एमसीसी बारे विषयमा छलफल गर्न देउवाले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौतालाई संसदमा पेश गर्नेबारेमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनुभएको छ । संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गर्न देउावाले आइतबारको लागि बैठक बोलाउनुभएको हो ।  देउवाले त्यसका लागि आइतवार अपरान्ह सर्वदलीय बैठक बोलाएका छन् ।

संसदमा एमालेको अवरोध र एमसीसी पेश गर्ने सन्दर्भमा सहमति जुटाउन सर्वदलीय बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ । सत्ता गठबन्धनका एक नेता माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनको बैठक बोलाउन देउवालाई आग्रह गरेपनि देउवाले सर्वदलीय बैठक बोलाउनुभएको हो  ।यसअघि प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक बहिस्कार गरिरहेको एमाले आइतवार जान्छ कि जाँदैन सर्वत्र चासोका साथ हेरिएको छ । 

एमसीसी टेबल गर्न सरकारमाथि दबाब छ । देउवा एमसीसी अहिलेकै अवस्थामा पारित गर्न चाहने पक्षमा भएपनि   सत्ता गठबन्धन भित्र यसबारेमा मत बाझिरहेको छ । 

प्रमुख विपक्षी एवं मुलुककै ठुलो दल  एमालेले भने सरकारले ल्याउने प्रस्ताव वा विधेयक पारित गर्नु सत्तारुढ दलहरुको काम भएकाले यसमा एमाले अनावश्यक रुपमा प्रोभोक नहुने बताउदै आइरहेको छ । 

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ५ : १३ बजे