देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सञ्चयकर्तालाई आकर्षित पार्ने गरी काम गर्न कोषलाई अर्थमन्त्रीको निर्देशन

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारी सञ्चय कोषले उपलब्धिको कोणबाट सञ्चयकर्तालाई आकर्षित पार्ने गरी काम गर्ने निर्देशन दिनुभएको छ ।


मंगलवार कर्मचारी सञ्चय कोषसँगको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो निर्देशन दिनुभएको हो । अर्थमन्त्री पौडेलले कोषले सञ्चयकर्तालाई नोक्सानीको आधारमा नभई उपलब्धिका आधारमा आकर्षित गर्ने गरी काम गर्न आग्रह गर्नुभयो । उहाँले कर्मचारी सञ्चय कोषको सबैभन्दा ठुलो आधार र भविष्य सञ्चयकर्ता भएको भन्दै कोषले सञ्चयकर्ताहरूको विश्वास टुट्न नदिने गरी विश्वासलाई बलियो बनाउँदै लैजान आवश्यक रहेको बताउनु भयो । उहाँले कोषले सकेसम्म न्यून जनशक्तिबाट अधिकतम काम गर्न पनि आग्रह गर्नुभयो । उहाँले दक्ष र क्षमतावान् जनशक्तिलाई लिएर काम गर्न पनि निर्देशन दिनुभयो । उहाँले नेपालमा रोजगारीको पनि आवश्यकता भए पनि अन्य क्षेत्रले रोजगारीको क्षेत्रमा काम गरिरहेको भन्दै प्रविधिको प्रयोग हुने कर्मचारी सञ्चय कोष,बैंक तथा वित्तीय संस्था र अन्य निकायहरू सबैले सकेसम्म कम जनशक्तिबाट धेरै काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले संस्थाहरूले जनशक्तिलाई सेवा सुविधा,मर्यादा,इज्जत दिँदै कर्मचारीले आफ्नो भविष्य देख्ने गरी ढोका खोलिदिनुपर्ने बताउनु भयो । उहाँले कोषमा ५ सय दरबन्दी धेरै भए पनि अहिले ३७१ जनाले काम गरिराखेको भन्दै थप जनशक्ति थप्न आवश्यक नदेखिएको उल्लेख गर्नुभयो ।  

उहाँले भन्नुभयो,‘सञ्चय कोषमा सञ्चयकर्ताहरूले कोषमाथि भरोसा गरेका हुन्छन् । कोषको सबैभन्दा ठुलो आधारमा र भविष्य भनेको सञ्चयकर्ताहरू नै हो । सञ्चयकर्ताहरूको विश्वास टुट्न नदिने गरी प्रतिदिन विश्वासलाई बलियो बनाउँदै जाने गरी कोषले काम गर्नुपर्छ । सञ्चय कोषप्रति सञ्चयकर्ताको विश्वास र भरोसा नटुटोस् भन्ने कुरामा ख्याल गर्नुहोला । कोषले सञ्चयकर्तालाई निक्षेप  रहने तहमा होइन । सञ्चयकर्तालाई आकर्षित गर्नुस् । सञ्चयकर्तालाई आकर्षित गर्दा क्षति नोक्सानीको कोणबाट होइन । उपलब्धिको कोणबाट हेर्नुस् । तपाईँहरूले सकेसम्म न्यून जनशक्तिबाट अधिकतम काम गर्नुस् । इफिसेन्ट जनशक्तिलाई लिएर काम गर्नुस् । तर नेपालमा रोजगारीको पनि आवश्यकता छ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतका माध्यमबाट काम गरिरहेको छ । कर्मचारी सञ्चय कोष,बैंक तथा वित्तीय संस्था र अन्य निकायहरू सबैले सकेसम्म कम जनशक्तिबाट धेरै काम लिनुपर्छ । उक्त जनशक्तिलाई सेवा सुविधा,मर्यादा,इज्जत दिनुपर्छ । कर्मचारीले आफ्नो भविष्य त्यहाँ खोज्न सक्ने ढोका खोलिदिनुपर्छ । ५ सय दरबन्दीमा ३७१ ले काम गरिराख्नुभएको छ । कोषमा दरबन्दी धेरै भयो । ३७१ कर्मचारीले गर्नु भएकै छ । कोष ओएमएनमा जानुपर्छ । दरबन्दी आवश्यकता अनुसार घट्ने र बढ्ने गर्छ ।’


उहाँले नयाँ प्रविधिको प्रयोगले जनशक्ति व्यवस्थापन सहज हुँदै आएको बताउनु भयो । उहाँले प्रविधिको प्रयोगले थोरै जनशक्तिबाट पनि धेरै काम लिन सकिने भएकाले कोषले सोही बमोजिम काम गर्नुपर्ने बताउनु भयो । 

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  १ : ०० बजे