जनप्रतिनिधिको बैठक भत्ताले विद्यालयमा अक्षयकोष

तनहुँ। यहाँको ऋषिङ गाउँपालिकाका जनप्रतिनिधीले बैठक भत्ताबापत एक महिनाको रकम अक्षयकोष स्थापनामा खर्च गर्ने भएका छन् ।

गाउँपालिकाभित्रका ११ माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्न उनीहरुले बैठक भत्ताबापतको रकम खर्च गर्न लागेका हुन् । अक्षयकोषबाट प्राप्त ब्याजबाट बर्सेनि गरिब, जेहेन्दार, बिपन्न र अशक्त विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि उक्त प्रक्रिया अघि बढाइसकिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकामा कुल ४४ जनप्रतिनिधि छन् ।

जनप्रतिनिधिले एक महिनामा प्राप्त गर्ने सेवासुविधा सहयोग गर्दा अक्षयकोषमा रु आठ लाख सङ्कलन हुने प्रवक्ता दरैले बताउनुभयो । जनप्रतिनिधिको बाँकी तीनवर्षे कार्यकालसम्म यसलाई निरन्तरता दिनेगरी योजना अघि बढाइएको हो ।

गाउँपालिकाको १६औँ अधिवेशनमा प्रस्तावित नीति तथा कार्यक्रमबाट उक्त प्रस्ताव पारित गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चिनबहादुर रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार जनप्रतिनिधिले पाउने वर्षको एक महिनाको सेवासुविधा बापतको रकम तीन वर्षसम्म निरन्तरत दिँदा रु २४ लाख बराबरको अक्षयकोष स्थापना हुनेछ ।

विद्यालयमा अक्षयकोष स्थापना गर्न कार्यविधि बनाइसकिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार साउन महिनाबाट लागू हुने गरी प्रक्रिया अघि बढेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ७ : २८ बजे