‘नेशनल डे कन्सर्ट’ सम्पन्न

म्यानमाको जुन्टाद्वारा विनाशकारी बाढीको सामना गर्न विदेशी सहायताको आह्वान

म्यानमाको जुन्टा प्रमुख मिन आङ ह्लाइङले शनिबार मानिसहरूलाई विस्थापित गरेको विनाशकारी बाढीको सामना गर्न विदेशी सहायताको लागि अनुरोध गर्नुभएको छ ।

म्यानमा, भियतनाम, लाओस र थाइल्यान्डमा विनाशकारी चक्रवात ’यागी’सँगै आएको भारी वर्षाले निम्त्याएको बाढीपहिरोले करिब ३०० जनाको ज्यान लिएको छ ।

म्यानमामा दुई लाख ३५ हजारभन्दा बढी मानिसहरू बाढीको प्रभावबाट बच्न आफ्नो घर छोड्न बाध्य भएका छन्, जुन्टाले शुक्रबार भन्यो ।

“सरकारी अधिकारीले पीडितहरूलाई प्रदान गरिने उद्धार र राहत सहायता सामाग्री प्राप्त गर्न विदेशी देशसँग सम्पर्क गर्न आवश्यक छ”, मिन आङ ह्लाइङले शुक्रबार भन्नुभयो, “उद्धार, राहत र पुनःस्थापनाका कार्यहरु सकेसम्म चाँडो व्यवस्थापन गर्न आवश्यक छ ।”

एक सैन्य प्रवक्ताले देशका केही क्षेत्रसँग सम्पर्क गुमाएको र मध्य मांडले क्षेत्रको सुन खानीमा गएको पहिरोमा दर्जनौँ पुरिएको घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो ।

म्यानमाको सेनाले पहिले विदेशबाट प्राप्त हुने मानवीय सहायतालाई अवरुद्ध गरेको थियो ।

गत वर्ष यसले देशको पश्चिममा आएको शक्तिशाली चक्रवात ’मोचा’का करिब १० लाख पीडितहरूसम्म पुग्न खोज्ने सहायता समूहको यात्रा अनुमति निलम्बन गरेको थियो ।

सन् २००८ मा म्यानमामा चक्रवात ’नरगिस’ले कम्तीमा १ लाख ३८ हजार मानिसको ज्यान लिएपछि तत्कालीन जुन्टामाथि आपतकालीन सहायता अवरुद्ध गरेको र सुरुमा मानवीय कामदार र आपूर्तिको पहुँच दिन अस्वीकार गरेको आरोप लगाइएको थियो ।

शनिबार सेनाद्वारा निर्मित राजधानी नेपिडो वरपरको बाढी प्रभावित क्षेत्रमा सैन्य ट्रकमार्फत साना उद्धार डुङ्गाहरू पुर्याइरहेका एएफपीका सञ्चारकर्मीले बताएका छन् ।

राजधानी वरपरको क्षेत्रमा बाढीले विनाशकारी पहिरो निम्त्याएको र बिजुली टावर, भवन, सडक, पुल र घरहरू ध्वस्त भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ११ : ५८ बजे