‘नेशनल डे कन्सर्ट’ सम्पन्न

७२ लाख शरणार्थी बालबालिका शिक्षाको पहुँचबाट वञ्चित

जेनेभा (स्विट्जरल्यान्ड) । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) ले विश्वव्यापी शरणार्थी शिक्षा र भर्नामा उल्लेखनीय प्रगति हासिल भएको तर अझै पनि विश्वका एक करोड ४८ लाख विद्यालय जाने उमेर पुगेका शरणार्थी बालबालिकामध्ये लगभग आधा विद्यालय जानबाट वञ्चित भएको जनाएको छ ।

यस वर्ष यूएनएचसीआरले जारी गरेको शरणार्थी शिक्षा प्रतिवेदन अनुसार ६५ शरणार्थी आयोजक देशहरूको तथ्याङ्कले लगभग ७२ लाख शरणार्थी बालबालिका असुरक्षा, समावेशी शिक्षा नीतिको अभाव, क्षमता र भाषा अवरोध जस्ता कारणले गर्दा शिक्षाबाट वञ्चित छन् ।

प्रतिवेदनले सन् २०२२/२३ को शैक्षिक वर्षका लागि शरणार्थीको औसत कुल भर्नादर पूर्वप्राथमिक तहका ३७ प्रतिशत, प्राथमिक तहका लागि ६५ प्रतिशत र माध्यमिक तहका लागि ४२ प्रतिशत रहेको देखाएको छ ।

शरणार्थी शिक्षामा विभिन्न अवरोधको बाबजुद पनि विगत पाँच वर्षमा आशाजनक प्रगति भएको युएनएचसीआरले पुष्टि गरेको छ । नयाँ प्रतिवेदनले शरणार्थीहरूका लागि शिक्षाको पहुँच केही प्रमुख आयोजक देशमा विस्तार भएको सङ्केत गरेको छ। यसबाहेक कममात्रै शरणार्थीहरू राष्ट्रिय परीक्षामा समावेश भए पनि पास दर उच्च र कहिलेकाहीँ राष्ट्रिय औसतभन्दा बढी पनि रहेको पाइएको छ ।

युएनएचसीआरले सन् २०३० सम्म शरणार्थीको शिक्षाको अधिकारलाई सम्बोधन गर्न दिगो अन्तर्राष्ट्रिय सहयोग र नवीन साझेदारीलाई निरन्तरता दिन आयोजक राज्य, सरकार, दाता र साझेदारहरूलाई आह्वान गरेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  २ : २८ बजे