‘नेशनल डे कन्सर्ट’ सम्पन्न

उपराष्ट्रपतिबाट पलेशा सम्मानित

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले पेरिस पारा ओलम्पिक २०२४ मा नेपालका लागि पहिलो पटक कास्यपदक विजेता पलेशा गोवर्धनलाई सम्मान गर्नुभएको छ ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा गोवर्धनलाई सम्मान गर्नुहुँदै उपराष्ट्रपति यादवले पलेशाले देशको नाम उच्च राख्नु भएकामा सम्पूर्ण नेपाली खुसी भएका बताउनुभयो । “पलेशाले नेपालका लागि इतिहास रच्दै विश्वभरि छरिएर रहेका नेपालीलाई गौरवान्वित हुने सुनौलो अवसर प्रदान गर्नुभएको छ”, उहाँले भन्नुभयो, यो ऐतिहासिक सफलता उहाँको अथक परिश्रम, दृढ सङ्कल्प, उत्कृष्ट प्रदर्शन तथा समर्पणबाटै प्राप्त भएको हो । यसका लागि पलेशालाई हार्दिक बधाइ तथा यो अद्वितीय उपलब्धि र सफलतामा महत्वपूर्ण योगदान दिने सम्पूर्ण सहयोगी, मन्त्रालय, प्रशिक्षक, खेल पदाधिकारीसहित सम्पूर्ण व्यक्तित्वलाई धन्यवाद छ ।”

उपराष्ट्रपति यादवले पलेशाको अतुलनीय योगदानले सिङ्गो नेपाल र नेपाली समाजलाई असीम गर्वको सुखानुभूति गराएको बताउनुभयो । पलेशाको सफलता उहाँको मात्र नभई सिङ्गो मुलुकको सफलता भएको उहाँको भनाइ छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ६ : २८ बजे