अन्नपूर्णमा घरमै प्रसूति हुनेको सङ्ख्या शून्य

म्याग्दी।म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा घरमा प्रसूति हुनेको सङ्ख्या शून्यमा झरेको छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै विभिन्न समस्या देखिने गरेकाले पालिकाले स्वास्थ्य संस्थामै प्रसूति गराउने अभियान सुरु गरेको थियो ।

प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन सुरु गरिएको अभियान सफल भएको र घरमा प्रसूति हुनेको सङ्ख्या शून्य बनाइएको स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले जानकारी दिनुभयो । “अन्नपूर्णका सबै गर्भवतीहरूले पछिल्लो एक वर्षयता स्वास्थ्य संस्थामा पुगेर दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिएका छन् । घरमा प्रसूति हुनेको सङ्ख्या शून्यमा झारेका छौँ”, उहाँले भन्नुभयो, “यसलाई कायम राख्नका लागि सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइरहेका छौँ ।”

यहाँ आर्थिक वर्ष २०८०÷८१ मा शतप्रतिशत ९१ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन् । आव २०७९÷८० मा एक सय ३९ मध्ये एक सय ३५ जनाले संस्थागत प्रसूति सेवा लिँदा एक जनाले मात्र घरमा र चार जनाले मृत बच्चा जन्माएका थिए । आव २०७८÷७९ मा पालिकामा एक सय २७ जनाले संस्थागत प्रसूति सेवा लिएका थिए ।

घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भ परीक्षण नगराउने समस्या हटाउन पालिकाले ‘आमासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गरेको छ । तोकिएको समयमा नियमित गर्भ परीक्षण र संस्थागत प्रसूति सेवामा पहुँच बढाएर मातृ शिशु मृत्युदर घटाउन, स्वास्थ्य र पोषण सुधार गर्न कार्यक्रम प्रभावकारी बनेको उपाध्यक्ष दिवा तिलिजा पुनले बताउनुभयो । “गर्भवती र सुत्केरीलाई अण्डा, भाले, घ्यू, सर्वोत्तम पिठो र न्यानो कपडा वितरण गर्न गत आवमा आमासँग जनप्रतिनिधि कार्यक्रमका लागि रु सात लाख बजेट विनियोजन भएको थियो”, उहाँले भन्नुभयो, “यस वर्ष उक्त कार्यक्रमलाई रु चार लाखसहित स्वास्थ्यसम्बन्धी कार्यक्रममा रु ९१ लाख विनियोजन भएको छ ।”

तोकिएको मितिमा चार पटक गर्भ परीक्षण गर्दा हरेक पटक एक÷एक क्रेट अण्डा र संस्थागत प्रसूति हुनेलाई जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरमै पुगेर एउटा कुखुराको भाले र आधा लिटर घ्यू दिने गरिएको छ । सुत्केरी भएपछि पनि तीन पटक सुत्केरी जाँच गर्नेलाई थप एक क्रेट अण्डा, एक किलोग्राम सर्वोत्तम पिठो र बच्चालाई न्यानो कपडा दिने गरिएको छ ।

उपहार दिन थालिएपछि गर्भ परीक्षण गराउने र संस्थागत प्रसूति सेवा लिने दर शतप्रतिशत भएको हो । नियमित गर्भ र सुत्केरी परीक्षण गराउँदा आमा र बच्चाको स्वास्थ्य अवस्था तथा समस्या पहिचान गरेर जोखिमको व्यवस्थापन गर्न सहज भएको घार स्वास्थ्य चौकीका प्रमुख विमला केसीको भनाइ छ । “गर्भवती र सुत्केरीको खानपान, सरसफाइ र स्याहारसुसारमा जागरण आएको छ । उपहार दिइने अण्डा, घ्यू, सर्वोत्तम पिठो र भाले स्थानीय उत्पादन प्रयोग गरिएकाले यसबाट अन्यले पनि लाभ लिएको छन्”, उहाँले भन्नुभयो ।

आठ वडा रहेको अन्नपूर्णको दोवा, दाना र नारच्याङबाहेक भुरुङ–तातोपानी, शिख, घार, हिस्तान र राम्चेका स्वास्थ्य संस्थामा प्रसूति सेवा केन्द्र छन् । वडा नं ५ मा पर्ने पाउद्वारको सामुदायिक स्वास्थ्य एकाइमा पनि प्रसूति केन्द्र सञ्चालनमा छ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ६ : ३० बजे