साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

खुटिया नदीमा जैविक तटबन्धको काम सुरु

अत्तरिया (कैलाली)। धनगढी उपमहानगरपालिकाले खुटिया नदीमा जैविक तटबन्ध गर्न सुरु गरेको छ । उपमहानगरले डुबान र कटानलाई मध्यनजर गर्दै खुटिया नदी किनारमा जैविक तटबन्धन गर्न सुरु गरेको हो ।

उपमहानगरका वडा नं ७, १२, १५ र १७ भएर बग्ने खुटिया नदीमा डुबान र कटान रोक्नका लागि जैविक तटबन्ध सुरु गरिएको नगरप्रमुख गोपाल हमालले जानकारी दिनुभयो । उहाँले यसवर्ष खुटिया नदी किनारको ३० किलोमिटर क्षेत्रमा छ हजार चाप जातको बाँस, छ हजार छ सय अम्रिसो र छ हजार छ सय नेपियरका बिरुवा रोप्ने लक्ष्य रहेको बताउनुभयो ।

नगरप्रमुख हमालले जैविक तटबन्धबाट भूक्षय रोकिनुका साथै पर्यावरणमा स्वच्छता आउने र बाँसका बोट हुर्केपछि त्यसबाट स्थानीय समुदायले लाभ लिनसक्ने अपेक्षासहित काम अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जैविक तटबन्धले डुबान र कटानको समस्या कम हुने नै भयो, यससँगै बाँस उत्पादनबाट स्थानीयले आयआर्जन पनि गर्न सक्नुहुन्छ, जसले रोजगारी पनि सिर्जना हुने अपेक्षा छ ।”

उक्त तटबन्ध उपमहानगर र जर्मन अन्तर्राष्ट्रिय सहयोग नियोग (जीआइजेड) को ग्रेप परियोजनाको संयुक्त साझेदारीमा गर्न लागिएको हो । यसका लागि रु १७ लाखको खर्च गर्न लागिएको उपमहानगरका इञ्जिनियर अशोक अवस्थीले जानकारी दिनुभयो । मङ्गलबार वडा नं १५ को बेली कनरी पुलबाट नगरप्रमुख हमालले बाँसको बिरुवा रोपेर सुरु गरेको तटबन्ध ३० किलोमिटरसम्म जारी रहने उपमहानगरले जनाएको छ ।

खुटिया नदीमा आउने बाढीले बर्सेनि उपमहानगरका विभिन्न वडामा डुबान र कटानको समस्या हुँदै आएको छ । जैविक तटबन्धन निर्माणपछि डुबान र कटानको समस्या कम हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ६ : ४७ बजे