कांग्रेस यथास्थितिमा चल्न सम्भव छैन : डा. कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले १४औँ महाधिवेशनले पार्टी यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश दिएको बताउनुभएको छ ।

प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग १४औँ महाधिवेशनमा प्रतिस्पर्धा गर्नुभएका डा कोइरालाले आज विज्ञप्ति जारी गर्नुहुँदै महाधिवेशनबाट आउने परिणामको महत्व आफ्नो ठाउँमा भए पनि पार्टी यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश कांग्रेसजन र नेपाली जनताको घरदैलोमा पुर्‍याएको बताउनुभयो । “पार्टीमा झाँगिएको अराजनीतिक प्रवृत्तिविरुद्ध मेरो लडाइँ हो”, उहाँले भन्नुभयो ।

पार्टीलाई जवाफदेही, उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउनका लागि ऊर्जावान युवालाई लिएर आफू अगाडि बढेको कोइरालाको भनाइ थियो । निर्वाचनमा पराजित भए पनि राजनीति जितेको उहाँले बताउनु भयो  ।  

उहाँले आफूलाई प्राप्त मतले काँग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउने थप जिम्मेवारी आफ्नो काँधमा आएको उल्लेख गर्दै भन्नुभएको छ, ‘मलाई प्रतिनिधि साथीहरूबाट प्राप्त ४० प्रतिशत मतले म भावविभोर भएको छु । प्रतिनिधि साथीहरुले म प्रति देखाएको विश्वास र भरोसा प्रति म अविचलित रहने प्रण गर्दछु । उहाँले पार्टी भित्र रुपान्तरण र परिवर्तनको सहज नभएको पनि उल्लेख समेत गर्नुभएको छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ४ : ०५ बजे