मङ्सिर र पुस यी दुई महिनाभित्र नेपालका सबै ठुला राजनीतिक दलका महाधिवेशन सम्पन्न हुँदै छन्, जसका कारण राजनीतिमा चासो राख्ने सबैमा गरमाहट बढेको छ । चाहे आफू नेतृत्वमा स्थापित हुन होस् वा आफूले चाहेको नेतृत्व स्थापित गर्न होस्, सबै दलका नेता कार्यकर्ताहरू छलफल, बहसमा केन्द्रित भएका देखिन्छन् ।
समग्रमा पार्टीहरूका सम्पन्न हुने राष्ट्रिय महाधिवेशन÷सम्मेलनहरूले नेता—कार्यक्रर्ताहरूमा राजनीतिक जागरूकता बढाएको छ । साथै, मौसम चिसो भए पनि दलहरूका राष्ट्रिय महाधिवेशनको सरगर्मीले सबैलाई न्यानोको अनुभूति गराएको छ । सबै दल विशेष गरी नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र र राप्रपाका नेता—कार्यकर्ता राजनीतिक मैदानमा छन् ।
एमाले र राप्रपाका नेता तथा कार्यकर्ता महाधिवेशनको समीक्षामा व्यस्त छन् भने काँग्रेसको १४औँ महाधिवेशनको मतगणना जारी छ । माओवादी पनि प्रदेश स्तरका अधिवेशन गर्दै राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको देखिन्छ । यी पार्टीहरूका नेता तथा कार्यकर्ता आसन्न महाधिवेशनमा नयाँ नेतृत्व निर्माणमा आफ्नो भूमिका खोजिरहेको देखिन्छन् ।
यसै सन्दर्भमा नेपालको ठुलो राजनीतिक दल नेकपा एमालेले असोजमा १५ देखि १७ ललितपुरमा विधान महाधिवेशन गरी यही मङ्सिर १० देखि १२ गते नेतृत्व निर्माणका निम्ति दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको छ ।
उक्त महाधिवेशनबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा १९ जना पदाधिकारीसहित ३ सय १ जनाको केन्द्रीय कमिटी निर्वाचित गरेको छ । यस बीचमा स्थायी कमिटी, पोलिट्ब्यूरो गठनलगायत केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको कार्य विभाजन गरेको छ । सल्लाहकार परिषद्को अध्यक्ष पनि बनाइसकेको छ ।
नेकपा एमालेले महाधिवेशन सम्पन्न गर्दै गर्दा थुप्रै नकारात्मक र थोरै सकारात्मक टीकाटिप्पणी विभिन्न सञ्चार माध्यममार्फत सम्प्रेषण भएका थिए । एमालेको महाधिवेशन कर्मकाण्डमा मात्र सीमित हुन्छ भन्दै अनुमान र ठोकुवा गर्ने व्यक्ति नै महाधिवेशनको अवधिमा केही मिडियाका आकर्षण बनेका देखिन्थे । यी र यस्ता अनगिन्ती चुनौतीका बाबजुद नेकपा एमालेले विस्तारित र व्यापक लोकतान्त्रिक प्रणालीको अभ्यास र अनुसरण गरी नेपालको इतिहासमा पहिलो पटक पूर्ण समावेशी कमिटी निर्माण गर्ने पहिलो दल बन्दै चितवनबाट फर्केको छ ।
नेकपा एमालेले नेपालका राजनीतिक दलहरूको इतिहासमा पहिलो पटक प्रथम राष्ट्रिय विधान महाधिवेशन असोज १५ गतेदेखि १७ गतेसम्म ललितपुरमा सम्पन्न गरेको थियो । एमालेले अङ्गीकार गर्ने नीति, विधि, विचार र पद्धतिका बारेमा छुट्टै छलफल गरी राजनीतिक प्रस्ताव, सांंगठानिक प्रस्ताव र विधान संशोधन प्रस्ताव पारित गरेको थियो । यसो गरेर पार्टी नेतृत्व निर्माणका लागि राष्ट्रिय महाधिवेशन तोकेको थियो अर्थात् दशौँ राष्ट्रिय महाधिवेशन नेतृत्व निर्माणको महाधिवेशन थियो ।
