अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव सिफारिस

काठमाडौं । सरकारले अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवलाई सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कांग्रेस नेतृ यादवलाई अष्ट्रेलियाको राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

सरकारले यसअघि अष्ट्रेलियाको राजदूतमा कान्ता रिजालको नाम सिफारिस गरेको थियो । तर, रिजाल इजरायलको राजदूतबाट फिर्ता हुँदा सहयोगीलाई स्वदेश नर्फकाएको उजुरी परराष्ट्र मन्त्रालयमा परेपछि उहाँको सट्टा यादवलाई सिफारिस गरिएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिनुभएकी नेतृ यादव यसअघि शिक्षामन्त्री भइसक्नुभएको छ । उहाँ पार्टीको कोषाध्यक्षको जिम्मेवारीमा पनि पुगिसक्नुभएको नेतृ हुनुहुन्छ । २०७९ को निर्वाचनमा भने उहाँ जसपा नेपालका राजकिशोर यादवसँग पराजित हुनुभएको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  १० : २२ बजे