५० अस्पताल उद्घाटन गरे पनि यी अहिले के कति बने र बन्न बाँकी छन् त्यसको कुनै  लेखाजोखा ओलीले राखेका छन् र नियालेका छन् पनि भनेकी रहिछन् लेखमा डा. अरुणाले । मलाई त अचम्मै लाग्छ । देशै भरिका स्कुल चहारेर कुन स्कुलको पठन पाठन र परीक्षा परिणाम थाहा पाउने अरुणालाई उक्त कुराको जानकारी भएन र अचम्म छ  । हुँदा हुँदा रिस नमरेपछि डा. अरुणाले ओलीका सल्लाहकारहरूलाई तथानाम गाली गर्न पनि भ्याइछन् । सकार पटक्क नदेख्ने नकार मात्र खकार्नेलाई  विद्वान् भन्नु कि मूर्ख भन्नु  अलिक अप्ठ्यारामा परियो । ओलीले पठित मूर्ख भनेर एक प्रसंगमा भन्नु भएको थियो । यो विषय के हो भनेर घरमा नै छलफल गर्दा डा. पोखरेलले एक संस्कृतिको श्लोकको उदाहरण दिनु भयो र भन्नु भयो सर्पका टाउकामा मणि हुन्छ तर सर्पको डस्ने स्वभाव हट्दैन र जाँदैन । यस्तै विद्या र ज्ञान रुपी मणि जडित भएर मात्र कुनै पनि मानिस विद्वान् हुँदैन ।  मानौँ विभिन्न उच्च तहका ज्ञानका अनेक डिग्री झुन्ड्याएको त तर उसको व्यवहार दुष्टको झैँ भने त्यसलाई मूर्ख भन्दा हुन्छ भन्नु भयो र निचोडमा उहिल्यै पनि पढेलेखेका भनिएका मानिसले धेरै दु:ख दिएको थाहा भयो । अहिले पनि  विशेषतः नेपालमा उपरोक्त खालका बुद्धिजीवी,डा.र प्रा.र शिक्षकको कमी छैन होला  । भदौमा आँखा फुटेको पशु सधैँ हरियो देख्छ भने

झैँ जतिसुकै पढेर विद्वान् र महाविद्वान भए पनि व्यवहार र संस्कार मूर्ख झैँ छ भने मूर्ख विद्वान् भइने रहेछ ।   राम्रा कामलाई त  अलिअलि मुखले प्रोत्साहन पनि नगर्ने कस्तो कपटी समाज बनाउन चाहँदैछौँ डा. अरुणा उप्रेतीजी । 

इटहरी निवासी लेखक अनेम संघ,केन्द्रीय सल्लाहकार हुनुहुन्छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ३ : ४१ बजे