राजनैतिक दर्शन बिनाको प्रदर्शन, भ्रमलाई समर्थन

“आजको शिक्षाले देशका लागि उत्पादन र सेवामा रमाउने असल नागरिक उत्पादन गर्न सकिरहेको छैन।” जसका कारणले विदेश पलायन संस्कृतिले प्राथमिकता पाएको छ। अहिले तिनै विदेश पलायन भएका भूतपूर्व नेपालीहरूले सञ्जाल र सञ्चारहरूको प्रयोग गरेर देशमा भ्रमपूर्ण भाष्य, विचारहीन राजनीति र चरित्रहीन नेतृत्वलाई ठिक देखाउन खोज्दैछन् र राजनैतिक तथा संवैधानिक अस्थिरता बढाउन सघाउँदै छन्। यो यथार्थ जनतालाई बुझाउने प्रयास भइरहेको छैन किनभने राजनीतिक नेतृत्व विभाजित भएर भ्रमित भाष्यमा अलमलिएको छ।

वास्तवमा अहिले देशको माया नहुनेहरू नै भ्रमपूर्ण भाष्य, विचारहीन राजनीति र चरित्रहीन नेतृत्वलाई ठिक भन्दै अवस्था बदल्न व्यवस्था बदलौँ भन्ने पश्चागमनमुखी राजनीतिलाई बलियो देखाउने भूमिकामा लागेका छन्। फेरि उनीहरू पलायन संस्कृतिमा रमाउँदैछन्, अराजकता र स्वछन्दतामा भविष्य देख्दैछ्न् अनि सञ्चार र सञ्जालहरूबाट भ्रमका खेती गर्दैछन्। जबसम्म यो खालको खराब भाष्य र चरित्रहरूको चर्चा भइरहन्छ, तबसम्म राजनैतिक स्थिरता र संवैधानिक गतिशीलतासहित देशले दिगो समृद्धिको यात्रा सहज ढंगले अघि बढाउन सक्दैन्। अहिले भइरहेको पनि त्यही हो।

आज हामी सामाजिक-आर्थिक रूपमा पछाडि पर्नु र राजनीतिक-कूटनीतिक रूपमा कमजोर हुनुको मुख्य कारण सतहमा हेर्दा राजनीति र राजनीतिक नेतृत्वमात्र दोषी देखिन्छ भने सारमा खोज्दा हाम्रो शैक्षिक, आर्थिक, प्रशासनिक, न्यायिक र सामाजिक प्रणालीको चरित्रमा खोट भेटिन्छ। जसले गर्दा देशमा अपेक्षित गतिमा विकास हुन सकेन अनि एकातिर सुशासन कायम भएन भने अर्कातिर जनता भ्रमित भाष्यमा रमाउने अवस्था बनिरह्यो।

पहिले जनता भ्रममा पर्दा सञ्चार माध्यमहरूले सत्य उजागर गरेर भ्रमहरूबाट मुक्त बनाउँथ्यो भने अहिले ठिक उल्टो भइरहेको छ, सञ्चार माध्यमहरूले नै भ्रमपूर्ण भाष्य व्यापक बनाउन सघाइरहेका छन्। सञ्चार माध्यमहरू स्वतन्त्र र निष्पक्ष भएर राज्यको चौथो अंग बन्न सकिरहेका छैनन्। फेरि सञ्चार माध्यमहरूमा स्वनियमन र स्वनियन्त्रण कमजोर भएको छ। यसले समाजलाई भ्रममा मात्र पारेको छैन, सामाजिक अराजकता र स्वछन्दता पनि बढाएको छ। हामीले बुझ्नुपर्छ, “सामाजिक अराजकता र स्वछन्दताले लोकतान्त्रिक प्रणाली बलियो र राज्यका संयन्त्रहरू प्रभावकारी बनाउन खोज्दैन्।” हिजोआज यही प्रवृत्तिको चर्चा बढेको छ। यसको प्रतिनिधित्व बहर अर्थात् बालेन, हर्क र रविहरूले गरिरहेका छन्। अनि यही मौकामा गणतन्त्र विरोधीहरू हौसिएर जुरमुराउन खोज्दैछन्।

हामीले बुझ्नुपर्छ, राजनैतिक तथा संवैधानिक व्यवस्था परिवर्तन भएपछि अपेक्षित गतिमा देशको अवस्थामा परिवर्तन नआउनुका पछाडिको मुख्य कारण हामी नेपालीको नकारात्मक मनोविज्ञान, पलायन संस्कृतिप्रतिको मोह, भ्रमपूर्ण भाष्य र भीडको आवाजमा आफ्नो भविष्य देख्ने मनोवृत्ति अनि दलाली प्रवृत्ति हो। यो मनोवृत्ति र प्रवृत्तिबाट मुक्त हुनासाथ एकातिर देशको अवस्था आशावादी देखिन थाल्नेछ भने अर्कातिर राजनैतिक स्थिरतासहित संवैधानिक गतिशीलताका साथ देश अगाडि बढ्ने छ। अनि समाजमा अराजकता र स्वछन्दता कमजोर बन्नेछ। विचारहीन राजनीति र चरित्रहीन नेतृत्वको नेतृत्वमा विवेकहीन विद्रोहको सम्भावना रहन्न। त्यसैले भोलिको राम्रो नेपाल बनाउने परिकल्पनालाई साकार बनाउने शिक्षा व्यवस्था अनिवार्य भएको सबै सरोकारवालाहरूले स्वीकार गर्नुपर्छ।

