साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

योगेश भट्टराईले बोलेको ‘हिंसा’ भन्ने शब्द असंसदीय ठहर भएन, अभिलेखबाट हटाउनु नपर्ने

काठमाडौँ । गत भाद्र १२ गते प्रतिनिधि सभा बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले बोलेको हिंसा भन्ने शब्द असंसदीय शब्द नदेखिएको भन्दै संसदको अभिलेखबाट नहट्ने भएको छ ।

बुधवारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले सांसद भट्टराईले भाद्र १२ गते बोलेको हिंसा भन्ने शब्द असंसदीय नभएको ठहर भएको बताउनुभएको हो । उहाँले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१ मा भएको व्यवस्था र मिति २०८१ भाद्र १८ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफल र सचिवालयको राय समेतका आधारमा सो शब्द असंसदीय शब्द नदेखिएको बताउनु भयो । उहाँले सो शब्द संसदको अभिलेखबाट हटाउनु नपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘२०८१ साल भाद्र १२ गतेको प्रतिनिधि सभा बैठकमा माननीय योगेश कुमार भट्टराईले विशेष समयमा बोल्ने क्रममा हिंसा भन्ने शब्द प्रयोग गर्नुभएकोमा सो शब्द असंसदीय रहेकोले संसदको अभिलेखबाट हटाइयोस् भनी नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक माननीय हितराज पाण्डेसहितका माननीय सदस्यहरूले विषय उठान गर्नुभएकोमा प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ मा भएको व्यवस्था, मिति २०८१ भाद्र १८ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफल र सचिवालयको राय समेतका आधारमा विषय, प्रसंग र प्रस्तुतिलाई बिचार गर्दा उक्त हिंसा भन्ने शब्द असंसदीय शब्द नदेखिएको हुँदा संसदको अभिलेखबाट हटाउनु नपर्ने ब्यहोरा जानकारी गराउँछु । साथै पछिल्ला बैठकहरूमा कतिपय सन्दर्भमा प्रतिकात्मक शब्द प्रयोग गर्दा पनि नियमापत्ति गर्ने र शब्दमा बहस हुने गरेको पाइएको छ । माननीयज्युहरुलाई संसदमा प्रस्तुत हुँदा शब्द चयनमा सचेतता अपनाउन आग्रह गर्दै प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१ को व्यवस्था स्मरण गराउन चाहन्छु ।’

उहाँले पछिल्लो समय प्रतिकात्मक शब्द प्रयोग गर्दा पनि नियमापत्ति गर्ने र शब्दमा बहस हुने गरेको भन्दै सांसदहरूलाई संसदमा प्रस्तुत हुँदा शब्द चयनमा सचेत रहन रुलिङ गर्नुभयो । 

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  २ : ३७ बजे