रेडियो नेपालका नवनियुक्त कार्यकारी निर्देशकद्वारा पदभार ग्रहण

काठमाडौँ । रेडियो नेपालका नवनियुक्त कार्यकारी निर्देशक अमरध्वज लामाले आज पदभार ग्रहण गर्नुभएको छ ।

पदभार ग्रहण गर्नुहुँदै नवनियुक्त कार्यकारी निर्देशक लामाले रेडियो नेपालको प्रसारणलाई अझ बढी समावेशी र व्यावसायिक बनाउने गरी आफूले काम गर्ने बताउनुभयो ।

कार्यकारी निर्देशक लामाले प्रसारण सेवाको विकास र विस्तारका लागि सामूहिक प्रयासको आवश्यकता रहेको भन्नुहुँदै एकीकृत कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यकारी निर्देशक लामाले कर्मचारीहरूलाई सहज र उत्साहजनक वातावरणमा काम गर्नसक्ने गरी नतिजामुखी प्रणालीको व्यवस्था गर्ने बताउनुभयो ।

प्रदेश प्रसारण केन्द्रहरूलाई स्रोतसाधन सम्पन्न बनाउने, महिला कर्मचारी तथा अपाङ्गता भएका कर्मचारीहरूका लागि काम गर्ने सहज वातावरणको व्यवस्थापन गर्ने पनि कार्यकारी निर्देशक लामाले उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ६ : ३७ बजे