आज गुणस्तरीय शिक्षाबाट दीक्षित पुस्ताले भोलि गर्ने सबै व्यवहार र अभ्यास गुणस्तरीय हुनेछ। अनि न राजनीतिमा समस्या देखिने छ न त राज्यका संयन्त्रहरूमाथि नै प्रश्न उठ्ने छ। त्यसैले यति बेला दिगो भविष्य सुनिश्चित गर्नका लागि शिक्षा व्यवस्थामा आमूल परिवर्तन गरेर लगानी पनि बढाउनु पर्ने भएको छ। किनभने राम्रो शिक्षाबाट दीक्षित बुद्धिमानी र विवेकी नागरिकले विवेक प्रयोग गर्ने र वैचारिक राजनीति र चरित्रवान नेतृत्वको पक्षमा उभिने क्षमता देखाउँछ। छट्टुको ढाँट र भ्रमपूर्ण भाष्यको पछाडि लागेर समय र सामर्थ्य बर्बाद पनि गर्दैन्।

आयातित राजनीति, नीति र दान अनुदानले राष्ट्रिय स्वार्थ हेर्दैन। तर यसले हामीलाई भ्रमित बनाउन जनताको कुरा गरेर अलमल्याएको मात्र छैन बाह्य स्वार्थ बलियो बनाउने राजनीतिमा लगानी बढाउने वातावरण पनि बनाउँदैछ। आज हामीले बुझ्नुपर्छ, जसरी शरीरमा स्लाईन पानी लगाएर तिर्खा मेटिदैन् त्यसरी नै आयातित राजनीति, नीति र दान अनुदानले राष्ट्रिय स्वार्थ बलियो हुन दिंदैन् किनभने त्यो बाह्य शक्तिको रणनीति हो। आज त्यही रणनीतिबमजिमको लगानीबाट बहर, राजावादी र माझण्डहरू सक्रिय भइरहेका छैनन् भन्न सकिन्न।

आज आयातित मुद्दाहरू बोकेर अनि लोकतान्त्रिक गणतन्त्रलाई ठोकेर सदन र सडकमा होहल्ला गरेर आमजनतालाई भ्रममा मात्र पारिएको छैन हाम्रो बहुमूल्य समय र सामर्थ्यहरू खेर जाने अवस्था सिर्जना गरिदैछ। त्यसैले आयातित नीति र राजनीतिलाई चिनेर त्यसलाई बहिष्कार गर्दै देशमुखी नीति र राजनीतिको पक्षमा उभिने र बोल्ने क्षमता हामीले देखाउन सक्नुपर्छ। अहिले राजनीतिक दर्शनको टुंगो नभएकाहरू सदन र सडकबाट देशको अवस्था बदल्नु पर्छ भनेर नारा लगाउँदै छन् अनि बहर, माझण्ड र राजावादीहरू त्यसलाई सघाउँदै छन्। बहर र राजवादीहरूको लक्ष्य लोकतान्त्रिक गणतन्त्र खराब देखाउने राजतन्त्र फर्काउने र जनतालाई फेरि रैती बनाउने हो भने माझण्डहरूको लक्ष्य आफ्नो गिरेको राजनीतिक साख जोगाउने।

दर्शनहीन राजनीति, विवेकहीन विद्रोह र प्रदर्शनले अग्रगमन खोज्दैन्, प्रतिगमनमा पनि प्रगति देख्छ र त्यसमै रमाउँछ। अहिले बहरहरूको राजनीतिले त्यसकै संकेत गरेको छ। यसले देशको राजनीति प्रदुषितमात्र बनाएको छैन, देशमा अस्थिरता बढाउने प्रयास पनि गरिरहेको छ। यही मेसोमा राजावादीहरू राजतन्त्र फर्काउन सकिन्छ कि भन्ने प्रयासमा देखिन्छन् भने माझण्डहरू गिर्दो राजनीति साख जोगाउने प्रयास गरिरहेका छन्। जबकि उनीहरूको गतिविधि अग्रगमन होइन प्रतिगमनउन्मुख हुँदैछ।

