‘नेशनल डे कन्सर्ट’ सम्पन्न

आर्थिक मन्दीको असर : महिनामा १० हजार बीमितले यसरी त्यागे डेढ अर्बको बीमालेख

काठमाडौँ । एकै महिना डेढ अर्ब रुपैयाँ बराबरको १० बढी बीमा पोलिसी सरेन्डर भएको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१–८२ को साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।

साउनमा १ अर्ब ५४ करोड ११ लाख १६ हजार रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको हो । एकै महिना १० हजार २९२ वटा बीमालेख सरेन्डर भएको प्राधिकरणले जनाएको छ ।

अवधि (परिपक्वता) नसकिदैं सरेन्डर गरिने जीवन बीमालेखको संख्या र सरेन्डर रकम बढ्दो नै छ । पछिल्लो समय देखिएको आर्थिक शिथिलताकै कारण बीमा सरेन्डर बढेको बताइन्छ ।

साउनमा सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी ) नेपालको देखिएको छ । कम्पनीको ५१ करोड ३४ लाख ३७ हजार रुपैयाँ बराबरको २ हजार ७१५ वटा बीमालेख सरेन्डर भएका छन् । यस्तै, नेपाल लाइफको पनि ४८ करोड ४१ लाख ३१ हजार रुपैयाँ बराबरको २ हजार ७३१ वटा बीमालखे सरेन्डर भएको प्राधिकरणले जनाएको छ ।

यस्तै, एशियन लाइफको पनि १३ करोड ५५ लाख ५३ हजार रुपैयाँ बराबरको ९७९ वटा बीमालेख सरेन्डर भएका छन् ।

यता, राष्ट्रिय जीवन बीमा कम्पनीको ७ करोड ८७ लाख ८९ हजार रुपैयाँ, हिमालयनको ७ करोड ७ लाख, नेशनलको ६ करोड ३८ लाख ८ हजार, सूर्य ज्योतिको ५ करोड ८५ लाख, मेट लाइफको ४ करोड ४९ लाख रुपैयाँ बराबरको सरेन्डर भएको छ । यी कम्पनीहरूको क्रमशः ७६७, ८४७, ३५४, ५५२ र ४१९ वटा बीमालेख सरेन्डर भएको छ ।

त्यसैगरि सानिमा रिलायन्सको २ करोड ६६ लाख बराबरको १७८ वटा बीमालेख आइएमईको २ करोड बराबरको २०१ वटा बीमालेख, सिटिजनको १ करोड ५९ लाखको १९० वटा, रिलायवल नेपालको १ करोड २१ लाखको २०४ वटा, प्रभु महालक्ष्मीको १ करोड ५ लाखको ८६ वटा र सन नेपाल लाइफको ५७ लाख बराबरको ६९ वटा बीमालेख सरेन्डर भएका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  २ : १४ बजे