साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

प्रतिनिधिसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ।प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरुले नागरिता, सडक निर्माण, चाडपर्वमा महँगी नियन्त्रण गर्नुपर्नेलगायत विषय उठाएका छन् ।

बैठकको शून्य समयमा सांसद अच्युतप्रसाद मैनालीले नेपालको संविधानमा कुनै पनि नागरिकलाई नागरिकताबाट वञ्चित नगरिने व्यवस्था गरिए पनि अहिले पनि सयौँ नेपाली नागरिकताविहीन भएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद अनिशा नेपालीले राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडक निर्माणमा तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद अब्दुल खानले सुन व्यवसायीले मनोमानी रुपमा ठगिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै सुनचाँदीसम्बन्धी छुट्टै कानुन ल्याएर काम गर्नुपर्ने बताउनुभयो ।

सांसद डा अमरेशकुमार सिंहले १७ लाख नागरिकले सवारी साधनको चालक अनुमतिपत्र नपाएको रसिदका भरमा हिँडिरहेको उल्लेख गर्दै सवारी साधन दर्ता र नवीकरण गर्ने काममा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सांसद ईश्वरबहादुर रिजालले नारायणघाटदेखि बुटवलसम्मको सडकको अवस्था अत्यन्तै नाजुक रहेकाले सडक निर्माणका लागि ठेक्का दिँदा समय कम लगाएर बनाउनेलाई दिन सरकारसँग माग गर्नुभयो ।

सांसद ईश्वरी घर्तीले शान्ति प्रक्रिया पूरा नहुँदा अझै पनि पीडितहरु न्यायको प्रतीक्षामा बसेको बताउनुभयो ।

सांसद एकनाथ ढकालले संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्रीको उपस्थिति महत्वपूर्ण रहेको र गरिबी निवारण, दिगो विकास, नेपाल लगानी र भ्रमणका लागि उत्कृष्ट गन्तव्य रहेकोबारे कुरा राख्नुपर्नेमा जोड दिनुभयो ।

सांसद कल्पना चौधरीले चाडपर्वमा घर जाने यात्रुलाई सहज रुपमा यातायातको व्यवस्था गर्न र चाडपर्वको समयमा हुने महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद कुसुमदेवी थापाले जलवायु परिर्वतनका जोखिमका कारण नेपाल जोखिममा पर्दै गएकाले सर्वोच्च अदालतबाट आवश्यक कानुन बनाउन दिएको आदेशको कार्यान्वयन नभएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद किरणकुमार साहले रौतहटको राजपुर नगरपालिकामा भ्रष्टाचार भएको तथा अन्य निकायमा पनि आर्थिक अनियमितता बढ्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद गणेश पराजुलीले सहकारी पीडितले कहिले न्याय पाउने भन्ने विषयमा गृहमन्त्री रमेश लेखकसँग जवाफ माग गर्नुभयो ।

सांसद गोमादेवी लाभले चाडपर्व आउन लाग्दा कालोबजारी बढ्दै जाने र सडक दुर्घटना भएर धेरै धनजनको क्षति हुने गरेकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद चन्द्रबहादुर विश्वकर्माले भूकम्पबाट प्रभावित जाजरकोट र रुकुममा अहिलेसम्म पुनः निर्माण प्रक्रिया सुरु नभएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद जावेदा खातुन जागाले उपसभामुख ईन्दिरा रानाले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिनुभयो ।

शून्य समयमा बोल्ने सबै सांसदले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसका अवसरमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दै मुलुकले महत्वपूर्ण व्यक्ति गुमाएको भन्दै दुःख व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ६ : ०६ बजे