राष्ट्रिय महाधिवेशन पूर्व सम्पन्न गरिएका वडा र पालिका अधिवेशनहरूको मितिमा एकरूपता गर्ने कुरा पनि एमालेका निम्ति पहिलो अभ्यास थियो । तत्कालीन माले र मार्क्सवादी पार्टीको एकीकरणपश्चात् २०४७ मा बनेको नेकपा एमालेले सधैँ आफूलाई समयानुकूल समीक्षा र नवीकरण गरेको पाइन्छ । यसको निरन्तरता कायम राख्न वर्तमान पार्टी नेतृत्व सफल भयो ।
नेपालको सन्दर्भमा २०४९ अघि विशेष गरी चीन, सोभियत सङ्घ, भारत, उत्तर कोरिया, भियतनाम र पेरु लगायतका देशका कम्युनिष्ट पार्टीहरूका प्रतिकृतिका रूपमा नेपालका कम्युनिष्ट पार्टीहरू काम गरिराखेको आरोप र यथार्थ आम थियो । तर, पछि नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको अगुवाइमा २०४९ मा जनताको बहुदलीय जनवाद नामक लोकतान्त्रिक कम्युनिष्ट विचारको नयाँ धारको विकासले नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँपन थपिएको थियो ।
त्यस्तै, सरकार सञ्चालनको सन्दर्भमा पनि नेकपा एमाले २०५१ सालको आमनिर्वाचनपश्चात् तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा नौ महिना सरकार सञ्चालन गर्दा र तत्कालीन सरकारले सामाजिक न्यायका निम्ति उल्लेखनीय, उदाहरणीय काम गरेर कम्युनिष्ट पार्टीलाई हेर्ने आम दृष्टिमा सकारात्मक बदलाव आएको थियो । त्यही अल्पमतको सरकारका राम्रा कामका कारण परम्परागत शैलीमा सरकार सञ्चालन गर्दै आएका तत्कालीन शासकहरू नयाँ तरिकाले सोच्न बाध्य भएका थिए । त्यसपछि बनेका नेपाली काँग्रेस लगायतका दक्षिणपन्थी पार्टीका सरकारले जन पक्षीय काम गर्न नसके पनि कुरा जन पक्षीय गर्न आरम्भ गरेको इतिहास छ ।
नेकपा एमालेको विगतदेखि वर्तमान सम्मका कामको समीक्षा गर्दा माधव नेपाल र झलनाथ खनाल बाहेक तत्कालीन महासचिव मदन भण्डारी, मनमोहन अधिकारी र वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीको पालामा पार्टीमा केही नयाँ आयाम स्थापित गरेको पाइन्छ । कमरेड मदन भण्डारीले विचारको क्षेत्रमा, कमरेड मनमोहनले सामाजिक न्यायको क्षेत्रमा र कमरेड केपी ओलीले राष्ट्रियता, विकास निर्माण र पार्टीको सङ्गठनात्मक संरचना पूर्ण समावेशी बनाउने क्षेत्रमा अतुलनीय योगदान गरेको देखिन्छ ।
जबजको व्यावहारिक सफलताका कारण नवौँ राष्ट्रिय महाधिवेशनबाट नेकपा एमालेले आफ्नो मार्गदर्शक सिद्धान्त बनाएको थियो । जबजको मार्गदर्शनमा समाजवादका आधार तयार गर्ने लक्ष्य बोकेको एमालेले आफ्नो राजनीतिक इतिहासमा कहिले वैचारिक र कहिले सांगठानिक स्वरूपहरूमा नयाँपन दिँदै आएको छ ।
प्रथम विधान महाधिवेशनमा जबजको जगमा विद्यमान समाजका चरित्रका बारेमा व्यापक छलफल गरी जबजको मार्गदर्शनमा समाजवादका आधार तयार गर्ने सर्वसम्मत निष्कर्ष निकालेको थियो । त्यस्तै, भर्खरै चितवनमा सम्पन्न भएको दशौँ राष्ट्रिय महाधिवेशनले जबजको कार्यान्वयनका निम्ति प्रतिस्पर्धा र सर्वसम्मति दुवै प्रणालीको व्यावहारिक अभ्यासमार्फत कमरेड केपी शर्मा ओलीको नेतृत्वमा पार्टीको सङ्गठनात्मक संरचनामा नयाँपन दिन सफल भएको छ । नेपालको संविधानले व्यवस्था गरे बमोजिम संविधान कार्यान्वयन गर्ने नेपालको पहिलो राजनीतिक दल एमाले भएको छ ।