सत्य के हो भने लोकतान्त्रिक गणतन्त्र भन्दा राजतन्त्र कुनैपनि कोणबाट प्रगतिशील हुँदैन। त्यसैले बहरहरूको राजनीति पनि प्रगतिशील होइन तैपनि उनीहरू लोकतान्त्रिक गणतन्त्रको उपयोग गरेर राजतन्त्र फर्काउने तयारीसहित गतिविधिहरू गरिरहेका छन्। हिजो पञ्चायत कालमा पञ्चायत फाल्न हरिबोल भट्टराई गणेशमानको लौरो भएका थिए आज लोकतान्त्रिक गणतन्त्र बदनाम गरेर राजतन्त्र फर्काउन बालेनलाई लौरो बोकाएर पठाइएको छ। तर समाज र समयको चरित्र सधैँ अग्रगमनमुखी हुन्छ न कि पश्चगमन तैपनि बहरहरू अग्रगमन रोक्ने प्रयास गरिरहेका छन्। तसर्थ बहरहरूबाट अग्रगमन सम्भव छैन भन्ने कुरो तिनका पछि लाग्नेहरूले मनन गरून् र भ्रममा नपरून्।

यति बेला राजनीतिमा विचार र नेतृत्वमा नैतिकता हराएपछि फलो र अनफलोको हल्ला गरेर बहरहरू आफ्ना निहित लक्ष्य लुकाउने र जनतालाई भ्रमित बनाउने खेलमा लागेका छन्। कुरो के हो भने अराजकता र स्वछन्दताको आयु हुन्न। तर भ्रमपूर्ण हल्ला केही समय चल्छ। त्यसैले राजनीतिक मुद्दामा केन्द्रीत राजनीति गरेर सुशासनमुखी सरकार चलाउन कांग्रेस र एमालेहरू सक्रिय बन्न सक्नुपर्छ। यो नै आजको मुख्य राजनीतिक कार्यभार हो।

लोकतान्त्रिक गणतन्त्रमा राजनैतिक स्थिरता र संवैधानिक गतिशीलतासहित समृद्ध नेपाल निर्माण गर्नका लागि देशले तपाईँ हामीबाट सकारात्मक योगदान खोजेको छ न कि बहर, राजावादी र माझण्डहरूले झैँ व्यवधान। त्यसैले असल नागरिकको परिचय दिने बेला भएको बुझौँ र भ्रमित भाष्यमा रमाउन छोडौँ। देशले हाम्रो सकारात्मक र सक्रिय योगदान खोजेको छ, व्यवधान होइन। त्यसैले आफ्नो शक्तिलाई चिनौँ र सकारात्मक रूपमा प्रयोग गरौँ। भ्रमित हल्ला र भीडको पछाडि नकुदौं। खराब पात्रहरूलाई महान् ठान्ने चेतनाले आक्रोश अर्थात् अराजकता र स्वछन्दतामा भविष्य देख्छ। व्यवस्थाका विरुद्ध लेख्छ र बोल्छ। आज ती पात्रहरूलाई चिन्ने र तिनको भण्डाफोर गर्ने समय हो न कि समर्थन।

नयाँ पुस्तालाई देशप्रति सकारात्मक र आशावादी बनाउन गुणस्तरीय शिक्षा र ठिक सूचनाहरूबाट प्रशिक्षित गरिरहने प्रणाली स्थापित गर्नुपर्छ। किनभने शिक्षामा हामीलाई सशक्तिकरण गर्ने शक्ति हुन्छ भने सञ्चारमा बलियो शक्ति बनाउने शक्ति छ भनेर हामीले बुझ्नुपर्छ। त्यसैले, शिक्षा र सञ्चारको सदुपयोग गरेर लोकतान्त्रिक गणतन्त्रमार्फत देशलाई समृद्ध बनाउने रणनीति र योजना बनाएर अघि बढौँ।

लोकतान्त्रिक प्रणालीमा स्वअनुशासन र स्वनियमन प्रधान हुन्छ। लेख्दा, बोल्दा वा विरोध गर्दा अराजकता र स्वछन्दता होइन स्वअनुशासन र स्वनियमनद्वारा निर्देशित हुने बानी बसालौँ। माझण्ड, बहर र राजावादीहरूले अपनाउन खोजेको अराजकता र स्वछन्दताको तर्कसँगत विरोध गरौँ किनभने उनीहरू लोकतान्त्रिक गणतन्त्र असफल बनाउन चाहन्छन्। त्यसैले हिजोआज उनीहरू दर्शन बिनाको प्रदर्शन गर्दै जनताको समर्थन जुटाउन भ्रमपूर्ण भाष्यको साहारा लिइरहेका छन्। जसलाई केही प्राज्ञिक भन्नेहरूले खुला समर्थन पनि गरिरहेका छन्। ती प्राज्ञिकहरू किन त्यस्ता भए खोजीको विषय बनाउनु पर्ने भएको छ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ५ : १८ बजे