साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सशस्त्र सङ्घर्ष, शान्ति र मेलमिलाप नीतिका संस्थापक बिपी: महामन्त्री शर्मा

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालको राजनीतिमा सशस्त्र सङ्घर्ष र शान्ति, सहकार्य एवं मेलमिलाप नीतिका संस्थापकका रूपमा बिपी कोइराला स्थापित हुनुभएको बताउनुभएको छ ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाको एक सय ११औँ जन्मजयन्तीका अवसरमा आज नेपाली लेखक सङ्घ काठमाडौँ शाखाले बिपी सङ्ग्रहालय सुन्दरीजलमा आयोजना गरेको साहित्यिक महोत्सव उद्घाटन समारोहमा उहाँले नेपाललाई लोकतान्त्रिक पद्धतिमा हिँडाएर विकसित देश बनाउन खेलेको भूमिकाले कांग्रेसमात्र नभई अन्य विचार राख्नेले पनि बिपीलाई सम्झिने गरेको बताउनुभयो । अहिलेको संसदीय लोकतान्त्रिक पद्धतिकै लागि बिपीले ठूलो त्याग गर्नुभएको महामन्त्री शर्माको भनाइ थियो ।

“बिपी बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो । तत्कालीन राजा महेन्द्रले नेपाली सेनाको शक्तिका भरमा बन्दी बनाएपछि राजनीतिक नभई साहित्यिक कृतिको रचना गरी नेपाली साहित्य क्षेत्रमा पनि महत्वपूर्ण भूमिका निर्बाह गर्नुभयो । राजनेता बन्न नीति, कर्म र त्याग चाहिन्छ भन्ने उदाहरण बन्न बिपी सफल हुनुभयो । त्यही कारण उहाँलाई नेपाली कांग्रेसमात्र नभई सबैले स्मररण र सम्मान गर्छन्”, उहाँले भन्नुभयो ।

नेपालमा विकासको प्रारम्भिक खाका कोर्नुभएका बिपीले सोसलिस्ट इन्टरनेशनलको उपाध्यक्ष भएर विश्वमा नेपालको चिनारी बढाउनुभएको महामन्त्री शर्माले स्मरण गर्नुभयो ।

एकअर्को प्रसङ्गमा उहाँले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीदेखि हालसम्म कोही पनि पाँच वर्षसम्म नटिकेकाले अब सरकारको स्थिरताका लागि संविधान संशोधनलगायत विषयमा बहस गरिनुपर्नेमा जोड दिनुभयो ।
प्राध्यापक कृष्ण खनालले बिपीले राजनीतिमा चिल्ला सुकिलाको हालीमुहाली हुन्नसक्ने भएकाले असल कार्यकर्ताले फेरि क्रान्ति गर्नुपर्छ भनेको स्मरण गर्नुहुँदै अहिले त्यस्तै अवस्था आएकाले सचेत हुन कांग्रेसका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । चेतनाको बिम्बका रूपमा बिपीले काम गर्नुभएको उल्लेख गर्नुहुँदै उहाँले बिपीले बसाल्नुभएको संस्कृतिबाट हाल कांग्रेस र कोइराला परिवार टाढिएको विश्लेषण सुनाउनुभयो । बिपीको जीवनबाट सिकेर कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुक अघि बढ्न सक्नुपर्ने प्राध्यापक खनालको भनाइ थियो ।

बिपी जयन्तीका अवसरमा आज सुन्दरीजलमा साहित्यिक महोत्वसवसँगै निःशुल्क स्वास्थ्य शिविर पनि आयोजना गरिएको आयोजक समितिले जनाएको छ । कार्यक्रममा कवि एवं कवयित्रीबाट काव्य पाठ गरिनुका साथै सांस्कृतिक कार्यक्रमसमेत गरिएको थियो ।

गोकर्णेश्वर नगरपालिकाको कार्यक्रमको संयोजन र बिपी सङ्ग्रहालय समितिको सहयोगमा कार्यक्रम सम्पन्न गरिएको शाखाका उपाध्यक्ष विमुन्स पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ६ : २६ बजे