स्वाभाविक रूपले नेकपा एमाले लोकतान्त्रिक कम्युनिष्ट पार्टी हो । यसले अभ्यास गर्ने लोकतन्त्र प्रगतिशील लोकतान्त्रिक प्रणाली अन्तर्गत हुन्छ, जुन बुर्जुवा लोकतान्त्रिक शक्तिहरूले अभ्यास गर्नेभन्दा फरक क्रान्तिकारी व्यापक, विस्तारित र उन्नत स्तरको लोकतन्त्र हो । नेकपा एमालेले प्रगतिशील लोकतान्त्रिक प्रणालीको व्यावहारिक अभ्यास वडा अधिवेशन, पालिका अधिवेशन हुँदै राष्ट्रिय महाधिवेशन गरेको छ ।
सर्वसम्मति लोकतान्त्रिक प्रणालीमा गरिने उन्नत प्रयास हो र यो सबैभन्दा सुझबुझपूर्ण प्रक्रिया पनि हो । सर्वसम्मत पनि एउटा विधि भएकाले प्रयास गर्ने कुरा नेतृत्वको पहिलो दायित्व र कर्तव्य पनि हो । एमालेको नेतृत्वले चितवनमा यस्तो प्रयास गर्दा लोकतन्त्र मासियो भन्नेहरूले प्रतिनिधिको मनोविज्ञानको ख्याल नगरी हौसिने कुरा उचित थिएन ।
महाधिवेशनको परिणामले के देखाएको छ भने आन्तरिक प्रतिस्पर्धा थप एकताका निम्ति सहकार्यको माध्यम बन्नुपर्छ र प्रतिनिधिहरूको मनोविज्ञान नबुझी विधिको नाममा बलजफती मैदानमा उत्रिने कुरा लोकतन्त्र हुन सक्दैन भन्ने सन्देश चितवन महाधिवेशनले दिएको छ ।
एमालेले सम्पन्न गरेका तीनै तहका अधिवेशनमा प्रतिस्पर्धाको नाममा हात हालाहाल र रक्तपात नहुने देखेपछि केही बुर्जुवा लोकतन्त्रवादीहरूले चिन्ता गरेका थिए । तिनीहरूका केही बाछिटा महाधिवेशन स्थलमा पुर्याउने भरमग्दुर प्रयास गरे पनि सफल हुन सकेनन् ।
नेकपा एमाले नेपालका अन्य राजनीतिक दलमा क्रियाशील कार्यकर्ताहरूका लागि उदाहरण बनेको छ । एमालेले आफ्नो राष्ट्रिय महाधिवेशनमार्फत सबै क्षेत्र, भेग, वर्ग, समुदाय र लैङ्गिकताको सवालमा आफ्नो नव निर्वाचित भएको केन्द्रीय कमिटीमा सबैको प्रतिनिधित्वको सुनिश्चितता गरेको छ । त्यस्तै विचार के हो रु हामी कुन विचारबाट निर्देशित छौँ भन्ने कुरा थाहा नपाएका अन्य पार्टीका कार्यकर्ताले भोलिका दिनमा एमालेले गरेझैँ छुट्टै विधान महाधिवेशन पनि गर्नुपर्छ भन्ने माग उठाउनेछन् ।
समग्रमा नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन नेपालको राजनीतिक इतिहासमा राम्रा पक्षको निरन्तरता दिँदै महिला, युवा, दलित र जनजाति लगायतका समावेशी क्षेत्रको उत्साहपूर्ण सहभागिता स्थापित गरी नयाँ सन्देश दिन सफल भएको छ ।
नेपालका ठुला दलहरूले पनि एमालेको यो अभ्यास अवलम्बन गर्न पर्नेछ । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन नेकपा एमालेका लागि मात्र होइन, नेपालका सबै दलका लागि उदाहरण बनेको छ । कुनै दलले चाहेर होस् वा नचाहेर, नेकपा एमालेको सिको गर्नुपर्ने बाध्यता छ । नेकपा एमाले सधैँ झैँ यस महाधिवेशनपछि पनि राष्ट्रिय राजनीतिमा आकर्षणको केन्द्र हुन सफल भएको छ ।
(लेखक राजनीतिकर्मी हुनुहुन्छ ।)
प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार १० : ०६ बजे
प्रतिक्रिया